`

संक्रमण फैलिने ठाउँ नबनून्, क्वारिण्टाइन


  • Dhorpatan News
  • बिहिबार, जेष्ठ ८, २०७७

बागलुङको गलकोटबाट गएका मजदुरहरुमा कोरोना संक्रमण देखिएपछि बागलुङ र पर्सा दुबै ठाउँमा सन्त्रास छायो । गण्डकीमा सबैभन्दा पहिला बागलुङमै संक्रमण देखिएकाले पर्सा पुगेका मजदुरहरु यतै संक्रमित भएका त हैनन् ? भन्ने प्रश्न उठ्नु् अस्वभाविक थिएन । अध्ययनपछि बल्ल बागलुङमा नभएर पर्सामै १४ जना संक्रमणमा परेको खुल्यो । बागलुङबाट सोझै क्वारिन्टाइनमा पुगेकाहरुमा संक्रमण देखिँदा क्वारिण्टाइनको व्यवस्थापनमा प्रश्न उठ्यो । अहिले पुनः देशका विभिन्न ठाउँमा निर्मित क्वारिण्टाइनको व्यवस्थापनबारे प्रश्न उठ्न थालेका छन् । क्वारिण्टाइन वास्तविक अर्थमा क्वारिण्टाइनजस्तो नभएको र सुविधाहीन ठाउँमा धेरैजनालाई सँगै राखिएकाले ती क्वारेण्टाइन अस्ुरक्षित बनेका हुन् । क्वारिण्टाइन मात्रै हैन, वीरगंजको आइसोलेसन वार्ड नै विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार नभएको सार्वजनिक भइसकेको छ । क्वारिण्टाइन र आइसोलेसन वार्ड सुविधासम्पन्न नभएकाले रोगको संक्रमण फैलने खतरा बढेको छ । अहिले पनि भारतीय सीमा नाकामा हजारौंँ नेपाली अलपत्र छन् । विदेशबाट नेपाल आउन चाहनेहरुको संख्या पनि उत्तिके छ । अर्कोतर्फ, कोरोना समुदायमा बिस्तार हुने क्रममा छ । दिनहुँ संक्रमणका नयाँ घटना बाहिर आएका छन् । संक्रमण बढ्दै जाँदा क्वारिण्टाइनको आवश्यकता झन बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै देशभरका क्वारिण्टाइनका अवस्थाबारे चासो व्यक्त गरेका छन् । क्वारिण्टाइनमा सुविधा नै नभएकाले त्यहाँ राखिएका व्यक्तिहरु भाग्ने क्रम पनि देखिएको छ । यसले कोरोनाविरुद्धको हाम्रो तयारीको हालत पनि देखाइदिएको छ ।
देश लकडाउनमा छ । लकडाउन कोरोना संक्रमण फैलन नदिन र सामाजिक दूरी कायम गर्ने अचुक विधि हो । तर, देशलाई लामो समयसम्म लकडाउनमा राख्दा यसले अर्थतन्त्रलाई नराम्रो प्रभाव पारेको छ । परीक्षणको दायरा बढाउँदै, विदेशबाट आएकाहरुलाई निश्चित समयावधि क्वारिण्टाइनमा राख्दै सुरक्षित तवरले उद्योग÷धन्दा चलाउनुपर्ने आवश्यकता देखिएको छ । तर, कोरोनाविरुद्धका हाम्रा तयारी हेर्ने हो भने तत्काल लकडाउन खुकुलो पार्ने अवस्था देखिएको छैन । क्वारिण्टाइन, आइसोलेसन बेडजस्ता संरचना निर्माणमा हामी चुकेका छौँ । भनौँ, सरकारको कोभिड–१९ विरुद्धको अभियान त्रुटिपूर्ण रहेको छ । कम्तिमा अब क्वारिण्टाइनको निर्माण र गुणस्तरमा ख्याल गर्नुपर्ने भएको छ । क्वारिण्टाइन भनेको भेँडाबाख्रा थुनेजस्तो मान्छे थुन्ने ठाउँ हैन । त्यहाँ विश्व स्वास्थ्य संगठनले तोके अनुसारको सामाजिक दूरी कायम गराउनैपर्छ । अत्यावश्यक सेवा सुविधा प्रधान गरिनुपर्छ । क्वारिण्टाइन घरभन्दा परको घरजस्तो हुनुपर्छ । तर, कोचाकोच मान्छे राख्ने र न्यूनतम सुरक्षा प्रबन्ध पनि नगर्नाले क्वारिण्टाइनहरु संक्रमण फैलाउने थलो बन्ने खतरा बढेको छ । राष्ट्रियसभामा यो विषयको उठान भएको छ । केही सांसदले सुविधासम्पन्न होटलहरुलाईं क्वारिण्टाइन बनाउन सुझाव दिएका छन् । होटल व्यवसायीहरु पनि क्वारिण्टाइनको लागि होटल उपलब्ध गराउन तयार छन् । यस्तो अवस्थामा अहिले खालि रहेका होटलहरुलाई नै क्वारिण्टाइन बनाउन सकिन्छ । मान्छेको जीवनको मूल्य ठूलो छ । मान्छे बचाउनकै लागि क्वारिण्टाइनमा राखिएको हो भन्ने अनुभूति दिलाउन पनि सुविधा बढाउनुपर्छ । क्वारिण्टाइनका न्यूनतम् मापदण्ड पूरा हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology