पोखरा, २९ चैत – पोखरा-१७,सीतापाइलास्थित पोखरा बृद्धाश्रममा पुग्दा मुलढोका बन्द थियो । ढक्ढक्याएपछि ढोका खुल्यो । भित्र छिर्दै गर्दा त्यहाँ रहेका बृद्धबृदाहरु चलमलाए । आशालु नजर बिच्छ्याए र हात जोडे ।
५६ जना बृद्धबृद्धाको घर हो, बृद्धाश्रम । आफ्नो घरको ढोका उहिल्यै बन्द भएपछि जीवनको उत्तरार्धमा उनीहरु त्यहाँ आएका हुन् । कतिलाई आफ्नो घर कहाँ हो नै थाहा छैन, केहीलाई भने घरको ढोका उहिल्यै बन्द भएको स्मृति छ । ‘बाउन्न हण्डर, त्रिपन्न ठक्कर ’ खाएकाहरुमध्ये केहीले कोरोनाको कुरा बुझेका छन् , लकडाउनको कुरा सुनेका छन् । तर, जीवन नै लकडाउन भएकाहरुलाई यो लकडाउनले के फरक पाथ्र्यो र ? दिन उस्तै छन् बृद्धाश्रमको गेट मात्रै बन्द छ । व्यवस्थापनलाई चाहिँ आक्कलझुक्कल झुल्किने दाताहरु नआउँदा अब के होला ? भन्ने चिन्ता छ ।
साकीमान घिसिङलाई आफू सर्लाहीमा जन्मेको थाहा छ । २००० सालमा जन्मेका उनको कुनैबेला आमाबाबु, दाइभाई सबै थिए । बिहे पनि गरेकै हुन् । तर, एकपछि अर्को गर्दै सबै बिते । उनी एक्ला भए । पाखुरी बजारेर खाने उनी एकाएक असक्त बने । पाखुरी बजार्न नसकेपछि मुखमा माड लाग्ने कुरै भएन । भौँतारिँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर ८ का तत्कालीन वडासचिव लोकदर्शन रेग्मीसँग ठोक्किन पुगे । उनको लागि बृद्धाश्रमको ढोका खुल्यो ।
‘अहिले के को इच्छा हुनु, धन कमाउनु छैन’,उनले भने,‘अब एकदिन मर्ने त हो ।’
कास्की लाहाचोककी महाकाली अधिकारीलाई आफू कति वर्षकी भएँ, कुनै थाहा छैन । सानैमा बाबुआमाले कास्कीकै हेम्जातिर बिहे गरिदिए । महाकालीले कान नसुन्ने ! कान नसुनेकै कारण घरमा हेला गरियो ।लोग्नेले छाडे ।माइतीले पनि हेरेनन् । अनि त के थियो ? उनी बेसहारा भइन् । सासुहरुले नै उनलाई बृद्धाश्रममा ल्याएर छाडे । जीवनले लय त समात्यो तर तल्तिर बगेको सेतीको आवाज उनको कानसम्म अहँ, आउँदै आएन । कोरोनाको कुरा त उनले झन के सुन्ने ?
घाचोकका नन्दलाल ढकाल १०२ वर्षका भए ।गरिबीले उनलाई अर्काको घरमा गोठालो बस्न बाध्य बनायो । गाउँकै मान्छेकहाँ उनले जीवनभर घाँस, दाउरा गरे । मालिकले बिहे गर्दिने आवश्वासन पनि दिए रे ! तर, त्यो दिन कहिल्यै आएन । जीवनभर कुमारै रहेका उनले ५० वर्ष मालिकको सेवा गरे । मालिक बितेपछि ओत लाग्ने घर पनि रहेन । हात पाखुरा चल्न छाडेपछि मालिकका छोराले नै उनलाई बृद्धाश्रमको ढोकाभित्र हुलिदिए ।
पोखराको ड्यामसाइडमा जन्मेकी बाटुली बरालको पोखरा–२२, पुम्दीतिर लगन कसियो । तर,घरबार जमेन ।
‘आफ्नो भाग्यले होला, आफै नबसेपछि कसलाई दोष दिने’, उनले अतित सम्झँदै भनिन्,‘पछि मुद्धा मामिला गरेर अलिकति अंश पनि लिइयो, त्यसै दिनुभएन ( श्रीमानले ) काठमाण्डौ नै पु¥याउनुभयो ।’
उनले माइतीलाई नै घर ठानिन् । आमा भइञ्जले त ठीकै थियो । ११ वर्षअघि आमा खसेपछि उनलाई माइती घर नै बिरानो लाग्यो । ‘बाउआमाको सास भइञ्जेल माइतीघर छ, जब छैनन्, माइतीघर छैन भन्ने सोचेर म आफै यहाँ आएँ’, उनले भनिन्,‘ कहिलेकाहिँ भदा–भदिनी भेट्न आउँछन् ।’आफैले हुर्काएका भदा–भदिनीहरु पनि आफ्नोजस्तो नभएजस्तो लाग्छ रे उनलाई । बृद्धाश्रमको वरपर सानोमा बयँर टिपेको स्मृति साँचेकी उनलाई भाग्यले त्यहीँको रैथाने बनाएको छ । भगवानसँग पनि उनी रिसाएकी छनु ।
‘भगवान भएको भए, यस्तो हुन्थ्यो होला र ?’, उनले प्रश्न गरिन्,‘ इच्छा पनि केही छैन, हिँड्दा हिँडुदै पुक्लुक्क मरौँ भन्ने हो ।’
कास्की मट्टिखानकी देवकी पौडेलको पनि व्यथा उस्तै छ । श्रीमान खसेपछि उनी एक्ली भइन् । जेनतेन गाउँमा बस्दै आएकी उनलाई बुढेसकालले च्यापेपछि त झन एक्लिइन् ।स्याङ्जा नौडाँडा माइती भए पनि माइतीको ढोका उनको लागि खुलेन ।
‘माइतीमा सबै छन्, एकदुई दिनको मायाले हु्ँदैन’, उनले भनिन्,‘भाइ आफ्नो भए बुहारी हुन्नन्, दाई आफ्नो भए, भाउजु हुन्नन् , अनि म कसैलाई नसोधि यहाँ आएँ ।’
लमजुङ राइनासका हरिबहादुर थापाले आफू बृद्धाश्रममा आउनुपर्ला भन्ने सायदै सोचेका थिए । भारतमा नोकरी गर्थे । घरपरिवार चलकै थियो । २ छोरा,एउटी छोरी र श्रीमतीका धनी उनलाई प्रेसरले हान्यो । उमेरकै श्रीमतीले हेला गर्न थालिन् । उनी रन्थनिए । घर छाडेर हिँडे । संयोगले पोखराकै एक बृद्धाश्रमा आश्रय पाए । तर, भाग्यले त्यहाँ पनि ठग्यो । बृद्धाश्रम नै बन्द भयो ।‘ पछि सिडियोको सिफारिसमा यहाँ आएँ’, इष्टकोटको खल्तीमा दुईबटा पाइलट पेन सिउरिएका उनले निरस भावमा भने,‘ घरका सबैलाई म यहाँ भएको थाहा छ,सम्झेर बोलाए घर फर्कौँलाजस्तो लाग्छ तर उनीहरु आउँदैनन् ।’ घरजम गरेकी कान्छी छोरीले कहिलेकाहिँ टेलिफोन गर्ने गरेको भने उनले सुनाए । लकडाउनबारे सुनेका उनले आफ्नो घरको लकडाउन कहिले खुल्ला भन्ने कल्पना नै नभएको सुनाए ।
घरले त पहिल्यै जा भनेको हो, उनीहरुलाई । घरपछिको घरमा बसेका उनीहरुको निस्कने ठाउँ छैन । निस्कन सक्ने पनि कतिजना पो छन् र ? बाटोतिर निस्कन सक्नेहरुलाई पनि यतिबेला बृद्धाश्रमभित्रै राखिएको छ । कोही कान सुन्दैनन्, कोही बोल्न सक्दैनन् । जो सक्छन्, उनीहरु आ–आफ्नै खाले गफ गर्छन् । लकडाउन लम्बियो भने दाताको भरमा चलेको बृद्धाश्रमको चुल्हो बल्दैन भन्ने थोरैलाई मात्र थाहा छ ।
‘चामल त एकमहिनालाई पुग्छ कि ?’ बृद्धाश्रममा स्वास्थ्य सेवा विभाग हेर्दै आएका शिशिरकेशव पराजुलीले भने,‘तरकारी र अन्य कुराको अभाव हुन थालेको छ ।’ उनका अनुसार बृद्धाश्रममा रहेकामध्ये ११ जनाले पत्थरी, १० जनाले प्रेसर,४ जनाले थाइराइड, ४ जनाले मानशिक रोगको औषधि खान्छन् । औषधिको भने व्यवस्था गरिएको उनले सुनाए ।
बृद्धाश्रम संचालक समितिका सदस्य श्रीनाथ आचार्यका अनुसार कोरोना त्रास र लकडाउनका कारण अरुबेला फाट्टफुट्ट आउने दाताहरु अहिले आउन पाएका छैनन् । दाता नआउँदा व्यवस्थापनलाई बृद्धबृद्धालाई कसरी खुवाउने भन्ने चिन्ता थपिएको छ । सरकारले एकद्धार प्रणालीबाट राहत बाँड्ने भनेपछि अझ समस्या थपिएको छ । बृद्धाश्रममा दैनिक १० किलोग्राम चामल, ३ किलो दाल,१० किलो हरियो तरकारीसहित खाजा चाहिन्छ ।





