पोखरा, ३० चैत – पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । १ सय थान पिपिई आइतबार महानगरले प्रदेश सरकारलाई दिएको हो ।
महानगरका प्रमुख मानबहादुर जिसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पिपिई हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री गुरुङले पिपिई प्रदान गरेकोमा पोखरा महानरपालिकालाई धन्यवाद दिए । यसअघि पोखरा महानगरपालिकाले १ सय थान पिपिईपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिशुवा अस्पताललाई ४० वटा, मातृशिशु मितेरी अस्पतालमा ४० पिपिई दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार कास्कीका ४ वटै गाउँपालिकालाई पनि १०÷१० वटा पिपिई दिइनेछ । वैशाख २ गते रुपा, मादी, माछापुच्छे« र अन्नपूर्ण गाउँपालिकाका अध्यक्षलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने महानगरपालिकाले बताएको छ ।
व्यवसायीले दिए महानगरलाई पिपिई
यसैविच, पोखरा महानगरपालिकालाई सुपर मादी हाइड्रो पावर र पोखरा अटोवेज प्रालिले व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेका छन् । सुपर मादी हाइड्रो पावरका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना र अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायण पौडेलले ५०÷५० थान पिपिई महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्रण गरेका हुन् । कोरोना जोखिम बढी रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुको लागि पिपिई अति आवश्यक भएकाले महानगर मार्फत सहयोग गरिएको उनीहरुले बताए । महानगर प्रमुख जिसीले संकटको बेलामा संस्थाले गरेको सहयोग सह्रानीय रहेको भन्दै धन्यवाद दिए ।




