पश्चिम रुकुमको चौरजहारीमा एउटा जघन्य हत्याकाण्ड भएको छ । हत्याकाण्डमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २० वर्षीय नवराज बिकसहित उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढा मारिएका छन् । अन्य ३ जना वेपत्ता छन् । नवराज कथित उपल्लो जातकी आफ्नी प्रेमिकालाई लिन जाँदा विभत्स हत्याकाण्ड भएको प्रारम्भिक घटनाक्रमले पुष्टि गरेका छन् । झांगिएको प्रेमलाई विवाहमा परिणत गर्न प्रेमिकाबाट गरिएको आग्रह अनुसार नवराज साथीहरुसहित चौरजहारी पुगेका थिए । तर, उनको प्रेमिकालाई ल्याउने सपना पूरा भएन । उनी र उनको समूहमाथि ढुगामुढा भयो । पाशविक तवरले उनीहरुको हत्या गरियो । नवराजको शव भेरीमा फेला प¥यो । आक्रणमबाट बच्न भेरीमा हेलिएको अनुमान गरिएका बाँकीको खोजतलास जारी छ । घटनामा सिंगो गाउँ मुछिएको छ, जनप्रतिनिधि मुछिएका छन् र मुछिएको छ, मध्ययुगीन संस्कार बोक्ने मानशिकता नै । कथित जातीय सर्वोच्चतालाई कानूनले बर्जित गरे पनि त्यो सोच बोक्नेहरुको कमी नभएको घटनापछि सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरुले प्रष्ट पारेको छ । लकडाउनको बेला दलबलसहित अर्को गाउँमा जान नहुने, सजातीय नै भए पनि पारिवारिक सहमति बेगर विवाह गर्न खोज्दा स्वभाविक रुपले अवरोध सृजना हुने, परिवारका कसैलाई दलबलसहित भगाउँदा तपाईँ के गनुहुन्थ्यो भन्नेजस्ता तर्कहरुले जघन्य अपराधलाई छोप्न सकिँदैन । नवराजको क्षतविक्षत शरीर हेरेर नै जातीय अहमबाट सृजित क्रुरताको अनुमान लगाउन सकिन्छ । रुकुम पश्चिममा भएको यो घटनाको अन्तर्यमा मध्ययुगीन जातीय अहंकार र सोच हावी भएकै हो । आफ्नी छोरी कथित् तल्लो जातका केटाबीचको प्रेमबारे छोरीको परिवार जानकार नै थियो । प्रेम सम्बन्ध टुक्र्याउन यसअघि पनि प्रयास भएकै थिए । तर, पछिल्लो चरणमा भने निन्दनीय हिंसाको सहारा लिइयो । होनाहार युवाहरु मारिए । मध्ययुगीन वर्वरता सतहमा आयो ।
मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय मानेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा पनि भएको छ । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति भएको छ । अनि दण्ड र जरिवानाको व्यवस्था पनि गरिएको छ । तर, व्यवहारिक रुपमा भने जातीय छुवाछुत नेपाली समाजको कलंकको रुपमा नै रहेको छ । रुकुम घटना यही कलंको नाङ्गो रुप हो । यो जातीय हिंसा नै हो । यसको जति भत्र्सना गरे पनि कम हुन्छ । सुन्दै आँङ सिरिङ्ग बनाउने घटना सुन्न पनि सकिदैन । सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय समिति बनाएको छ । समितिले सक्दो छिटो सत्यतथ्य पत्ता लगाओस् । दोषीमािथ कारवाहीको सुनिश्चितता गरोस् अनि जातीय भेदभावविरुद्ध हुनसक्ने सम्भावित् घटना रोक्ने मार्गचित्र निर्माण गरोस् । जातीय उत्पीडनका घरु नरोकिएको सन्दर्भमा छानविन समिति दूधको दूध र पानीको पानी छुट्याउन असमर्थ भयो भने हिंसालाई साधन बनाउने प्रवृत्ति बढ्ने मात्रै हैन, जातीय विभेद अनि ज्यादति बढ्न सक्नेतर्फ पनि सरकारको ध्यान जाओस् । प्रेमी गुमाएकी युवतीको मानसिक अवस्थाको ख्याल गर्नु त छँदैछ । लेखिएको कानून पालना गराउने र जातीय विभेदजस्तो अमानवीय व्यवहार रोक्ने सरकारले विशेष कार्यक्रम नै ल्याओस् । मानवीयताविरुद्धको अपराधलाई अपराधकै आँखाले हेरौं । यसको सवैले डटेर विरोध गरौं ।

