`

ढिला नगरौं, सबै शक्ति कोरोनाविरुद्ध लगाऔं


  • Dhorpatan News
  • सोमवार, जेष्ठ ५, २०७७

आखिर जे नहोस् भन्ने कामना गरिएको थियो, त्यही भयो । नेपालमा पनि कोरोनाले मान्छे चुँड्न थाल्यो । संक्रमणलाई ठमठम् हिँडेर घर गएकाहरुले नेपालीमा आत्मवल बढाएका थिए । अझ, औषधिबिनै कोरोलाई जित्दा नेपालीको खानपान र आनीबानीको पनि चर्चा गरियो । नेपालीमा रोग प्रतिरोधात्मक क्षमता छ भन्ने आत्मविश्वास जगाइयो । तर, समय उस्तै रहेन । महाविपत्तिले अब शोक निम्त्याएको छ । संक्रमितको संख्या बढ्दैजाँदा कतै अझ ठूलो अनिष्ट हुने त हैन भन्ने तर्कनालाई बल पुगेको छ । यसले गर्दा अब होसियार हुनु, जोगिनु नागरिकको कर्तव्य बनेको छ । यता, राज्यको तर्फबाट संक्रमितको उपचारमा खटिनु्, परीक्षणको दायरा बढाउनु तथा संक्रमण नियन्त्रणको लागि अब सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने अवस्था भएको छ ।
कोभिड–१९ ले विश्व त्रसित बनाउँदा र संक्रमण भित्रिदाँसम्म पनि नेपालको खासै तयारी थिएन । तयारी गर्नेबेलामा जिम्मेवार मन्त्रीहरु ‘कोरोना फ्रि देश’ र ‘नेपालीलाई कोरोना नलाग्ने’ अभिव्यक्ति दिँदै थिए । धेरैपछि मात्र नेपालले कोरोनाविरुद्धको अभियानमा तदारुकता देखायो । तदारुकतासँगै कमसल स्वास्थ्य सामग्री खरिद काण्ड सतहमा आयो । स्थिति जटिल बन्यो । डाक्टरले व्यक्तिगत सुरक्षा कवच पाएनन् । मास्कको अभाव देखियो । शौभाग्य, त्यो अवधिका संक्रमितको संख्या बढेन । संक्रमितको संख्या नबढेकै अवस्थामा विज्ञहरुले परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिइरहे । आरडीटी हैन पिसीआर परीक्षण गर्नुपर्ने सुझाए । तर, परीक्षणले गति लिन सकेन । सीमा नाकामा नेपाल भित्रन चाहनेहरु रोकिए । रोकिएका नागरिकहरु लुकेरै देश छिरे । उनीहरुको टे«सिङ हुन सकेन । नेपाल भित्रने उपक्रम रोकिएको छैन । अहिले पनि सीमामा हजारौँ नागरिक अलपत्र छन् । युएईलगायतका देशमा अलपत्र परेका नेपालीहरुलाई देश ल्याउनुपर्ने बाध्यता छ । त्यहाँका सरकारले नै आफ्ना नागरिक फिर्ता लैजा भनिसकेपछि राज्य चुप लाग्न मिल्दैन । तर, उनीहरुलाई नेपालप भित्र्याउँदा संक्रमण पनि भित्रिने तथ्यलाई राज्यले भुल्न मिल्दैन । नेपाल भित्र्याउँदा नै परीक्षण गर्ने, क्वारेण्टाइनमा राख्ने र स्वस्थ भएको प्रमाणित भएपछि मात्रै समुदायमा मिसिन दिन्ुपर्छ । सुन्दा सजिलो लागे पनि यो काम सजिलो छैन । सामान्य त्रुटिकै कारण संक्रमण बढेकोमा पनि शंका छैन । लकडाउनलाई ‘अमोघ अश्त्र’ मानेर तन्काउनेबाहेकका सबै काम सुस्त थिए । लकडाउन खुकुलो बनाउने घोषणा गरेकै बेला संक्रमण एकाएक फैलियो । संक्रमणले मान्छे नै चँुड्न थाल्यो । स्थिति विकराल बन्ने संकेत देखिएको छ । संक्रमण बढ्दो छ । नेपालको स्वास्थ्य क्षेत्रले बढ्दो संक्रमितलाई उपचार दिन असम्भव हुने, अस्पतालहरु भरिने र आइसीयू बेडको अभाव हुने सम्भावना बढेर गएको छ । कामना गरौँ, त्यस्तो अवस्था नआओस् ।
संकटको यो घडीमा सरकारले आफ्नो गति बढाउनु पर्ने देखिएको छ । पहिचान भएका संक्रमितको उपचार हुँदै गर्दा परीक्षणको दायरा बढाउनु पर्छ । संक्रमण देखिएका क्षेत्रलाई बन्द गरिनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै मान्छेको जीवनभन्दा ठूलो केही हुँदैन । यसर्थ,मान्छेको जीवन रक्षार्थ जे गर्न सकिन्छ, ती सबै उपायहरु अपनाउनुपर्छ । समय घर्किसकेको छ । अबको ढिला क्षम्य हुँदैन । सम्पूर्ण शक्ति कोरोनाविरुद्ध लगाऔँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology