`

मूल्यवृद्धिको मारबाट जोगाऊ


  • Dhorpatan News
  • मङ्लबार, जेष्ठ ६, २०७७

कोरोना भाइरस (कोभिड–१९) को त्रास एकातिर, लकडाउनले दैनिकीमा पारेको प्रभाव अर्कोतिर । देश संकटमा छ, देशसँगै आममानिस संकटमा छन् । दैनिक ज्यालामजदुरी गर्नेहरु मात्रै हैन, लकडाउन लम्बिँदा मध्यमवर्गीय परिवारको चुल्हो पनि चिसो हुने सम्भावना बढेको छ । संकटले सबै क्षेत्रलाई गाँजेको छ र संकटको असली रुप बल्ल देखिन थालेको छ । संकटबाट मुक्ति खोजेकै बेला मूल्यवृद्धिले थप समस्या खडा गरिदिएको छ । बजारमा खाद्यान्नको अभाव छैन । तकारी र फलफूल पनि पाइएकै छ । तर, दिनानुदिन मूल्य भने आकासिँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नै गएको साउनदेखि चैतसम्ममा खाद्यान्न र पेय पदार्थमा ९.६८ प्रतिशत मूल्यवृद्धि भएको छ । गैरखाद्य र सेवा समूहको मूल्य नबढेकाले औषत मूल्यवृद्धि ७ प्रतिशतभन्दा कम नै छ । खाद्यान्नमा भएको मूल्यवृद्धिको अगाडि गैरखाद्यबस्तुको भूमिका गौण ह्ुन्छ । मानिसको पहिलो आवश्यकता नै खाद्यान्न हो । खाद्यान्नमै मूल्य बढ्दा यसले व्यक्तिको दैनिकीमा प्रभाव पार्छ र अन्ततः अर्थतन्त्रको गतिमा सुस्तता ल्याउँछ ।
नेपालमा खाद्यान्नको मूल्यवृद्धि नयाँ रोग हैन । हरेक आर्थिक वर्षको अन्त्यपछि खाद्यान्नमा मूल्य बढेकै ह्ुन्छ । सरकारले मुद्रास्फिति रोक्नको लागि विभिन्न योजना र कार्यक्रम ल्याए पनि मूल्यवृद्धि रोक्न निस्प्रभावी देखिँदै आएको छ । झन, अहिले त समय नै अनुकुल छैन । आयात ठप्पप्रायः छ भने स्वदेशी उत्पादनले यहाँको माग संवोधन गर्ने अवस्था छैन । नेपाल अहिले नुनदेखि सुन र चामलदेखि दालसम्म आयात गर्नुपर्ने अवस्थामा छ । हजारौँ माइल परका देशहरुबाट सामान ल्याउँदा एकठाउँमा सानो समस्यापर्दा पनि मूल्यवृद्धि भइहाल्छ । स्वदेशी उत्पादनमा मूल्य स्थिर राख्न सकिन्छ । आयातमा त्यो सम्भव हुँदैन । अर्कोतर्फ, मौकाको फाइदा उठाउनेहरु संकटको बेला बढी सल्बलाउँछन् । सिण्डिकेट नै लगाएर मूल्य बढाउँछन् अनि उपभोक्ताको ढाड सेक्छन् । सरकारका अनुसार अहिले मौज्जाद रहेको खाद्यान्नले अझ केही महिना धान्छ । अतः अहिलेको अवस्थामा भएको मूल्यवृद्धिलाई कृतिम भन्न सकिन्छ । कृतिम अभाव सृजना गरि मूल्यवृद्धि गर्नु कालोबजारी हो । कालोबजारी गर्नेहरुलाई कानून अनुसार कारवाही गर्नैपर्छ । बजारमा सरकारको हस्तक्षेप बढाउनुपर्छ । अनुगमनको लागि अनुगमन गर्ने र कारवाहीको डण्डा चलाउन नसक्ने हो भने संकटको यो घडीमा अझै मूल्यवृद्धि हुनसक्छ । म्याद गुज्रेका अखाद्य बस्तुहरु उपभोक्ताको चुल्होमा पुग्नसक्छ । अतः यो बेला सरकारले अनुगमनको संयन्त्रलाई क्रियाशिल बनाउनुपर्छ ।
पछिल्लो समय किसानको लागि अत्यावश्यक मानिने दाना, चोकर लगायतका सामानमा एकाएक मूल्य बढेको छ । दाना र चोकरमा मूल्य बढ्दा त्यसले दूध र मासुको मूल्य स्वतः बढाउँछ । यो गम्भीर विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । लकडाउनको बेला खाद्य आपूर्ति व्यवस्थालाई लकडाउनको प्रभावभन्दा बाहिर राखिएको सरकारको भनाई छ । यदि त्सो हो भने, यो बेला क्ुनै पनि सामानमा मूल्य बढ्ुनु कालोबजारी नै ठहरिन्छ । संकटको घडीमा अनावश्यक नाफा लिन खोज्नु अपराध नै हुन्छ । अपराधीलाई उन्मुक्ति दिनु हुँदैन । संकटको बेला सरकार चुक्नु हुँदैन । बजारमाथि हस्तक्षेप गर्नैपर्छ । मूल्यवृद्धिलाई काबुमा लिनैपर्छ र आउँदो बजेटले पनि मूल्य नबढ्ने सुनिश्चितता गराउन सक्नुपर्छ । अर्थतन्त्र तहसनहस भएको क्षणमा मूल्यवृद्धि हुँदाको परिणामबारे बेलैमा सचेत बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology