बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोनालाई जित्न ज्ञान र विज्ञानलाई जोडौं

कोरोनालाई जित्न ज्ञान र विज्ञानलाई जोडौं


  • १८ बैशाख २०७७, ढोरपाटन दैनिक
  • बैशाख १८ २०७७, बिहिबार

‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ! बालकृष्ण समले ज्ञानलाई अध्यात्मवाद र विज्ञानलाई भौतिकवादसँग जोड्दाको सृजना हो, यो । आध्यात्मिक चिन्तकहरु ज्ञानले आन्तरिक प्रसन्नता र विज्ञानले बाह्य जगतका अनुभवजन्य सोचलाई महत्व दिने ठान्छन् । कोरोनाको कहर छ । कोरोना कहरले वैज्ञानिक मान्यताहरुमाथि धावा बोलेको छ । वैज्ञानिक मान्यताहरु कोरोनासामु निरीह रहँदा गण्डकी प्रदेशअन्तर्गत बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल र अंशु सापकोटाले कोरानालाई सहजै जिते । त्यो पनि औषधि नखाएरै । कोभिड–१९ को ओखती बनेकै छैन । विज्ञानले ढिलोचाँडो खोप वा ओखती पत्ता लगाउला तर अहिले देखिएको संक्रमणबाट बँच्न र यसलाई परास्त गर्न ज्ञानको प्रयोग गर्दा अनुचित चाहिँ हुँदैन । अंशु ओखती नखाएरै निको भइन् । ६५ वर्षीया मनकुमारीले तातोपानी खाएको र मन दह्रो बनाएरै कोरोनालाई परास्त गरेको अभिव्यक्ति दिइन् । विज्ञानले उनीहरुको अभिव्यक्तिलाई अस्वीकार गर्नसक्दैन । किनकि, उनीहरुले प्राणघातक रोगमाथि विजय हाँसिल गरेका छन् । विज्ञानलाई देखाइदिएका छन् । देश र संसारभर कोरोना जितेकाहरुको कथा पनि उस्तै छ ।
क्रमिक विकासको सिद्धान्तलाई आधुनिक विज्ञानले स्वीकार्छ । अध्यात्मवादले आत्मानुभूतिलाई विशेष महत्व दिन्छ । अध्यात्मवादले शरीरलाई नश्वर माने पनि त्यसको आवश्यकतालाई अस्वीकार गर्दैन । बरु, त्यसलाई आफू अनुकूल बनाउनु पर्नेमा जोड दिन्छ । मनको शुद्धिकरण अनि शरीर माथि नियन्त्रणको पैरवी गर्छ । हो, शरीरलाई आफू अनुकूल नै बनाउनुपर्छ । शरीर स्वस्थ भयो भने मन पनि स्वस्थ हुन्छ । तर, अध्यात्मवादले मन स्वस्थ्य राख्दै शरीरलाई स्वस्थ राख्नुपर्ने बताउँछ । कोरोना कहरपछि विश्वभर नै शरीर र मनलाई जोडेर विभिन्न खाले अनुसन्धान थालिएका छन् । भला, यो उपक्रम पहिल्यै जारी किन नहोस् ! संक्रमणबाट बँच्न आहार–विहारमा ख्याल गर्नुपर्छ भन्नेमा अब दुईमत देखिएको छैन । मन चङ्गा र शरीर स्फूर्त बनाउन योग, ध्यान र प्राणायामजस्ता कुरा आवश्यक रहेछ भन्ने मान्यता स्थापित भएको छ । यही सन्दर्भमा नेपालको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोना र यस्तै रोगहरुबाट जोगिन एउटा गाइड लाइन नै निर्माण गरेको छ ।
शरीरको आन्तरिक शक्ति बढाएर रोगसँग जुध्न सकिने निष्कर्षसहितको सो गाइड लाइनले प्राणायाम, योग आदिले रोग प्रतिरोधात्मक शक्ति बढाउन आग्रह गरेको छ । अहिलेसम्म कोरोना संक्रमण भएकाहरुको अध्ययनबाट पनि एकसय जनामध्ये ५ जनालाई मात्र आइसीयूमा राख्न परेको पुष्टि भएको छ । यसको मतलब नियमित योग गर्ने, मनलाई शुद्ध राख्ने व्यक्तिको फोक्सो बलियो हुन्छ । फोक्सो बलियो हुँदा आइसीयूमा जाने आवश्यकता पर्दैन । यही तथ्यलाई बुझेर भारतको आयूष मन्त्रालयले पनि दैनिक २५ मिनट योग गर्न सुझाएको छ । नेपालको आयुर्वेद विभागले रोग प्रतिरोधात्मक क्षमता बढाउने तुलसी गुर्जो, असुरोको पात, बेसार, जिरा मरिच, धनिया, दालचिनी, टिमुर, लसुन उपभोग गर्न, योगका विभिन्न आसन गर्न र ध्यानपछि संगीत सुन्न पनि सुझाएको छ । २÷३ लिटर मनतातो पानी खाँदा शरीर स्वस्थ हुने पनि त्यो गाइड लाइनमा उल्लेख गरिएको छ ।
पूर्वीय दर्शनले स्वीकारेको जीवन पद्धति अवलम्बन गरेर कोरोना जित्न सकिन्छ भने त्यसलाई अस्वीकार गनुपर्ने कुनै कारण छैन । अझ, विज्ञान नै स्वीकारेका तथ्यहरुलाई अवलम्बन गर्न हिच्किचाउनु पनि पर्दैन । यसको मतलब विज्ञानलाई बर्जित गर्नुपर्छ भन्ने पनि होइन । यहाँ ज्ञान र विज्ञानलाई सँगै लैजानुपर्छ । ज्ञानलाई पनि मार्नु हुँदैन र विज्ञानलाई पनि !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->