बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सदन, सार्थक बहसको थलो बनोस्

सदन, सार्थक बहसको थलो बनोस्


  • Dhorpatan News
  • जेष्ठ २२ २०७७, बिहिबार

संसद सार्थक बहस गर्ने, नीति बनाउने र सरकारलाई निर्देशित गर्नेे थलो हा । संसद संचालनका आफ्नै विधि र प्रक्रिया हुन्छन् । सभासद कुमार खड्काले भनेजस्तै सरकारको जन्मदाता, सल्लाहकार, मार्गनिर्देशक पनि हो संसद । जिब्रोको राग मेट्ने थलो हैन संसद । विगतको समीक्षा, भविष्यको कल्पना र गन्तब्यको आँखिझ्याल देखाउने ठाउँ पनि हो ।
गण्डकी प्रदेशको चौथो नीति तथा कार्यक्रबारे छलफल चलिरहँदा सदन साँच्चिकै सक्रिय देखिएको छ । प्रदेशको छैठौं अधिवेशनमा सभासदहरुबाट मुखरित भएका विचारहरु पक्ष÷विपक्षमा विभक्त भएकै छन् तर यसले सदनको जिवन्तता झल्काएको छ, गरीमा बढाएको छ । प्रदेश सरकार गठनको तीन वर्ष व्यथित भएको छ । यो अन्तरालमा सदनका ६ वटा बैठक बसेका छन् । छैटौं बैठक चलिरहेको छ । जुन बेला गण्डकी प्रदेश सरकार गठन भयो, त्यो बेला सदन संचालनको कार्यविधि पनि थिएन । आफैले बनाएको कार्यविधिबाट संचालित सदनमा संसदीय अभ्यास बुझेका सभासद पनि कम नै थिए । औंलामा गन्न सकिने सभासदले मात्र संसदीय अभ्यास बुझेका थिए । संसदको गरीमा र मर्यादा कायम गर्दै संसदीय अभ्यासमा अभ्यस्त हुन उनीहरुलाई समय लाग्नु स्वभाविक थियो । तर, बिस्तारै सभासदहरु सदनको काम कारबाहीप्रति अभ्यस्त बन्दै गए । उनीहरुलाई कामले नै सिकायो । सिक्ने उपक्रम अहिले पनि जारी छ । यो उपक्रममा संसदीय अभ्यासमा सभामुखले गल्ती पनि गल्ती गरे । मन्त्रीले नै सदनको गरीमाप्रति ध्यान नदिएको कुरा पनि उठ्यो । सदनमा उठेका विषयमा मुख्यमन्त्री र मन्त्रीले जवाफ नदिएको भन्दै विपक्षीहरुले एउटै विषयमा पटक–पटक नियमापत्ति पनि भयो । सदनको गरीमा घटाउने यस्ता गतिविधि वाञ्छनीय थिएनन् र हुँदैनन् । सदनमा पक्ष र विपक्ष हुनु एउटा कुरा हो तर सदन भनेको सदन नै हो । सदनमा जाँदा सबै सभासद समान हुन् । सदनको गरीमा सभासदले नै बढाउने हो । यो विषयमा त्रुटि देखिए पनि सच्चिने ठाउँ छ तर सधैं गल्ती गर्ने र संसदीय परपम्परा मिच्ने छुट कसैलाई छैन । सदनको सुन्दरता भनेकै उठान भएका विषयमा गहन छलफल, वादविवाद, तर्क–वितर्क गर्र्नु हो । तर्कलाई तथ्यले पुष्टि गराउँदा त्यो अझ सुन्दर बन्छ । संस्कृतले शब्दलाई ब्रह्मको संज्ञा दिएको छ । शब्दहरुको निरर्थक प्रयोग गरिनु हुन्न भन्नेमा सबै सचेत बन्नुपर्छ । कसैलाई अनावश्यक लाञ्छना लगाउनु र कुतर्क गर्नु भनेको आफ्नो मात्रै नभएर सदनकै इज्जत घटाउनु हो भन्ने सभासदहरुले बुझ्न्ुपर्छ । सदनको छैटौं बैठक बाहिरबाट हेर्दा र सुन्दा रोचक छ । नीति र कार्यक्रमबारे छलफल चलिरहँदा उखान–टु्क्का, गीतहरुको प्रयोग पनि भएको छ । उखान–टुक्का र गीतले मिठास दिएको छ, रौनक थपेको छ । तर, यसो भनिरहँदा सभासद खड्काले भनेजस्तै सदन मुखको तीतो फाल्ने ठाउँ हैन । सदनमा सार्थक बहस हुनुपर्छ, तर्कले भन्दा पनि तथ्यले आफ्ना कुरा प्रमाणित गर्नुपर्छ र सरकारलाई सही मार्गनिर्देशन दिनुपर्छ । सदनको प्रक्रिया र उठान भएका विषयहरुलाई हल्का ढंगले लिने वा नजरअन्दाज गर्ने भुल कसैबाट हुनुहुँदैन । संसदलाई बहससहित निष्कर्षको सार्थक थलो बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->