कोरोना संक्रमण र मृत्युको संख्या बढ्दै गएको छ । संक्रमण र मृत्युको संख्या बढ्दै गर्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या सानो लाग्न थालेको छ । भला, निको भएकाहरुको तथ्याङ्क आफैमा उत्साहजनक नै किन नहोस् । संक्रमण र मृत्यु दर बढ्दै गर्दा परीक्षणको गति भने साह्रै सुस्त देखिएको छ । देशभर नै पछिल्ला केही दिनयता पीसीआर परीक्षणको लागि संकलित स्वाबहरु थुप्रिँदै गएका छन् । यसले गर्दा संक्रमण फैलने जोखिम बढाएको त छ नै, स्वाब संकलन गरिएकाहरुमा मानशिक त्रास पनि बढाएको छ । नेपालमा संक्रमण देखिएको लामो समय बितिसक्यो । सरकारले कोरोना नियन्त्रण र उपचारको लागि सम्पूर्ण तयारी गरेको जिकिर पनि ग¥यो । तर, परीक्षणको धीमा गतिले उसकै भनाईलाई गलत सावित गर्ने अवस्था सृजना भएको छ । संक्रमणको दर बढ्दै गर्दा तथा विदेशबाट नागरिकहरु भित्रने उपक्रम बढ्दा तयार भनिएका क्वारिण्टाइनको क्षमता तथा सुविधाप्रति पनि प्रश्नहरु उठेका छन् । क्वारिण्टाइन संक्रमणको उद्योग बन्ने हो कि भन्ने खतरा पनि बढेको छ । यसले आम नागरिकमा निराशा उत्पन्न मात्र गराएको छ ।
देशले अन्तहीन लकडाउन थेग्न सक्दैन भन्ने प्रमाणित हुँदै आएको छ । सरकार स्वयं लकडाउनको मोडल परिवर्तन गर्ने सोचमा पुगेको छ । आइतबारबाटै मालपोतहरु खुल्ला गर्ने निर्णय यही सोचको परिणति हो भन्ने प्रष्ट भएको छ । तर, अर्कोतर्फ संक्रमण बढेको छ । संक्रमण बढ्दा लकडाउन केका लागि थियो ?लामो समयसम्म सरकारले किन पर्याप्त तयारी गर्न सकेन र लकडाउनलाई नै रामबाण किन मानियो भन्ने प्रश्न पेचिलो बनेको छ । एकातिर निजी क्षेत्र र सरकार स्वयं लकडाउन खुकुलो पार्ने तयारीमा जुट्नु र अर्कोतिर संक्रमणको दर बढ्नुले आम नागरिकमा त्रास पैदा गरेको छ । मान्छे मरेपछि मात्रै परीक्षणको रिपोर्ट आउनुलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । अर्कोतर्फ आरडीटी परीक्षणले उत्पन्न गराएको द्धिविधा र आशंकालाई पनि बेलैमा संवोधन गर्नुपर्ने भएको छ । दुई जना कोरोना संक्रमितलाई निको बनाएको गण्डकी प्रदेश पनि यो प्रश्नबाट अछुतो रहन नसक्ने अवस्था आएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रयोगशालामाको गति पनि सुस्त देखिएको छ । यो सुस्तताले लकडाउन खुकुलो बनाउने कदम घातक त हुँदैन भन्ने चिन्ता थपेको छ । कोरोना कहरबाट नागरिकलाई बचाउन परीक्षणको गति बढाउनै पर्छ । विदेशबाट आएकाहरुको पहिचान हुनैपर्छ । संक्रमण फैलन नदिने सबै उपायहरु अपनाउँदै अर्थतन्त्रलाई चलायनमान बनाउनेबारे पनि सोच्नैपर्छ । तर, पहिलो सर्त भनेको नागरिकको सुरक्षा नै हो । लकडाउन लम्ब्याउँदा त्यसले ल्याउने जटिलता भयावह हुनसक्छ । मान्छे रोगबाटभन्दा भोकबाट मर्ने खतरा बढ्छ । अर्थतन्त्र तहसनहस हुन्छ । यसो भनिरहँदा नागरिकका मृत्युका खबर बढ्नु हुँदैन । यसको लागि परीक्षण बढाउन सबै शक्ति केन्द्रित गर्नुपर्छ ।

