म्याग्दी र पर्वत अस्पतालमा निःशुल्क डायलासिस सेवा सुरु गरिएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ती अस्पताल पुगेर सेवा सुरु गराए । सरुवा र संक्रामक रोगले भन्दा अन्य रोगका कारण मृत्यु हुनेको संख्या ठूलो रहेको छ । पछिल्लो समय नेपालमा मृगौला रोग डरलाग्दो समस्याको रुपमा अगाडि आएको छ । महंगो उपचार पद्दतिका कारण पनि यो रोग लागेपछि मान्छेमा निराशा उत्पन्न हुने गरेको छ । भनेको बेला र ठाउँमा डायलासिस सेवा नपाउँदा समस्या झन विकराल हुने गरेको छ । सरकारले डायलासिस निःशुल्क भने पनि कार्यान्वन पक्ष फितलो भएकाले सर्वसाधारण सुविधाबाट बञ्चित हुने गरेका छन् । गण्डकीका २ अस्पतालमा डायलासिस सेवा सुरु भएसँगै मृगौलाका रोगीहरुले अब जिल्लामै सो सेवा पाउने भएका छन् । डायलासिस गर्न पोखरा वा अन्य सहर धाउनुपर्ने बाध्यता अन्त्य हुने आशा पलाएको छ ।
प्रदेश सरकारले डायलासिसको लागि जनशक्तिको व्यवस्थापन गरिदिएको छ । मुख्यमन्त्री गुरुङले अब यो वा त्यो बहानामा सेवाग्राही अलमल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने निर्देशन दिएका छन् । उनले गण्डकी प्रदेश मातहतका अस्पतालहरुलाई राष्ट्रिय मापदण्ड अनुसारको बनाइने प्रतिवद्धता पनि जनाएका छन् । भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै अन्य अस्पतालहरुको पनि स्तरोन्नति गरिने उनको उद्घोष रहेको छ । गण्डकी प्रदेश सरकारले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्व प्रदेशलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग राखेको थियो । तर, त्यो अझसम्म सम्भव भएको छैन । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना गर्दै मेडिकल साइन्सको पढाई सुरु गर्ने निर्णयमा अस्पताल हस्तान्तरण नहुनु नै प्रमुख कारण थियो । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई हस्तान्तरण गरिएका स्वास्थ्य संस्थाहरु सवल बनाउँदै लगिएको र अझ गर्नुपर्ने काम धेरै भएको स्वीकारेका छन् । प्रदेश सरकारले दुई अस्पतालमा डायलासिस सेवा सुरु गरेसँगै सरकारले चाहे छोटो समयमा धेरै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण पेश गरेको छ । त्यसो त, चैत १५ गते बागलुङमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आइसीयू बेड राख्ने काम पनि सरकारले युद्धस्तरमा सम्पन्न गरेकै थियो । आधारभूत स्वास्थ्य सुविधा जनताको नैसर्गिक अधिकार हो । संविधान प्रदत्त यो सुविधा दिने मामिलामा सरकार जिम्मेवार बन्नुपर्छ । जनताले आधारभूत स्वास्थ्य सुविधा घरदैलोमै पाउनुपर्छ ।
देश कोरोनाले संन्त्रस्त छ । नेपालमै कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । मृत्यु हुनेहरुमा दीर्घरोगीहरु बढी रहेका छन् । संक्रमण समुदायस्तरमा फैलिँदा यसअघि नै विभिन्न रोगसँग लडिरहेकाहरुले दीर्घरोगीहरु थप सचेत बन्नुपर्ने देखिएको छ । देश कोरोनासँग जुधिरहँदा मृगौला, मधुमेह,उच्च रक्तचापलगायतका बिरामीहरुको उपचारमा समस्या देखिएको छ । मानिसहरु अस्पताल जान डराइरहेको अवस्था छ भने अस्पतालले नियमित सेवाहरुमा कटौति गरिरहेका छन् । यसले दीर्घरोगी तथा सेवाग्राहीहरुलाई थप समस्यामा पारेको छ । नेपालको स्वास्थ्य सेवा कुन अवस्थामा रहेछ भन्ने कोरोनाले प्रमाणित गरिदियो । नेपालको स्वास्थ्य क्षेत्रको अस्तव्यस्तताबारे यसअघि आवाज नउठेका हैनन् । तर, ती आवाजहरुतर्फ कसैले ध्यान दिएन । ढिला भइसकेको छ । मुख्यमन्त्रीले भनेजस्तै स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै बाँकी छन् । सरकारी सेवा भरपर्दो र सर्वसुलभ बनाउने दायित्ववोध मात्रै हुने हो भने यो क्षेत्रका आधा समस्या समाधान हुन्छन् । प्रदेश सरकारले अहिले जे गरेको छ, त्यो आफैमा सह्रानीय छ । अब यो अभियानलाई अझ तेज बनाइनुपर्छ ।

