प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि रामबारे दिएको अभिव्यक्तिको तरंग अझै साम्य भएको छैन । भारतका हिन्दुवादीहरुले नेपालका प्रधानमन्त्रीको भनाईको कडा प्रतिवाद गरेका छन् । यता, व्यापक आलोचनापछि नेपालको परराष्ट्र मत्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गलत आशयले सो अभिव्यक्ति नदिएको जिकिर गरेको छ । देशका प्रधानमन्त्रीजस्तो व्यक्तिबाट आएको अभिव्यक्तिमा रफु भर्न परराष्ट्र मन्त्रालय बाध्य भएको छ । चर्को राष्ट्रवादी कुरा गर्दा प्रधानमन्त्री ओली चिप्लिएपछि यसले नेपाल–भारत सम्बन्धमा अझ चिसोपन ल्याउने अनुमान पनि गरिएको छ । पछिल्लो समय नेपाल–भारत सम्बन्ध सुमुधुर छैन । नेपालले आफ्नो गुमेको भूमि समेटेर नक्सा जारी गरेपछि चिसिएको सम्बन्ध सुधार र गुमेको भूमि फिर्ता ल्याउन पहल थाल्नुपर्ने बेला प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले गतिरोध खडा गर्ने सम्भावना बढेका छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्नेहरुले भारतलाई मुखभरीको जवाफ दिएको जिकिर गरेका छन् । भारतले बुद्ध उतै जन्मेका भन्न हुँदा हाम्रा प्रधानमन्त्रीले राम यतैका हुन् भन्न किन नहुने ? भन्ने प्रश्न गर्नेहरुको जमात पनि ठूलै छ । तर, यो तर्कमा तुक छैन । अर्कोले गलत गर्दा आफूले पनि गलत नै गर्नुपर्छ भन्ने हुँदैन । अझ कुटनीतिमा त सालिनताको ठूलो महत्व हुन्छ । भारतकै कुरा गर्दा, यतिबेला त्यहाँ भारतीय जनता पार्टीको सरकार छ । भारतीय जनता पार्टीसँग राम र अयोध्या यसरी जोडिएको छ कि, राम र अयोध्यामाथिको सानो टिप्पणीलाइ पनि उसले स्वीकार्दैन । अयोध्यामा राममन्दिर निर्माण गर्न कस्सिएको भाजपालाई राम नेपालमा जन्मेको अभिव्यक्तिले झस्काउनु अस्वभाविक थिएन । भयो पनि त्यही, नेपाल र प्रधानमन्त्रीको अभिव्यक्तिको चर्को आलोचना हुन थालेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकाल्नुप¥यो । प्रधानमन्त्रीजस्तो व्यक्तिको अभिव्यक्ति दुई दिन टिक्न सकेन । ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ’ कांग्रेसले प्रश्न गरेको छ, ‘देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’ भन्दै प्रधानमन्त्री चुकेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले नैतिकतामाथि नै प्रश्न उठाएको छ । समग्रमा हाम्रा प्रधानमन्त्री चुकेका छन् ।
प्रधानमन्त्रीका अभिव्यक्तिहरु यसअघि विवादमा नपरेका हैनन् । आफै सर्वज्ञाता ठानेर दिइएका यसअघिका अभिव्यक्तिलाई नागरिकहरुले पचाएका थिए । तर, दुई देशबीचको सम्बन्धमै आँच आउने र गम्भीर कुटनीतिक संकट निम्त्याउन सक्ने विषयमा प्रधानमन्त्री जिम्मेवार बन्न सकेनन् । प्रधानमन्त्री भनेको देशका कार्यकारी पद हो । त्यहाँबाट आउने अभिव्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्छ । पदीय दायित्ववोध बिना दिइने अभिव्यक्तिले प्रधानमन्त्री स्वयंको मात्रै हैन राष्ट्रकै कद घटाउँछ । हो, राष्ट्रियताको विषयमा कसैसँग झुक्नु हुँदैन । प्रधानमन्त्रीले राष्ट्रियताको सवालमा लिएको अडानमा नेपालीले साथ दिएकै छन् । तर,राष्ट्रवादी बन्ने नाउँमा मर्यादा बिर्सेर दिइने अभिव्यक्ति घातक हुन्छ भन्ने कुराको सधैँ हेक्का राखिनुपर्छ । यस मानेमा प्रधानमन्त्री स्वयंले आफ्नो बोलीमा लगाम लगाउनुपर्छ ।

