स्थानीयलाई राहत वितरण गर्दै वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजा ।
बागलुङ, १९ चैत– सरकारले कोरोना भाईरस नियन्त्रण र सम्भावित जोखिमसँग जुध्नका लागि भैरहेका प्रयासअन्तर्गत राहतका कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने निर्णय गरेसँगै बागलुङ नगरपालिकाले पनि राहत संकलन र वितरणको कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरमा स्थापना गरिएका कोष, राहत संकलन र वितरणको काम रोकी एकद्वार प्रणालीमा आउन आग्रह गरेको हो ।
‘नगरपालिकाले नै कोरोना राहत कोष स्थापना गरेको छ, हामीले सबैलाई यही कोषमा सहभागी हुन भनेका छौं,, नगर प्रमुख जनकराज पौडेलले भने, ‘विपन्न नागरिकलाई राहत पु¥याउनु सरकारको दायित्व हो, सहयोग गर्ने सबै क्षेत्रसँगै जानुपर्छ ।’ बैठकले राहत कोष सञ्चालन सम्बन्धि कार्यबिधिमा समेत आवश्यक छलफलपछि पारित गरेको छ । अति विपन्न र मजदुरहरुको लगत संकलनका लागि वडाध्यक्षहरुलाई जिम्मेबारी दिईएको छ ।
जिल्लाको जैमिनी नगरपालिकाले सबै स्वास्थ्य संस्थामा अत्यावश्यक सामग्री पु¥याएको जनाएको छ । वडाध्यक्षहरुमार्फत नगरका अति विपन्न र मजदुरको लगत संकलनको काम अन्तिम चरणमा रहेको र बिहिबारदेखि राहत वितरणको काम सुरु हुने प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए ।
काठेखोला गाउँपालिकाले सबै वडामा राहतका कार्यक्रम वितरण सम्पन्न भएको जनाएको छ । सम्भावित जोखिमका लागि आवश्यक तयारीमा रहेको अध्यक्ष अमर थापाले बताए ।
बरेङ गाउँपालिकाले बिहिबार बिहानदेखि वडाध्यक्षहरुको सिफारिसमा विपन्न तथा मजदुर परिवारलाई राहत सामग्री वितरण गर्ने भएको छ । ४ जनाभन्दा कम सदस्य रहेको परिवारका लागि प्रतिपरिवार २० किलो चामल, ३ किलो दाल, डेढ लिटर तेल, १ पोका नुन र ३ वटा साबुन दिने कार्यबिधि बनेको छ । उनीहरुलाई २ सय ५० रुपैयाँ बराबरका थप अत्यावश्यक सामग्री दिईने छ । चार जनाभन्दा माथी सदस्य संख्या रहेका परिवारको लागि भने प्रतिव्यक्ति २ सय ५० रुपैयाँका दरले थप सामग्री दिईने अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए ।
अति विपन्न र मजदुर परिवारको लगत संकलन गरिरहेको ताराखोला गाउँपालिकाले बुधबार पनि सोही कामलाई निरन्तरता दिएको र बिहिबार खाद्यान्न वितरण गर्ने अध्यक्ष प्रकाश घर्तिले बताए ।
गल्कोट नगरपालिकाले १ सय ३७ जना बिदेशबाट आएकाहरुलाई होम क्वारेन्टाईनमा राखेर नियमित निगरानी गरेको छ । गरिब, विपन्न तथा मजदुरका लागि राहत उपलव्ध गराउनका लागि आवश्यक सामग्रीको खरिद प्रकृयाका बिषयमा टुंगो लगाएको प्रमुख भरत गैरेले जानकारी दिए । बिहिबारदेखि खरिद र वितरणको प्रकृया सुरु हुने छ ।
ढोरपाटन नगरपालिकामा लकडाउनका कारण प्रभावितलाई राहत वितरण गर्न पहिलो चरणको छलफल भएको छ । वडाध्यक्षहरु र कार्यपालिका सदस्यमा बिचमा बुधबार छलफल भएको र बिहिबारबाट राहत वितरणको प्रकृया सुरु हुने नगर प्रमुख देवकुमार नेपालीले बताए । ढोरपाटनले बिदेशबाट आएका र उनीहरुसँग लसपसमा रहेका व्यक्तिहरुको निगरानीका लागि वडाध्यक्षहरुलाई निर्देशन दिएको छ ।
तमानखोला गाउँपालिकाले पनि प्रदेश सरकारले पठाएको राहत रकम र गाउँपालिकाको स्रोत प्रयोग गरी राहत विरणका लागि लगत संकलनमा जुटेको छ ।
बडिगाड गाउँपालिकाले ५० थान पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पीपीई) स्थानीय स्वास्थ्य चौकी, प्रहरी र एमबुलेन्स चालकलाई वितरण गरेको छ । गाउँपालिकाले बिदेशबाट आएका १० जनालाई नमुना बालबिकास केन्द्रको क्वारेन्टाईनमा राखेर निगरानी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले बताए ।
निसीखोलाले गाउँपालिकाको अवस्थाका बिषयमा तथ्यांक संकलन र सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जोखिमयुक्त देशबाट आएकाहरु कम रहेको र ग्रामिण इलाका धेरै भएकाले ठुलो समस्या नरहेको गाउँपालिकाले जनाएको छ ।





