वसन्त ऋतुसँगै रुख बिरुवामा नयाँ पालुवा पलाएका छन् । तर, कोरोना (कोभिड–१९) को संक्रमणले मनको पालुवा भने ओइलाएको छ । नयाँ आशाको संचार हुन सकेको छैन । विपत्तिबाट कसरी बच्ने भन्नेमै सारा विश्व र नेपालको ध्यान केन्द्रित हुँदा वसन्त बोकेर आएको विक्रम संवत २०७७ को पहिलो दिन औपचारिकतामा सीमित बनेको छ । मनमा खुुसी छैन तर फेरिने प्रकृति र पात्रो फेर्न हामी असमर्थ छौँ । ‘बेला वसन्तको पर्ख, जिन्दगीको हठी बनी । सहु सहु बाबु सहनै नसके पनि ।’ भन्ने बालकृष्ण समको कविता पंक्तिजस्तो हामी सहन अभिशप्त छौँ । सहेरै यो संकटबाट मुक्ति खोज्दैछौँ ।
अंग्रेज साम्राज्यसँगै भारतले यही भूगोलको सम्वतलाई बिस्र्यो । उसले इस्वी संवत् सका¥यो । नेपाल कसैको उपनिवेश भएन । कालान्तरमा आएर नेपालले विक्रम सम्वतलाई आफ्नो सम्वत मान्यो । त्यसो त, नेपाली मौलिकता भएका अन्य सम्वतहरु नभएका भने होइनन् । वसन्त ऋतुसँग जोडिएको यो सम्वत हाम्रो बन्यो । आधुनिकताले समाजलाई गाँजे पनि सम्वतलाई हामीले आफ्नै मानेका छौँ । मौलिक सम्झेका छौँ । पृथकता विक्रम सम्वतको अर्को सुन्दर पक्ष हो । अरु कसैसँग मेल नखाने र प्रकृृतिसँग जोडिएकाले पनि यसको महत्व बढी छ । र, यही महत्वको पर्व मनाइरहँदा देश चाहिँ लकडाउनमा छ । विदेशबाट आएको कोरोना (कोभिड–१९ ) को महामारीलाई परास्त गर्ने साहश यही नयाँवर्षको बेला जुटाउनुछ । २०७२ सालमा गएको भुइँचालोले दिएको सकसबाट उठेका नेपालीहरुमा उठ्न सक्ने हिम्मत त छ तर अदृष्य भाइरसबाट जोगिएर अघि बढ्नु सजिलो भने पक्कै छैन । कोरोनाले संसारका मै हुँ भन्ने शक्तिराष्ट्रको हुर्मत लिएका बेला हामीले गर्ने सानो गल्तीबाट पनि ठूलो क्षति हुनसक्छ । मानवीयतामाथिको या आततायी आक्रमणबाट बच्ने सबैभन्दा ठूलो हतियार आत्म संयमता नै हो । यो बेला हामीसँग संयमता चाहिएको छ, धैर्य चाहिएको छ अनि संकटसँग जुध्ने अद्भूत क्षमताको प्रदर्शन पनि आवश्यक रहेको छ ।
सीमित स्रोत र साधनबाट ठूलो युद्ध जित्नु भनेको चानचुने कुरा हुनै सक्दैन । ठूलो युद्धमा होमिनु अघि हामीले कोरोना संक्रमण फैलन नदिनेतर्फ नै ध्यान दिनुपर्छ । यसका लागि विदेशबाट आएकाहरुले आफूलाई स्वयं क्वारेण्टाइनमा राख्दै देश र समाजलाई बचाउँछु भन्ने भावना राख्नुपर्छ । भीडभाडबाट टाढै बसेर संक्रमणलाई तेस्रो चरणमा जानबाट रोक्न सकिए यो विपत्तिबाट नेपाल उठ्न सक्छ । हो, लकडाउनले नागरिकको दैनन्दिन अस्तव्यस्त छ तर यो परिस्थितिजन्य वाध्यतालाई सबैले मनन् गर्नुको विकल्प पनि छैन हामीसंग । बाँचे भोलि विकास निर्माणले गति लिन्छ नै । हाम्रा इच्छा र आकांक्षाहरु पूरा हुने दिन पनि आउँछ । मात्र, कठीन समयबाट बाहिर निस्कनुपर्छ भन्ने सबैले मनन गर्नुपर्छ । कठीन घडीमा दुःखमा परेकाहरुलाई राहत दिने कर्तव्यबाट पनि नागरिक च्यूत हुुनुहुँदैन । भलै, यो राज्यको कर्तव्य हो । नयाँवर्षको पावन अवसरमा ढोरपाटन दैनिक अदृष्य शत्रुलाई परास्त गर्ने सामथ्र्य नेपालीमा आओस् भन्ने कामना गर्दछ । नयाँवर्ष २०७७ को सवैमा हार्दिक मंगलमय शुभकामना ! आफू बचौँ, अरुलाई पनि बचाऔँ । स्वागत छ, नयाँवर्ष २०७७ लाई । यही बर्ष नै हामीले मानवजाती विरुद्धको लडाई जित्नु छ ।

