बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राजनीति र माननीयको भूमिका

राजनीति र माननीयको भूमिका


  • Dhorpatan News
  • असार ११ २०७७, बिहिबार

गण्डकी प्रदेशका सभासद राजिव गुरुङले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनमाको घोषणा गरे । राजीनामा दिँदै उनले समितिमा बसेर काम गर्न नसकेको र आफैलाई लाज लागेको बताए । उनले भएका अनियमिताहरु टुलुटुलु हेरेर बस्ने अवस्था आएको, कुनै कारवाही गर्न नसकिएको पनि स्वीकारे । यति मात्रै नभएर उनले प्रदेश सरकारसँग अधिकार नभएको सबै कुरा केन्द्रकै भरमा चलेको र प्रदेशसभा ताली बजाउने थलो मात्रै भएको पनि बताउन भ्याए ।
राजिव गुरुङको आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिँदै विजयी बनेपछि उनको प्रदेशसभा यात्रा तय भएको हो । प्रदेशसभाको सदस्य हुँदा पनि पुरानो आपराधिक कर्मले उनलाई पच्छ्याइरह्यो । उनी जेल नै परे । सभासदको रुपमा सपथ लिएपछि उनी सत्तारुढ दलको बेञ्चमा बस्न पुगे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले उनलाई पार्टी सदस्यता प्रदान ग¥यो । उनी नेकपाका कार्यकर्ता बने । जेल र नेलको अनुभव भएका राजिवले सभासदको रुपमा के कस्ता काम सम्पादन गरे, सदनमा उनको भूमिका के भन्नेबारे लामो चर्चा जरुरी छैन । दीपक मनाङेको नामबाट चिनिने उनको राजनीतिक यात्राबारेको टीका टिप्पणी एक ठाउँमा होला तर तर, उनले सभासदको रुपमा विकास समितिको सदस्यको रुपमा आफूले काम गर्न नपाएको र त्यहाँ बस्नुको औचित्य नै नभएको जुन अभिव्यक्ति दिए त्यो भने मननीय छ । यसले नेपाली राजनीतिको विद्रुपताबारे नयाँ बहस निम्त्याएको छ ।
राजनीतिमा त्याग र सेवाभावको विशेष महत्व हुन्छ । जनताको हितमा जीवन अर्पण गर्ने, आफ्नोभन्दा समाजको हित चाहनेहरुको गर्ने हो, राजनीति । तर, नेपालमा भने राजनीति आफैमा पेशा बनेको छ । चुनाव जित्न साम, दाम, दण्ड, भेदका सबै उपाय अवलम्बन गर्ने र त्यसपछि आफ्नो स्वार्थमा लिप्त हुने झुण्डका कारण राजनीतिप्रति युवापुस्तामा वितृष्णा बढ्दै गएको छ । राजनीति कमाउने पेशा हुँदै हैन र बनाउनु पनि हुँदैन । राजनीतिमा लाग्नेहरुमा उच्च नैतिकता हुनैपर्छ । समाजलाई अग्रगामी बनाउने योजना र लक्ष्य हुनुपर्छ । अहिलेको राजनीतिमा यो देखिँदैन । आपराधिक पृष्ठभूमिबाट आएका राजिवलेसमेत लाज मान्ने अवस्था सृजना हुनु राजनीतिको लागि राम्रो संकेत हुँदै होइन । राजिवले भावनामा बगेरै सही, नेपाली राजनीतिको गलत पक्षलाई बाहिर ल्याइदिएका छन् । उनको यो अभिव्यक्तिलाई राजनीतिमा लाग्नेहरुले गम्भीरतापूर्वक लिनुपर्छ । खासगरि गण्डकी प्रदेशसभाले आफ्नो औचित्य पुष्टि गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भने सभासद र विभिन्न समितिहरुले पनि क्रियाशिलता बढाउनुपर्छ । माननीय साँच्चिकै माननीय बन्नुपर्छ । जागिर खाने र आफ्नो स्वास्र्थपूर्ति गर्नेहरु माननीय हुनै सक्दैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->