पोखरा, २५ चैत – कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा करिव रु १ करोड १० लाख जम्मा भएको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषदले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि सबै सुरक्षा अंग परिचालन गर्न १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकम अनुगमन, सवारी मर्मत तथा इन्धनको लागि खर्च गरिने सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार मुस्ताङ र मनाङलाई ५÷५ लाख र बाँकी जिल्लालाई १५ लाखको दरले विनियोजन गरिएको छ ।
यता, प्रदेश सरकारले खडा गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, वित्तीय तथा सामाजिक संघ संस्था, निजामती कर्मचारी, प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हालसम्म रु १ करोड ९ लाख ८२ हजार ८ सय ५२ जम्मा भएको छ ।
कोषमा चैत्र २४ गतेसम्म विभिन्न २५ व्यक्ति, वित्तीय तथा सामाजिक संघ संस्थाबाट रु ८९ लाख ३ हजार ७ सय १२, नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशसभा संसदीय दलको तर्फबाट रु १४ लाख ८० हजार १ सय ३० र सरकारले नियुक्त गरेका पदाधिकारीबाट रु ५ लाख ९९ हजार १० जम्मा भएको हो ।





