प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आलोचित छन् । संकटको बेला नागरिकका बढी अपेक्षा हुन्छन् र ती पूरा गराउने दायित्व सरकारकै हुन्छ । कोरोना कहरले देशलाई गाँजिरहँदा देखिएको सरकारी सुस्तता, स्वास्थ्य सामग्री खरिदमा देखिएको अपारदर्शीता र कमजोर सेवा प्रवाहका कारण उनी आलोचनाको केन्द्रमा परेका हुन् । अर्कोतर्फ, तित्राको मुखै बैरी भनेजस्तो उनका बेलगाम अभिव्यक्तिले स्वयं उनी चक्रब्यूहमा पर्दै गएका छन् । आलोचना बाहिरबाट मात्रै हैन, आफ्नै पार्टीभित्रबाट पनि भइरहेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहालदेखि वरिष्ठ नेता र सचिवालयका बहुमत सदस्य उनीप्रति असन्तुष्ट हुँदा प्रधानमन्त्री थप संकटमा परेका हुन् कि जस्तो पनि देखिएको छ । तर, अहिलेका प्रधानमन्त्रीसँग झण्डै दुई तिहाईको बहुमत छ । उनलाई कसैले चाहँदैमा सत्ताबाट हटाउन सक्दैन । सत्ताबाट हटाएपछिको विकल्प के भन्नेबारे मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी भित्र नै प्रष्ट धारणा नै छैन । त्यसैले पनि ओली अहिलेका निर्विकल्प हुन् । अपेक्षा राख्ने व्यक्तिसँग स्वभाविक रुपले असन्तुष्टि हुन्छ । अहिले जनतामा देखिएको असन्तुष्टि त्यसकै प्रतिफल हो । पार्टी भित्र भने उनको काम गराईलाई लिएर आलोचना हुँदै आएको छ । कार्यशैलीमा सामान्य सुधारले मात्रै पनि उनी पार्टी भित्रको शक्ति सन्तुलनमा माथि नै पर्ने ठाउँ बाँकी नै छ । यस्तोमा आत्तिनुपर्ने हैन कि कामतिर ध्यान केन्द्रित गर्नुपर्ने उनको दायित्व हो ।
तर, वाकपटुतामा धनी प्रधानमन्त्री ओलीको छिमेकी भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएपछि भने पार्टी पंक्ति मात्रै नभएर कुटनीतिक वृत्त पनि अचम्ममा परेको छ । ओलीको यो भनाई पार्टीको स्थायी समितिको बैठककै बीचमा आएकाले पनि उनको भनाईलाई लिएर विभिन्न आशंका र कोणबाट व्याख्या गरिएको हो । कुटनीतिमा बोलीको ठूलो महत्व हुन्छ । भारतले अतिक्रमण गरेका भूभाग समेटेर नेपालको नक्सा जारी गरेका, नाकाबन्दीविरुद्ध दह्रो अडान राखेका ओलीप्रति छिमेकीका आफ्नै दृष्टिकोण होलान् तर उनलाई हटाउन सक्ने अवस्थामा भने ऊ पक्कै पनि छैन । किनकि, ओलीलाई हटाउन सक्ने भनेको संसदले हो, उनकै पार्टीले हो । विदेशीले नेपाली भूमिमा बसेर देशको कार्यकारी प्रधानमन्त्रीलाई हटाउने षड्यन्त्र गर्छन् भने त्यसको ओठे हैन कि कुटनीतिक जवाफ दिनुपर्छ । त्यसको लागि कुटनीतिक च्यानल नै प्रयोग हुनुपर्छ । प्रधानमन्त्रीजस्तो व्यक्तिले बोल्दा जिम्मेवारी र कुटनीतिक मर्यादाको ख्याल गर्नुपर्छ अनि आफ्नो शक्तिको आंकलन पनि हुनैपर्छ । अन्यथा, आफू शक्तिशाली हुँदाहुँदै कसैले हटाउन खोज्यो भन्नु प्रधानमन्त्री स्वयंको कमजोरी ठहर्छ । प्रधानमन्त्री ओलीलाई इतिहासले देश बनाउने सुअवसर प्रदान गरेको छ । उनीसँग प्रकाण्ड बहुमत छ । उनले चाहेमा देशलाई उन्नतिको नयाँ दिशा दिन सक्छन् । मात्र, ओलीले आफ्ना काम गर्ने तौरतरिकाहरु सुधार्नुपर्छ । आलोचना ग्रहण गर्नुंपर्छ र पार्टी पंक्तिलाई विश्वासमा लिनुपर्छ । अर्कालाई गाली गरेर आफ्नो कमजोरी ढाक्ने वा विपक्षमा उभिनेहरुलाई तह लगाउने उद्देश्यले प्रधानमन्त्री तहबाट हल्का टिप्पणी सुहाउँदैन ।

