गण्डकी प्रदेशका ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । उमेर पुगेर भएको मृत्यु त दुःखद हुन्छ भने अप्रत्यासित रोगका कारण आफन्त गुमाउनुको पीडा ठूलो हुने नै भयो । अंकमा सानो देखिए पनि आफन्त गुमाएकाहरुको पीडा सानो छैन । तर,पर्याप्त तयारी बिना महामारीसँग गरिएको लडाइँमा पनि नेपाल र गण्डकीले तुलनात्मक रुपमा अहिलेसम्म कम क्षति व्यहोरेको छ । यसमा भने सन्तोष नै मान्नुपर्ने अवस्था छ । गएको चैत १५ गते पहिलो कोरोना संक्रमण देखिएसँगै गण्डकी सरकारले रोगविरुद्धको अभियान थालेको हो । अभियान जारी छ । अभियानको क्रममा कमी–कमजोरी नभएका हैनन् । संघीय सरकारले गरेका गम्भीर गल्तीहरुको मारमा गण्डकी नपरेको पनि हैन तर गण्डकी प्रदेश सरकारले सक्दो ग¥यो । रातारात अस्पतालमा आईसीयू निर्माणदेखि राहतमा मन फुकाएर रकम विनियोजन भयो । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वयंले विदेशबाट फर्केका सबैलाई पीसीआर परीक्षणपछि मात्रै घर पठाउने उद्घोष गरे । यो एक हिसाबले संघीय सरकारले आलोचनाको वावजुद निरन्तरता दिएको आरडीटी परीक्षणलाई चुनौति थियो । गण्डकीले साउन महिनासम्म २७ हजारको हाराहारीमा विदेशिएकाहरु घर फर्कने र सबैको परीक्षण गर्ने घोषणा पनि ग¥यो । यी यावत् काममा देखिएको मुख्यमन्त्रीको सक्रियता स्तूत्य छ । त्यसो त, प्रदेशका अन्य मन्त्री र स्वास्थ्यकर्मीहरुको दिनरातको मेहनतलाई नजरअन्दाज गर्न मिल्दैन ।
अहिले गण्डकीमा ३ हजार २२२ क्वारेण्टिनमा रहेका छन् । ८७.४२ प्रतिशत पुरुष र १२.५२ महिला गरी कुल १ हजार १९९ जनामा संक्रमण देखिएको छ । तीमध्ये ७५७ जना डिस्चार्ज भएका छन् । ४५२ जना आइसोलेसनमा रहेका छन् । खुसीको कुरा के छ भने, हिमालपारिका मनाङ र मुस्ताङका आइसोलेसन खाली छन् । जनाइएको छ । क्वारेण्टिन र आइसोलेसन खाली हुनु भनेको संक्रमणबाट मुक्ति हो । अब अन्य जिल्लाहरु पनि संक्रमणबाट मुक्त होउन्, विदेशबाट आउनेहरुको शीघ्र परीक्षण होस् । क्वारेण्टिनमा भएका र देखिएका असुविधाहरु हटुन् अनि क्वारेण्टिन रोग सार्ने थलो नबनून् । क्वारेण्टिनमा बस्नेहरुको मानशिक पीडा एकातिर छ भने व्यवस्थापनमा भएको खर्च अर्कोतिर छ । लामो समय क्वारेण्टिन राख्नुपर्दा स्थानीय निकायहरुको ठूलो रकम खर्च भएको छ । त्यसको भरपाई अब प्रदेश सरकारबाट हुनुपर्छ । कोरोनासँग लड्नको लागि संघीय, प्रदेश र स्थानीय निकायहरुले बढी स्रोत र साधन खर्चनु भनेको विकास निर्माणको बजेट काटिनु हो । अत ः परीक्षणको दायरा बढाउने, संक्रमण समुदायमा फैलन नदिनेतर्फ विशेष ध्यान पु¥याउनु अहिलेको आवश्यकता हो । संक्रमितहरुको उपचारमा विशेष ध्यान दिए मात्रै आइसोलेसन खाली हुन्छन् भन्ने तथ्यलाई पनि यो बेला मनन गर्नैपर्छ । यसो भनिरहँदा आत्मबलले कोरोना जितेकाहरुलाई भने सलाम गर्नैपर्छ ।

