बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रविधिको दुरुपयोग

प्रविधिको दुरुपयोग


  • Dhorpatan News
  • असार २३ २०७७, मंगलबार

२१ औं शताब्दीका प्रख्यात दार्शनिक ओशोले भनेका थिए,‘ विज्ञान र प्रविधिको भरपुर उपयोग गरिनुपर्छ ।’ उनी स्वयंले आफ्नो दर्शनको प्रचारको लागि प्रविधिको पूरापूर उपयोग गरे । धार्मिक गुरुहरु प्रविधिबाट टाढै रहने प्रवृत्तिका बीच नै ओशोले प्रविधिलाई अलग्याएर हिँड्न नसकिने स्पष्ट पारेका थिए । प्रविधि दिनानुदिन बदलिरहेको छ । ओशोकालीन समयमा सामाजिक सञ्जाल थिएन । सूचना प्रविधिले ठूलो फड्को मारेकै थिएन । अहिलेको विश्व सामाजिक सञ्जालले खाएको छ । संचारमा अभूतपूर्व विकास भएको छ । फेसबुक, ट्विटर, इन्ष्टालगायतका सामाजिक सञ्जालको बिनाको संसार कल्पना गर्न नसकिने भएको छ । मानिसको जीवनको अभिन्न अंग बनेका सामाजिक सञ्जालले संसार जोडेका छन् । जनतामा सूचनाको पहुँच बढाएका छन् । निश्चय पनि प्रविधिले संसारलाई साँघुरो बनाइदिएको छ । कामलाई सजिलो बनाएको छ अनि मान्छेलाई सचेत बनाउन अह्म भूमिका खेलको छ । प्रविधिको सही उपयोगबाट मानिसहरुको क्षमता अभिवृद्धि भएको छ । तर, मानिसको सहजताको लागि निर्मित प्रविधिको दुरुपयोग पनि उत्तिकै बढ्दो छ । बढ्दो दुरुपयोगले निम्त्याएका घटनाहरु डरलाग्दा देखिएका छन् ।
पछिल्लो समय नेपालकै दुई महिलाले फेसबुक लाइभ गर्दै आत्महत्या गरिन् । उनको आत्महत्या प्रकरणले सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग मुद्दा पुनः सतहमा ल्याइदियो ।सामाजिक सञ्जालमार्फत् सम्बन्ध स्थापित गर्ने, धम्क्याउने, रकम असुली गर्नेजस्ता प्रवृत्तिभन्दा निन्तान्त फरक थियो, यो प्रकरण । मानिस आत्महत्याको लागि प्रेरित हुनु एउटा विषय हो तर मर्ने बेला पनि फेसबुक लाइभ गर्नु फरक कुरा हो । आत्महत्याजस्ता घटनाको लाइभ हुन थालेपछि स्वास्थ्य मन्त्रालयले आत्महत्या लाइभ नगर्न आग्रह नै गरेको छ । यस्ता भिडियोहरुले अरुलाई पनि आत्महत्याको लागि प्रेरित गर्ने मन्त्रालयले ठहर गरेको छ । फेसबुकजस्ता सामाजिक सञ्जालले घृणा फैलाएको आलोचना भइरहेको बेला नेपालमा देखिएको यस्ता प्रवृत्तिहरु गम्भीर छन् । युवापुस्ता देखि बालबालिकासम्ममा देखिएको सामाजिक सञ्जालको लत, सामाजिक सञ्जालमा पोष्ट हुने भिडियो र विचार एवं अश्लील सामग्रीहरुमाथिको नियन्त्रण अहिलेको आवश्यता हो । आफ्ना अन्तररंग सम्बन्धका तस्वीर अनि भिडियो खिच्ने र सम्बन्धमा दरार आउँदा त्यसलाई सार्वजनिक गरिदिने प्रवृत्ति पनि देखिएको छ । यस्ता प्रवृत्तिले कतिको घरबार उजाडिएको छ भने मानशिक असन्तुलत पनि बढाएको छ । बालबालिकाहरु इण्टरनेटमै झुण्डिँदा त्यसले निम्त्याएको एकांकीपन झन डरलाग्दो छ । यस्ता प्रवृत्तिहरुलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने निम्त्याउने दुर्घटना झन खतरनाक हुन्छ । प्रविधिलाई सकारात्मक तरिकाले ग्रहण गरिनुपर्छ । यसको दुरुपयोगले निम्त्याउने संकट खतरनाक हुन्छ । मानवीय जीवनलाई सरल बनाउनको निम्ति आविष्कार भएका प्रविधिको दुरुपयोग रोक्न सरकारकोतर्फबाट प्रभावकारी कदम चाल्नुपर्छ । बालबालिकाको हकमा अभिभावकहरु सचेत बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->