बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विपत्तिले बाजा बजायो, अब त जागौँ !

विपत्तिले बाजा बजायो, अब त जागौँ !


  • Dhorpatan News
  • चैत्र १६ २०७६, आइतबार

बागलुङकी एक युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बेल्जियमबाट आएकी उनीमा कोरोना संक्रमण भएको पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ५ जना पुगेको छ । ती महिला बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । कतार एयरको क्यूआर ६५२ को उडानबाट आएकी उनी त्यसपछि आफ्नो घर बागलुङ पुगेको खुलेको छ । सोही विमानमा आएकामध्ये दुईजनामा कोरोना संक्रमण भएको छ। देश बन्दाबन्दीको अवस्थामा छ । लकडाउनकै अवस्थामा बागलुङकी युवतीमा कोरोना देखिएपछि सिंगो गण्डकी प्रदेश तरंगित हुनु अनौठो होइन । ती युवती राजधानीबाट बागलुङ पुग्दासम्म कति जनासँग भेट भयो,परिवारको अवस्था के छ भन्ने प्रश्न पेचिलो बनेको छ । संक्रमित हुनु युवतीको दोष होइन । खुसीको कुरो, नेपालका संक्रमितमध्ये एकजना निको भएर घर फर्केकाले उनी पनि निको हुन्छिन् भन्ने विश्वास छ । तर,संक्रमणपछि तीनवटै तहका सरकारको तयारीप्रति भने ठूलो प्रश्नचिन्ह खडा भएको छ ।
गण्डकी प्रदेश सरकारले यहाँको लेखनाथ क्षेत्रमा पर्ने मोहोरियामा कोरोना उपचारको डेडिकेटेड अस्पताल बनाउने निर्णय ग¥यो । लगत्तै अस्पतालमा भएको पूर्वाधार अनुसार कोरोनाको डेडिकेटेड अस्पताल बनाउन नसकिने निष्कर्ष निकालियो । पोखरामै रहेको गण्डकी अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने निष्कर्षमा प्रदेश सरकार पुग्यो । प्रदेश सरकारले संघीय सरकारलाई अनुरोध गरेपछि गण्डकीलाई नै डेडिकेटेड अस्पताल बनाउने अर्को निर्णय भयो । तर, त्यही अस्पताल पनि बिरामी राखेर उपचार गर्न सक्ने कहिलेसम्म बन्छ भन्न्ने अझै टुंगो छैन । प्रदेशसहित सबै तहका सरकारले क्वारेण्टाइन भने बनाएका छन् । क्वारेण्टाइन संक्रमण भए÷नभएको पत्ता लगाउने ठाउँ मात्रै हो । सम्भावित संक्रमण पत्ता लगाउन स्वाव (घाँटीको ¥याल) परीक्षण गर्ने क्षमता पनि गण्डकीसँग छैन । उपचार त परको कुरो ! यो भनेको भगवान भरोसाकै अवस्था हो । देशकै ठूलो पोखरा महानगर पनि यो समस्याप्रति उति सजक देखिएको छैन । दुईवटा क्वारेण्टाइन बनाउने भनिए पनि त्यहाँको अवस्था यस्तो छ कि, बस्न सक्ने अवस्था छैन । केही स्थानीय निकायहरुले क्वारेण्टाइनको राम्रै व्यवस्थापन गरे पनि समग्रमा अवस्था चिन्ताजनक छ । भएको क्षेत्रीय अस्पतालले त कोरोना संक्रमित पत्ता लगाउन र उपचार गर्न सक्दैन भने जिल्ला अस्पताल र अन्य अस्पताल अनि स्वास्थ्य केन्द्रहरुको हालत के होला सहजै अनुमान लगाउन सकिन्छ । अर्कोतर्फ, स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवच ( पिपिई) कै अभाव छ । पिपिई बिना डाक्टरहरुले कोरोना संक्रमितको उपचार त के परीक्षण गर्न समेत समस्या छ । यो आफैमा लाजमर्दो अवस्था हो ।
गण्डकीमा त्रिभुवन विमानस्थल र अन्य सीमा नाकाहरुबाट कति मान्छे भित्रिए र उनीहरु कहाँ छन् भन्ने जानकारी नहुँदा स्थिति झन डरलाग्दो बनेको छ । अरु त अरु, त्यही जहाजमा गण्डकीका कति जना थिए र उनीहरु कहाँ छन् भन्नेतर्फ पनि ध्यान दिइएको छैन । यस्तो अवस्थामा कथंकदाचित् संक्रमण फैलियो भने के गर्ने भन्ने तयारीमा पनि प्रदेश सरकार चुकेको छ । त्यसो भन्दैमा काम नै नभएको भने हैन । तर, अब भने झस्कनु र थप सतर्क बन्नुपर्ने देखिएको छ । अतः प्रदेश सरकारले आफूसँग भएका सबै स्रोत र साधन प्रयोग गर्दै पछिल्लो चरणमा विदेशबाट आएकाहरु तथ्याङ्क संकलन, अवस्था, उनीहरुले भेटेका व्यक्तिहरुको पहिचान गरि क्वारेण्टाइनमा राख्नुपर्ने देखिएको छ । यसका साथै प्रदेशमै कोरोना संक्रमणको परीक्षण र उपचारको लागि पनि तम्तयार रहनुपर्ने भएको छ । भनिन्छ, विपत्ति बाजा बनाएर आउँदैन तर बाजा बजाएर आएको विपत्तिबाट बच्न सकिएन भने चाहिँ त्यसको दोष प्रदेश सरकारको टाउकोमा जान्छ भन्ने पनि बुझ्नैपर्छ । यसो भनिरहँदा नागरिकले पनि आफ्नो दायित्व चाहिँ भुल्नु हुँदैन । विदेशबाट आएकाहरुबारे जानकारी दिनुपर्छ । लक डाउनको पूर्ण पालना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->