बागलुङ, १२ जेठ– कोरोना भाईरसको महामारी रोकथाम र नियन्त्रणका लागि आपतकालिन कोरोना कोष बनाएका यहाँका चार वडालाई बलेवा सेवा समाज जापानले आर्थिक सहयोग गर्ने भएको छ । समाजले बागलुङ नगरपालिकाका तीन र जैमिनी नगरपालिकाको एक वडामा स्थापना गरिएको कोरोना कोषमा दश हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय भएको समाजका अध्यक्ष राज पौडेलले बताए ।
बागलुङ नगरपालिकाका तीन वडा अमलाचौर, पैञ्युपाटा, नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेराले आर्थिक सहयोग पाउने भएका हुन् । समाजले कोरोनाका कारण जापानमा रोजगारी गुमेका तथा आर्थिक रुपमा समस्यामा रहेका तत्कालिन बलेवा क्षेत्रका नागरिकलाई समेत आवश्यक सहयोग गर्ने समाजका महासचिव टिकाराम रिजाल विमलले बताए । बलेवा सेवा समाजले बलेवा क्षेत्रमा आर्थिक तथा शैक्षिक विकास र आपतकालिन अवस्थामा सहयोग गर्दै आएको छ ।





