बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

थप जिम्मेवारी बोध गरेका छौं

थप जिम्मेवारी बोध गरेका छौं


  • Dhorpatan News
  • भाद्र १ २०७७, सोमबार

‘ढोरपाटन दैनिक’ आजबाट १८औं वर्षमा प्रवेश गरेर आफ्नो परिपक्वता देखाएको छ । मानिसको जीवनचक्रमा बुढ्यौलीले उर्जा क्षीण गराउँछ, अपितु अनुभव बढाउँछ । पत्रकारिताको हकमा भने ठीक उल्टो हुन्छ । उमेर बढ्दा अनुभवसँगै विश्वास, जाँगर, दायित्व थप बढ्दो हुँदो रहेछ । वर्ष छिप्पिदंै गर्दा यही जिम्मेवारीबोधले हामीलाई बागलुङबाट पोखरा डोहो¥याएको थियो । बागलुङ र पोखराबाट एकसाथ पत्रिका प्रकाशन, हाम्रो लहड थिएन । संघीयता कार्यान्व्यनमा गच्छेनुसार योगदानको दायित्वबोध थियो । पखेटा फिजाउँदै गर्दा ः
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।
भन्नेमा हामी स्पष्ट थियौं÷छौं । अपितु, आवाज विहीनहरुको आवाज मुखरित गर्न, सत्य, न्यायका पक्षमा उभिन, समानतासँगै संघीयतालाई स्थापित गराउने दिशामा हामी निरन्तर लागिरह्यौं ।
राजनीतिक दृष्टिले संघीयता स्थापित भएको छ । बाँकी छ त, आर्थिक संघीयता कार्यान्वनयको पाटो । यसका लागि वैश्विक युगमा आफूले आफ्नै सामथ्र्यको पहिचान गर्नुपर्छ भन्ने मान्यतामा हामी रह्यौं । यही मान्यतालाई स्थापित गर्न अतः १८औं वार्षिकोत्सवमा हामीले गण्डकीले गर्व गर्नलायक विषयहरुलाई समेटेर ‘गर्विलो गण्डकी’ विशेषाङ्क यहाँसमक्ष सुम्पेका छौं ।
बजार खोज्न ब्राण्डिङ्ग जरुरी छ र आफ्नो ब्राण्डको पहिचान तथा प्रचार गरिनुपर्छ भन्ने उद्देश्यसहित यो जमर्को गरिएको हो । विशेषाङ्कले विषयको उठान गरेको छ, पूर्णता पच्छ्याएको छैन । पूर्णताको लागि हामी सरोकारवाला निकायलाई आग्रह गर्दै सहकार्यको प्रतिवद्धता व्यक्त गर्दछौं ।
आधुनिक कालखण्डमा जे–जस्ता उपमा दिइए पनि ‘नारदीय’ कर्म हो, पत्रकारिता । पत्रकारिताले प्रथमत्ः सूचना पस्कन्छ, विष्लेशण गर्छ र आफूलाई सत्य, न्यायका पक्षमा उभ्याउँछ । ढोरपाटनले आफ्नो १८ वर्षे यात्रामा शाश्वसतालाई कहिल्यै बिर्सेन÷बिर्सने छैन । विश्वसँगै सिंगो देश कोरोनाको कहरले ग्रस्त हुँदा त्यही जिम्मेवारीबोधले हामीलाई निरन्तर पत्रिका प्रकाशन गर्ने उर्जा प्रदान ग¥यो । त्रासदीले किच्दा भलै हामीले आफ्नै ‘डिजिटल प्लेटफर्म’ प्रयोग गर्दै सूचना पस्क्यौं, अपितु जिम्मेवारीबाट बिमुख भएनौं । यसो भनिरहँदा ‘ढोरपाटन दैनिक’ आफ्नै परिवारप्रति गर्व गर्छ ।
त्रिवेणीदेखि कोरलासम्म ! मनकामनादेखि ढोरपाटनसम्म !!
अन्नपूर्णदेखि धौलागिरीसम्म र कालीगण्डकीदेखि बुढीगण्डकीसम्म !!
भन्ने उद्घोषसहितको हाम्रो यात्रा अविचलित छ । १८औं वर्ष प्रवेशको अवसरमा हामी समस्त पाठक, लेखक, विज्ञापनदाता तथा शुभेच्छुकहरुमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौं । सहयोग र शुभेच्छा आगामी दिनमा पनि अपेक्षित छ नै । हामी आगामी यात्रामा थप सृजनशील, जिम्मेवार र सूचनाको विश्वासिलो सारथी बन्ने प्रण गर्दछौं । धन्यवाद !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->