बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेकपाभित्रको विवाद र यसका प्रभावहरु

नेकपाभित्रको विवाद र यसका प्रभावहरु


  • Dhorpatan News
  • साउन १४ २०७७, बुधबार

कोरोना र बाढीपहिरोका कारण देश संकटमा छ । लकडाउन खुले पनि कोरोना संक्रमण घटेको छैन । कोरोना समुदायमा बिस्तार हुने खतरा बढेर गएको छ । गण्डकीकै स्याङ्जा जिल्लामा डरलाग्दो गरि फैलिएको संक्रमणले दिएको संकेत डरलाग्दो छ । अर्कोतर्फ, बाढीपहिरोले सिंगो गण्डकी नराम्ररी प्रभावित बनेको छ । जनधनको क्षति हुने उपक्रम रोकिएको छैन । बस्तीहरु असुरक्षित भएका छन् । असुरक्षित बस्तीहरुलाई स्थान्तरण गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर हुन सकेको छैन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोका कारण मूल मुद्दाहरु ओझेल परेका छन् । नेताहरुको ध्यान पार्टीकै किचलोमा केन्द्रीत भएको छ । पार्टी नै फुट्ने हो कि भन्ने आशंका र चिन्ताले कार्यकर्ताहरु चिन्तित बनेका छन् ।
अहिले नेकपाभित्र देखिएको विवाद विधि र प्रक्रियाको लागि कि पदको लागि भन्नेमा द्धिविधा छ । दुई फरक पृष्ठभूमिबाट आएका पार्टीहरु मिलेर बनेको विशाल नेकपाका २ जना अध्यक्ष छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा रहेका छन् । विद्रोहको पृष्ठभूमिबाट आएका अर्का अध्यक्ष प्रचण्डपक्षीय नेताहरु प्रधानमन्त्रीको रुपमा ओलीले व्यक्तिवादी चरित्र प्रदर्शन गरेको गुनासो गरिरहेका छन् । ओली चाहिँ आफूलाई काम गर्न नदिइएको र पार्टीभित्रैबाट असहयोग भएको अडानमा छन् । उनी प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्न तयार छैनन् र आवश्यक परे पार्टी नै फुटाउनेसम्मको तयारीमा छन् । पार्टी फुटाउन मिल्ने गरि अध्यादेश ल्याएर, आफू निकटका व्यक्तिहरुलाई एमाले भन्ने पार्टी दर्ता गर्न लगाएर उनले प्रचण्ड, माधव नेपाल र झलनाथ खनालमाथि दवाव बढाएका छन् । स्थायी कमिटीको बैठक स्थगित गरिदिएर उनले संकटलाई अझ गहि¥याउने काम गरेका छन् । उता, असन्तुष्टहरुले ओलीको कदम अवैधानिक भएको जिकिर गरेका छन् । पार्टी संकटमा छ । संकटबाट बाहिर ल्याउने मध्यमार्गी उपायहरुको खोजी भइरहे पनि तत्काल विवाद टुंगिन्छ भन्नेमा दुबै पक्ष विश्वस्त छैनन् । खासगरि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अडानले सहमतिलाई पर धकेलेको छ ।
बलियो लोकतन्त्रका लागि दलहरु बलियो बन्नुपर्छ । देशलाई सही दिशा दिने दायित्व राजनीतिक दलहरुकै हो । राजनीतिक दलहरुभित्र व्यक्ति/व्यक्तिबीच प्रतिष्पर्धा हुन्छ, वैचारिक बहसहरु हुन्छन् । आफ्नो विचारलाई प्रमाणित गरेकै आधारमा नेता वास्तविक नेता बन्छन् । यो उपक्रम चलिरहन्छ । आफूलाई प्रमाणित गर्नु वा शक्तिशाली बन्न खोज्नु अस्वभाविक हुनै सक्दैन । तर, विवाद विचारमा नभई पद र प्रतिष्ठाका लागि गरियो भने त्यसले समस्या निम्त्याउँछ/निम्तिएको छ । विवादलाई निरुपण गर्न नसक्दा त्यसले नेकपाको मात्र नभएर देशकै लागि दुर्भाग्यपूर्ण बनेको छ । नेपालका ठूला राजनीतिक दलहरुले विभिन्न कालखण्डमा विभाजनको पीडा भोगेका छन् । विभाजन कसैको लागि पनि हितकर हुँदैन । विभाजनले व्यक्तिको महत्वकांक्षा पूरा गर्ला तर लोकतन्त्रलाई कमजोर बनाउँछ । लोकतन्त्र कमजोर हुँदा र अस्थिरता बढ्दा जनतामा निराशा छाउँछ । देश पछि पर्छ । अत, संकटको बेला नेताहरुले वुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्छ । त्याग गर्नेहरु महान हुन्छन् । त्याग गर्नको लागि सबै तयार हुने हो भने समस्याको निकास निस्कछ । पार्टीभित्रको समस्या समाधान भए त्यसले देशलाई पनि फाइदा पुग्छ । सरकार जनताका आवश्यकता संवोधनतर्फ लाग्न पाउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->