मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

डिमुवामा हेल्थ चेक डेस्क स्थापना

डिमुवामा हेल्थ चेक डेस्क स्थापना


  • Dhorpatan News
  • चैत्र ८ २०७६, शनिबार

पर्वत, ८ चैत–कोरोनाको पूर्व सतर्कताअन्तर्गत सडकमार्ग हुँदै धौलागिरीका ४ जिल्ला छिर्ने एक मात्र नाका पर्वतमा हेल्थ चेक डेस्क स्थापना गरिएको छ । कास्की र पर्वतको सिमाना नजिकै रहेको जिल्लाको मोदी गाउँपालिकास्थित डिमुवामा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो ।
पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट अध्ययन, रोजगारी तथा व्यवसायका लागि पोखरा, काठमाडौँ लगायतका ठाउँमा रहेकाहरू फर्किने क्रम बढेपछि डेस्क स्थापना गरिएको पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । सरकारले चैत १० गतेबाट लामो दुरीका सवारी सञ्चालनमा रोक लगाउने घोषणा गरेपछि घरमा फर्किनेहरूको भीड बढेको छ ।
‘शनिबार मध्यान्ह १२ बजेबाट पर्वतमा भित्रिने सबै सवारी साधनका यात्रुहरूलाई यो डेस्कमा ज्वरो चेकजाँच गर्न थालिएको छ ।’ प्रजिअ नेपालले भनिन्, ‘त्यो डेस्कमा थर्मोगनबाट ज्वरो नापिन्छ, यात्रुहरूलाई भाइरसको संक्रमणबाट बच्नका लागि के–के गर्ने ? भन्ने विषयमा पनि जानकारी दिँदै पर्चाहरू बाँडिन्छ ।’ प्रजिअ नेपालले डेस्कसँगै तयारी अवस्थामा एम्बुलेन्स पनि रहने भएका कारण कोही पनि यात्रुमा कोरोनाको शङ्का लागेमा पर्वत अस्पताल वा पोखराको अस्पतालहरूमा पठाइने बताइन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार डेस्कमा रहेका कर्मचारीहरूलाई सघाउन डिमुवा प्रहरी चौकीमा रहेका प्रहरीहरूले सहयोग गर्ने छन् । पर्वतमा भाइरसको संक्रमणबाट जोगिन अपनाइएका सतर्कताका विषयमा छलफल गर्न र आवश्यक रणनीति तयार गर्नका लागि प्रशासनले सर्वदलिय सर्ववक्षिय बैठक डाँकिएको पनि प्रजिअ नेपालले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->