बागलुङ, २१ साउन– वर्षात्को समयमा लक्षित वर्गलाई दुख दिनेगरी समय तोकेर सामाजिक सुरक्षाभत्ता बाँडेको भन्दै जिल्लाको निसीखोला गाउँपालिका वडा नं. ७ राजकुतको वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ताला लगाएको छ । वडा कार्यालयले मनोमानी ढंगले दुई दिनको समय तोकेर सामाजिक सुरक्षाभत्ता बाँडेको नेकपाले आरोप लगाएको छ ।
वर्षाको समयमा सडक सुविधा नभएको, खोलानाला बढेको लगायतका समस्या हुँदा–हुँदै वृद्ध, असक्त र अपांगहरुको बाध्यता नहेरी समय तोकिएको नेकपाको आरोप छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेकपाले वडा कार्यालयमा तालाबन्दी गरेको उल्लेख गरेको छ ।
नेकपा राजकुतद्वारा जारी विज्ञप्तीमा ढोरपाटन नगरपालिकास्थित प्रभु बैंक र आफ्नो निजी घरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको उल्लेख छ । निसीखोला गाउँपालिकाका अन्य वडाहरुमा वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको भएपनि राजकुतले भने बुर्तिवाङ बोलाएर भत्ता वितरण गरेकोले वृद्धवृद्धा र अपांगहरुलाई दुःख भएको उनीहरुले बताएका छन् ।
यता, वडा कार्यालयले भने बुर्तिबाङस्थित प्रभु बैंकको शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण भएको जनाएको छ । ‘अरु बेला आँफैले बैंकका कर्मचारी गाउँ पु¥याएर भत्ता वितरण हुन्थ्यो’ वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले भने ‘वर्षा र कोरोनाका कारण बैंकका कर्मचारी गाउँ जान मानेनन् त्यसैले शाखाबाट लिन भनिएको हो ।’
अराजक बनेर नेकपाका कार्यकर्ताले कार्यालयमा ताला लगाएको उनले आरोप लगाए । वडामा सचिव नभएको र आँफैले भत्ता लिएर बाँड्न नमिल्ने भएकाले बैंकमै पुगेर भत्ता लिन आग्रह गरिएको उनको भनाई छ । निसीखोलामा रहेको प्रभू बैंकको शाखाभन्दा दुरीका हिसावले बुर्तिबाङ शाखा नजिक पर्छ । सामाजिक सुरक्षा भत्ता लिनका लागि अपांग तथा वृद्धवृद्धाहरुलाई स्थानीयले बोकेर बुर्तिबाङ ल्याएका थिए ।





