बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेलले कारोनालाई परास्त गरेकी छन् । चैत ४ गते बेल्जियमबाट आउने क्रममा संक्रमित उनले बागलुङको धौलागिरी अस्पतालले प्रदान गरेको चिकित्सकीय सेवाकै बीच कोरोनालाई परास्त गरेकी हुन् ।
स्वासप्रश्वास उच्च रक्तचापको औषधि सेवन गर्ने उनले दृढ इच्छा शक्तिले नै ज्यानमारा कोराना भाइरसलाई जितेको बताएकी छन् । यसअघि पनि नेपालमा दुईजनाले कोरोनामाथि विजय प्राप्त गरिसकेका छन् । बागलुङकै अर्की युवतीको पनि धौलागिरी अञ्चल अस्पतालमा उपचार चलिरहेको छ । उनको चौथो पटकको थ्रोट स्वाबको नतिजा समेत पोजेटिभ आए पनि उनी पनि कोरोनामाथि विजय प्राप्त गर्ने उपक्रममै छिन् । पोजेटिभ रिपोर्टसंगै उनको उपचारको समयावधी थपिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।
प्रसिद्वी श्रेष्ठ र चीनको बुहानबाट फर्किएका पुरुषको तुलनामा मनकुमारीको उमेर बढी थियो । उमेर बढी भयो त के भयो ? उनले इच्छाशक्तिले कोरोनालाई हराइन् र संसारलाई नयाँ सन्देश प्रवाह गरिन् । त्यो हो, ‘कोरोनालाई जित्न सकिन्छ ।’ अस्पतालमा ल्याउनै डराउने एम्बुलेन्स चालक, आफैलाई केही होला कि भन्ने त्रासमा रहेका स्वास्थ्यकर्मीहरु पनि उनी ठमठम् हिँडेर घर जाँदा चकित भए । सारा लोक नै चकित भयो । मनकुमारी सहितका ३ जनाको अदम्य साहसको जति प्रशंसा गरे पनि थोरै हुन्छ । कारण, सीमित स्रोत र साधनका बीच उनीहरु मृत्युलाई हराउने किर्तिमानी कायम गरे । र, रोगसँग लडिरहेका सबैलाई प्रेरणा दिए । संक्रमितको संख्या बढ्दै गएको सन्दर्भमा उनीहरु प्रेरणापुञ्ज बन्न सक्छन् । संक्रमणसँग लडिरहेकाहरुले मनकुमारीहरुबाट प्रेरणा लिनैपर्छ । मनकुमारीले आफू निको हुनुको जस भगवान तथा आफ्नो खानपानलाई पनि दिइकी छन् । भगवानले उनलाई आशीर्वाद दिए कि दिएनन् ? फरक कुरा हो तर भगवानप्रतिको आस्थाले उनीमा आत्वविश्वास जगाएको भने पक्का हो । आत्मविश्वास सबैभन्दा ठूलो हतियार हो भन्ने यो घटनाक्रमले पुष्टि गरेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आहार–विहारमा ध्यान दिनुपर्ने अर्को आवश्यकता हो ।
यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल समेतले नेपालीको आहार–विहारमा रोग प्रतिरोधात्मक क्षमता भएको अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग गरेको संवादमा त कोरोनाबारे विश्व स्वास्थ्य संगठनबाट प्रमाणित नभएका केही कुराहरु पनि भन्न भ्याए । उनले कोरोना निर्जिव भएको, बोसो बढी भएमा संक्रमण बढ्ने भएकाले तातोपानी पिउने, तातोपानीले हात र मुख थुन सुझाए । तातोपानीले मुख धुँदैमा कोरोनाबाट बच्न सकिँदैन । देशको कार्यकारी प्रमु्खको मुखबाट यस्तो अभिव्यक्ति आउँदा आमनागरिक भ्रमित हुने अवस्था आउँछ । प्रधानमन्त्रीबाट यो कठिन समयमा यस्तो अभिव्यक्ति आउनु हुँदैनथ्यो । खानपानको कुरामा भने, प्रधानमन्त्री ओली र प्रचण्ड करिब–करिब एउटै ठाउँमा देखिन्छन् । नेपालीले प्रयोग गर्ने परम्परागत मसलाप्रति दुबैको आशक्ति देखिन्छ । साम्यवादी दर्शन बोकेका प्रचण्डले आँगनमा तुलसी रोप्नु ‘वैज्ञानिक सोच’ रहेछ भन्ने स्वीकारेका छन् । तुलसीमा रोग प्रतिरोधात्मक र कीटाणु मार्ने क्षमता भएको आयुर्वेदले प्रमाणित गरेको विषय हो । आयुर्वेदमा तुलसीलाई विभिन्न रोग लागेका बेला उपयोगमा ल्याइन्छ । यहाँसम्म ठीकै हो । हामीकहाँ भएका विभिन्न जडिबुटीको अनुसन्धान गर्न सकिन्छ, त्यसबाट औषधि बनाउन सकिन्छ । तर, महामारीको बेला मनगढन्ते र हल्का अभिव्यक्ति भने सुहाउँदा हैनन् । यो बेला जनतालाई आवश्यक चिकित्सकीय सेवा दिन राज्यले आफ्नो सबै सामथ्र्य लगाउनुपर्छ । उनीहरुलाई परेजमा बस्न लगाउनैपर्छ । तर, मनकुमारीले तातोपानी पिएर स्वास्थ्यलाभ गरेँ भन्ने अभिव्यक्तिबाट प्रभावित भएजस्तो गरि देशका कार्यकारी प्रधानमन्त्रीबाट आउँदा त्यसले अनावश्यक भ्रम सृजना गर्छ । यसबाट सचेत हुनुपर्दछ । विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेका तथ्यमा आधरित भएर अभिब्यक्ती दिदा धेरै राम्रो हुन्छ ।

