आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नेकपाभित्रको विवाद र अध्यक्षहरुको रुपान्तरण

नेकपाभित्रको विवाद र अध्यक्षहरुको रुपान्तरण


  • कृष्ण बहादुर केसी
  • बैशाख २७ २०७७, शनिबार

विश्वभरीबाट साम्यवाद पतन भयो, अब बिचार र इतिहासको अन्त्य भयो भन्ने फ्रान्सिस फुकुयामाको बुर्जुवा दर्शनले संसारमा हल्ला मच्चाईरहेको बेला नेपालमा जनमतबाट कम्युनिष्ट पार्टीले करिब दुई तिहाई मतका साथ सरकार सञ्चालन गरिरहेको छ । सरकार चलाएको दुईबर्ष नपुग्दै नेकपाभित्र आन्तरिक द्वन्द सिर्जना भयो । इतिहासको खास खास मोडहरुमा पार्टीभित्र दुई लाईन संघर्ष उत्कर्षमा पुग्ने गर्दछ । तर त्यस प्रकारका संघर्षलाई सञ्चालन गर्ने कम्युनिष्ट पार्टीको आफ्नै विधि र प्रकृयाहरु हुन्छन् । बिधि प्रकृयाद्वारा सञ्चालित अन्तरसंघर्षले पार्टीलाई गतिशिलता प्रदान गर्दछ । अहिले नेकपामा सरकार सञ्चालन र पार्टीमा शक्तिको बाँडफाँडका बिषयलाई लिएर गम्भिर समस्या पैदा भएको छ । यस विषयलाई बेलैमा हल गर्न नेतृत्वले आँफुलाई कसरी प्रस्तुत गर्दछ भन्ने कुराले पनि अन्तरसंघर्षमा महत्वपूर्ण भूमिका खेल्दछ । अहिले पार्टीभित्रको विवाद हल गर्न पार्टीको मुख्य नेतृत्वको भूमिका गलत र दुरासयपूर्ण रहेको तथ्य सार्वजनिक भैरहेको छ । अहिले नेकपामा सृजित विवादहरु मुख्यतः विधि प्रकृयाबाट सञ्चालन हुनुपर्नेमा सरकारका काम कारवाही जनमुखी हुनुपर्ने, एकता प्रकृयामा सहमति भएका कुरालाई अक्षरस लागु गर्नुपर्ने विषयमा केन्द्रित छ ।
अन्तरसंघर्षमा उठेका यी विवादहरुदलाई विषयान्तर गरेर पार्टीको एउटा पक्षले अर्को पक्षलाई नेतृत्व हत्याउन खोजेको, पार्टि फुटाउन खोजेको, अनुशासनहिन र अराजक बनेको जस्ता आरोप लगाउने गरेको पाईन्छ । यस प्रकारका आरोप सहि र यथार्थ होईनन् । बरु भद्दा संसदवादी सोँच र चिन्तनसँग मेल खाने स्वार्थी चिन्तनको अभिव्यक्ति हो । किनभने यो भनाईमा कुनै वैचारिक राजनीतिक सच्चाई छैन । पार्टी र सरकारका विषयमा जोडिएर उत्पन्न भएका विषयहरुलाई पार्टी नेतृत्वले गम्भिरतापूर्वक लिएको देखिँदैन । नेतृत्वमा हुनुका नाताले पार्टीभित्र उठ्ने हरेक विषयहरु प्रचण्ड वा केपी ओलीसँग जोडिन जानुलाई अन्यथा लिनु हुँदैन । स्वाभाविक रुपमा पार्टी र सरकार प्रमुख भएको नाताले केपी ओली यतिबेला शक्तिको केन्द्रमा छन् । यस अर्थमा पनि यो अन्तरसंघर्षलाई विधि प्रकृयामार्फत हल गरेर निकाश दिनु उनको पहिलो दायित्व हो । यसको अर्थ अध्यक्ष प्रचण्ड र सचिवालयका अन्य शिर्ष नेताहरुको भूमिका केपी ओलीको भन्दा कम छ भन्न खोजिएको होईन् । पार्टीभित्रको विवादलाई हल गर्ने सन्दर्भमा शिर्ष नेताका वरिपरिका सहायक नेतृत्वले पनि विषयान्तर गरेर एकले अर्को नेतालाई जुधाउने र फुटाएर आफ्नो स्वार्थसिद्ध गर्ने काममा लागिरहेका छन् । यदी त्यसो नहुँदो हो त कमरेड केपीका लागि धरहराबाट हामफाल्न पनि तयार हुने, केपी नभए आन्दोलननै खतरामा पर्ने, केपीकै करिश्मा र क्षमताका कारण पार्टीले अहिलेको बुहमतसिद्ध गरेको जस्ता हावादारी फतुर गफ सार्वजनिक सञ्चार माध्याममा आउने थिएनन् ।
पार्टी भनेको सिद्धान्त, विचार, नीति कार्यक्रमको समुच्च रुप हो । विवादित विषयहरुमा समग्र पार्टीको बुझाई एकरुपता भयोभने पार्टी एकताबद्ध हुन्छ अन्यथा थप विवाद चर्कँदै जाने र अन्ततः कम्युनिष्ट पार्टी विभाजन हुने गरेका ऐतिहासिक तथ्यहरु हाम्रासामु छन् । उदाहरणको रुपमा महाकाली सन्धिको विषयलाई लिएर उत्पन्न विवादमा तत्कालिन नेकपा एमाले विभाजन हुन पुग्यो । त्यसैगरी दशबर्ष जनयुद्धमार्फत शान्ति प्रकृयामा आएको तत्कालिन नेकपा माओवादीभित्र पनि शान्ति, संविधान र सेना सामायोजनका विषयमा देखा परेका मदभेदका कारण माओवादी पार्टी विभिन्न चिरामा विभाजन हुन पुग्यो । यद्यपी प्रचण्डले नेतृत्व गरेको माओवादीले शान्ति प्रकृयालाई आधारभूत रुपमा टुंगोमा पु¥याई संबिधान जारी गर्न सफल भयो । संबिधान जारी भएपछि नेपालको राजनीतिक व्यवस्थालाई सञ्चालन गर्ने कुरामा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच वैचारिक र कार्यनीतिक विवाद नरहेपछि ति पार्टीहरु छुट्टा–छुट्टै रहनुको औचित्य देखिएन । जसका कारण यी दुई पार्टीबीच एकता गरि नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर अघि बढ्नुपर्ने ऐतिहासिक दायित्वलाई मुख्यतः प्रचण्ड र केपी ओलीले महशुस गरे । जसको परिणाम आज नेकपा ठुलो शक्तिका साथ दुईतिहाई नजिकैको सरकार सञ्चालन गर्न सफल भएको छ । पार्टी एकतासँगै आम कार्यकर्ता र जनतामा ठुलो आशा र विश्वास पैदा भैरहेको सन्दर्भमा जनताको त्यो आशा र विश्वासलाई नेकपाले इमान्दारिताका साथ पुरा गर्न लाग्नुपर्नेमा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो भैरहेको छ । पार्टी एकतासँगै विचार, राजनीति र दर्शनमा खासै विवाद देखिँदैन । तर सरकार र पार्टी सञ्चालन गर्ने सवालमा देखिएका सामान्य समस्याहरुलाई पनि नेतृत्वले समयमै हल गर्ने दिशातिर पहल नगरेर जग हँसाई गर्नु अर्को बिडम्बना हो । नेतृत्वको यहि बिडम्बनापूर्ण भूमिकाले गर्दा पार्टीभित्र गुट उपगुटहरुले चलखेल गर्ने मौका पाईरहेका छन् । जसले गर्दा सिंगो नेकपा दिन प्रतिदिन बदनाम हुँदै गैरहेको छ ।
निश्चित रुपमा यतिबेला पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको छ । यसलाई हल गर्नुको बदला पार्टिको बैठकहरुबाट नेतृत्व आँफै भाग्न खोजिरहेको देखिन्छ । बैठकमा जाने र उत्पन्न परिस्थितीको सामना गर्ने आँट नेतृत्वले देखाउन सकिरहेको छैन् । नेतृत्वले समस्याको सामना गर्दै सबैलाई मिलाएर लैजाने समस्याको उचित निकास दिनुको बदला आफ्नै अध्यक्षतामा बसेको बैठकका निर्णयसमेत लागु नगर्नुले थप समस्या पैदा भैरहेको देखिन्छ । बैठकमा छलछाम गर्ने, लोभहरु देखाउने, त्यसले पनि नभए पेलेरै जाने नियतले पार्टीभित्रको असन्तुष्ट पक्ष बाध्य भएर छुट्टै भेला र सार्वजनिक बहसमा उत्रन बाध्य भएको छ । असन्तुष्ट पक्षको यो बाध्यतालाई नेतृत्वले आफ्ना विरुद्धको घेराबन्दीको रुपमा बुझ्ने र प्रचार गर्ने काम गरिरहेको छ । यसले पनि पार्टीमा थप जटिलता सिर्जना गरिरहेको छ । नेतृत्वको यो शैलीले पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित बनाई राख्ने सवालमा गम्भिर प्रश्नचिन्ह खडा भैरहेको छ । नेतृत्वले यो बुझ्नु पर्छ की यो अन्तरसंघर्ष हल गर्न सामान्य पुरानो सोँच र शैलीबाट सम्भव छैन् । किनभने व्यवस्थारुपी गाडी नयाँ छ र यसलाई हाँक्ने ड्राईभर पनि नयाँ सिपसहितको चाहिन्छ । त्यसैले पार्टीभित्रको अहिलेको समस्यालाई हल गर्न सिंगो नेकपाका नेता कार्यकर्ताहरुले नेतृत्वको चेतनाको ढोका खुल्नेगरी बहसमा भाग लिएर सहयोग पु¥याउनु आवश्यक छ ।
यतिबेला नेकपामा जुन अन्तरसंघर्ष चलिरहेको छ त्यो कसैको मनोगत चाहना, आवेग असन्तुष्टि वा स्वार्थका कारण नभई पार्टीभित्रको विशिष्ट शक्ति सन्तुलन र नेताहरुको कार्यशैलीले नै पैदा गरेको हो । यो तथ्यलाई नजरअन्दाज गरेर नेतृत्वले गुटका आधारमा पेलेरै निकास निकाल्न सक्छु भन्नु मुर्खता हो । यो शैलीले पार्टीलाई एकताबद्ध गरी सरकारलाई प्रभावकारी बनाउँदै सुखी नेपाली समृद्ध नेपालको दिशामा अगाडि बढ्ने कुरा कल्पनासमेत गर्न सकिन्न । त्यसैले नेतृत्वले विषयलाई हल्का–फुल्का रुपमा लिएर अराजनीतिक रुपमा समस्यालाई चर्काउने दिशातिर जानु हुँदैन । पार्टीमा अराजकता र स्वेच्छाचारिता बढ्दा त्यसको असर देश र जनतामा प्रत्यक्ष पर्न जान्छ । कोरोनाको महामारीलाई छाडेर पार्टीभित्रको समस्यामा केन्द्रित हुँदा पार्टी र नेताहरुको सर्वत्र आलोचना हुन गैरहेको छ । सचिवालयमा रहेका कमरेडहरुले मुलुक र पार्टीको अवस्थाबारे थाहा नपाएजस्तो गरेर बैठक बस्दासाथ आँफु केन्द्रित बहस गर्ने र आँफुलाई सत्ता र शक्तिको हिस्सेदार बनाउन पावर शेयरिङमा लाग्ने गरेको देखिन्छ । त्यसो नहुँदो हो त जनताबाट अस्वीकृत भएका व्यक्तिलाई सांसद र प्रधानमन्त्री बनाउने, हारेकाहरुलाई राष्ट्रियसभामा पठाउने, कसैलाई पार्टीकै उपाध्यक्ष, कसैलाई मुख्यमन्त्री, मन्त्री र संबैधानिक पद बाँड्ने खेलो हुने थिएन । त्यसैले पार्टीको हितलाई ध्यानमा राखेर सचिवालयका सदस्यहरुले आँफुलाई रुपान्तरण गरेर निकास दिन सक्नु पर्छ । अन्यथा शक्ति सन्तुलन पनि नमिलेको र भूमिका पनि प्रभावकारी नभएको सचिवालयको औचित्यका बारेमा प्रश्न उठ्ने छ ।
सचिवालयकै सदस्यहरुको भूमिका र पार्टीभित्रको अन्तरबिरोधलाई हेर्दा नेकपा कम्युनिष्ट पार्टी नभएर संयुक्त मोर्चाजस्तो भएको अनुभूति हुन्छ । किनभने यहाँ पूर्वएमालेका स्थायी गुट उपगुटहरु छन् जसले एकअर्कालाई निषेध गर्ने तहसम्मका हर्कत देखाउन बाँकी राखेका छैनन् । पूर्व माओवादी केन्द्रमा पनि प्रचण्डको व्यक्तित्व र रवाफका कारण युद्धकालदेखि अहिलेसम्मका पोखिन नपाएका प्रतिशोधपूर्ण प्रवृत्तिहरु अहिले प्रचण्डलाई देखाईदिने वा बदला लिने तहसम्म उजागर भएका छन् । ति सबै स्वार्थ समूहहरु पूर्व एमाले र माओवादीका गुट उपगुटमा विभक्त भई अध्यक्षद्वय प्रचण्ड र केपी ओलीसँग बार्गेनिङ गरिरहेका छन् । केपी ओली र प्रचण्डबीच मतैक्यता नहुँदा पार्टीमा यिनै गुट उपगुटहरु हाबी हुने खतरा बढ्दै गएको छ । जबसम्म अध्यक्षहरुबीच एकता र विश्वास कायम रहन्न त्यतिबेलासम्म यि गुट उपगुटहरु थप प्रभावकारी बन्दै जान्छन् । त्यसैले नेकपाको अहिलेको विवाद हल गर्ने पहिलो सर्त हो दुई अध्यक्षहरुको रुपान्तरण । अध्यक्षहरु रुपान्तरण नभएसम्म अरु रुपान्तरण हुने प्रश्नै उठ्दैन । नेकपा निर्माण गरेको अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले नै हो । यी दुई जनाबीच एकता हुँदा सिंगो पार्टी एक मतका साथ निर्वाचमा गएर ऐतिहासिक जनमतका साथ विजय हाँसिल गरेर सरकार बनाउन सफल भएको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । तर यिनै अध्यक्षहरुका बिचमा भएको विवादका कारण पार्टीनै संकटको संघारमा उभिएको छ । यो संकटलाई समाधान गर्न ओलीले प्रचण्डलाई साथमा लिएर माधवलाई पेल्ने वा माधव र प्रचण्ड मिलेर ओलीलाई धक्का दिने वा पूर्व एमाले मिलेर प्रचण्डलाई धक्का दिनेजस्ता घातक योजना पार्टीका लागि दुर्भाग्यपूर्ण सावित हुनेछन् । त्यसैले पार्टीभित्र र बाहिरको समस्यासँग जुध्न दुई अध्यक्षहरुको रुपान्तरण अहिलो आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->