पोखरा, १४ चैत – गण्डकी प्रदेश मन्त्रिपरिषदले पोखरा–२०,लेखनाथ,मोहोरियाको सामुदायिक लायन्स अस्पताललाई कोरोना संक्रमितको डेडिकेटेड अस्पतालको रुपमा व्यवस्थापन गर्ने निर्णय पनि ग¥यो । अझै एक कदम अगाडि बढ्दै लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रादेशिक सरुवा रोग अस्पतालको रूपमा स्थापना गर्न प्रदेश सरकार समक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि भयो ।
त्यसलगत्तै मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा ५ सदस्यीय कमिटि पनि गठन ग¥यो । मन्त्री गुरुङसहितको टोलिले लेखनाथको सो अस्पताल निरीक्षण पनि ग¥यो ।
तर, लेखनाथ क्षेत्रमै रहेको रुपा गाउँपालिकाको क्वारेण्टाइनमा रहेका एक बिरामीको मृत्युको खवर सार्वजनिक हुँदासम्म लेखनाथ सामुदायिक अस्पताललाई डेडिकेटेट अस्पताल बनाउन सिन्को पनि भाँचिएन ।
लेखनाथ सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेलका अनुसार चैत १२ गतेदेखि कोरोना डेडिकेटेट अस्पताल बनाउने भनिए पनि त्यसयता मन्त्रालयबाट कुनै पहल नै गरिएन । तत्काल डेटिकेटेडट अस्पतालाई चाहिने स्वास्थ्य सामग्री र जनशक्ति त्यहाँ थिँदा पनि थिएनन् ।
‘प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाउने भनेपछि हामीले समुदायलाई राखेर छलफल ग¥यौँ, समुदाय र नजिकै रहेको विद्यालयको सुरक्षाको कुरा ग¥यौँ’, उनले भने,‘ त्यसपछि के गर्ने भन्नेबारे केही भनिएको छैन, यहाँ व्यक्तिगत सुरक्षा सामग्री ( पिपिई) पनि छैन, ज्वरो नाप्ने क्लिनिक पनि छैन, कोरोना डेडिकेटेडको पूर्वाधार के हो हामी बुझ्दैनौँ ।’
व्यवस्थापन समितिका अध्यक्ष पौडेलले यसो भनिरहँदा ओपिडी बन्द थियो भने मेडिकल अफिसर कविता पाठकसहितका केही स्वास्थ्यकर्मी मात्रै अस्पतालमा रहेका देखिन्थे । अहिले सो अस्पतालमा सामान्य बेड मात्रै रहेका छन् । त्यहाँ ४ वटा आइसियु र एउटा भेण्टिलेटर मात्रै रहेको छ । कोरोना उपचार केन्द्र बनाउने हो भने १० वटा आइसियु, हरेक बेडमा अक्सिजन पाइपलगायतका पूर्वाधार बनाउनुपर्ने बताइ पनि त्यसपछि प्रदेश सरकारबाट केही नभनिएको र सामान पनि नआएको उनले बताए । त्यहाँ अहिले ४० जना प्राविधिक कर्मचारी छन् ।
साँच्चै भनेको, भाग्नेदेखि अरु उपाय हुँदैन : डाक्टर कविता
सर्जिकल मास्क मात्रै छ । ढुक्क छैन, घरबाट फोन आएकोआएै हुन्छ , साथीहरुले ‘स्टे सेफ भन्छन्, अस्पताल हो खोल्न परिहाल्छ । ग्राण्डी अस्पतालले समेत कोरोनाको उपचार गर्न सक्दिन भनेको बेला, यो हेरेर त हाम्रो अस्पतालमा पूर्वाधार छँदैछैन भने हुन्छ । पिपिईको त के कुरा भयो र ? मास्क छ, सेनेटाइजर छ । पिपिई पाइयो भने काम गर्न सकिन्छ । पिपिई नै नभए मैले कसरी काम गर्ने ? काम गर्न भनेर पढेको हो, काम गर्ने हो, नत्र त भागिसक्थेँ होला ! आइसोलेसन सेण्टर बनाएर इक्युपमेण्ट आयो भने चाहिँ केही होला कि ?
त्यहाँ बन्दैन , गण्डकी नै बन्छ : अर्थमन्त्री गुरुङ
कोरोना उपचारको लागि क्वारेण्टाइन र आइसोलेटेड र अर्को डेडिकेटेड अस्पताल चाहिन्छ । डेडिकेटेड भनेको कोरोना संक्रमितको उपचार गर्ने अस्पताल हो । त्यो कहाँ–कहाँ गर्न सकिन्छ भनेर राम्रोसँग अध्ययन पनि गरेका थिएनौँ । लायन्सको अस्पताल हुन्छ भनेपछि क्याबिनेटले निर्णय ग¥यो । प्राविधिक रुपले बनाउन सकिन्छ कि सकिँदैन भन्नेमा प्राविधिक रुपले जाँच पड्ताल गर्दै जाँदा, सामुदायिक अस्पतालको पूर्वाधार बनेकै छैन । त्यहाँ पूर्वाधार बनाउन सकिने अवस्था छैन । त्यहाँ गर्न सकिँदैन भनेपछि, त्यसको विकल्पमा सरकारी र अर्को निजी अस्पताललाई लिने भनियो । ती दुबै अस्पताल भनेको अहिले नै उपचार गर्न सकिने आइसियू र भेण्टिलेटर भएकोलाई घोषणा गर्नुपर्छ भनेर लागेका छौँ । हामी घोषणा गर्छौँ । सरकारी भनेको गण्डकी नै हो । निजीको चाहिँ खोजेका छौँ, डिस्क्लोज नगरौँ । पोखरामा भएको सबै मापदण्ड पुग्ने अस्पताल खोजेका छौँ । हामी त्यत्तिकै बसेका छैनौँ । पिपिईको तयारी चाहिँ अप्रिल २÷३ मा चीनबाट २ वटा कार्गो आउँछ । हामीलाई यति संख्या आउँछ भन्ने भएन, आवश्यक पर्ने हामीले स्वास्थ्य मन्त्रालयमार्फत मागेका छौँ । बजारमा किन्न सकिँदैन । त्यसैले यो हाम्रो हातमा भएन । सुरुसुरुमा धेरै भ्रम भए । क्वारेण्टाइन भनेको के हो ? त्यो पनि थाहा नहुने, लकडाउन पनि थाहा नहुने, आइसोलेउसन पनि थाहा नहुने । अस्पतालले दिन्छु भनेपछि निर्णय ठोकियो । पछि बुझेपछि नहुने बुझियो । आइसियु बाहिरबाट किन्न सकिँदैन । लक डाउन छ, बनाउन पनि सक्दैनौँ । यो दुई दिनमा निर्णय भएर आउँछ । हामीलाई पनि थाहा भएन, निर्णय गरियो, पछि मैले बुझेँ अनि क्यान्सिल गरेको हो ।
गण्डकीमा असम्भव : निर्देशक आचार्य
मन्त्री गुरुङले यसो भनिरहँदा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले भने गण्डकीमै कोरोना डेडिकेटेड अस्पताल असम्भव भएको बताएका छन् ।
उनले मन्त्री गुरुङले विज्ञको सल्लाह नलिएको गुनासो पनि गरे । ‘असम्भव कुरा उहाँले गर्नुभएको छ, गर्ने भए वीर अस्पताल, बुटबल अस्पताललाई नै बनाउँथे नि’, उनले भने,‘ मिडियाबाजी गर्नु भएन ।’ उनले पश्चिमाञ्चल अस्पताललाई एक रुपैयाँ पनि नदिएको गुनासो पनि पोखे । उनले अगाडि भने,‘किरण मन्त्रीजी प्राविधिक नै हैन नि । सबैले भनेको कुरा बेठीक भन्नुहुन्छ भने ठाउँ देखाउनु प¥यो नि । गण्डकीमा कहिलेसम्म राख्नेगरि अस्पताल बनाउने ? यहाँ आएका बिरामी, स्वास्थ्यकर्मीको सुरक्षा, ३ सय जनाको तलब, हामीले त कमाएर खुवाउँछौँ नि ! ७ सय जनाको तलब भत्ता यो कहाँबाट आउँछ ? अनि कोरोना अस्पताल बनाएर हाडजोर्नी डाक्टरलाई कहाँ राख्ने, सर्जनलाई कहाँ राख्ने ? सुताएर पैसा खुवाउने ? यसमा यहाँहरु ( पत्रकार ) पनि बोल्नुप¥यो ।
केही नभएको ठाउँमै बनाउने हो ( कोरना अस्प्ताल) । भएको घर भत्काउने हैन नि । चितवनमा हेर्नुस्, भरतपुरमा हेर्नुस्, केही नभएको ठाउँमा बनाएको हैन ? केही नभएको ठाउँमा बनाउने नै यही हो ।सामान किन्न सकिन्नँ भने भन्नुप¥यो । सबै अस्पतालले दिन्छौँ, भनेका छन् , भेण्टिलेटर दिन्छौँ भनेका छन्, हामी सबै डाक्टरले एक महिनाको तलबले बनाइदिन्छौँ । ’








