नेपालमा कोरोना प्रवेश गरेको पहिलो चरणमै प्रभावित भएको हो गण्डकी प्रदेश । गत चैतको १५ गते पहिलो संक्रमित बागलुङमा देखिएपछि सुरु भयो गण्डकीमा कोरोनाका बिरामीको गणना । बिषेशगरी भारत र तेस्रो मुलुकबाट आउनेमा देखिएको यो संक्रमण अहिले समुदायस्तरमा देखा पर्न थालेको छ । गण्डकीका ११ जिल्लामध्ये कुनैपनि जिल्ला कोरोनाका संक्रमित नभएको जिल्ला बन्न सकेनन् । यद्यपी पछिल्लो समय केही जिल्लामा सक्रिय संक्रमित भने छैनन् । समुदायमा कोरोना संक्रमण फैलिएको पहिलो जिल्ला हो स्याङ्जा । जहाँ दुई जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्भने कयौं मान्छे संक्रमणलाई जितेर घर फर्किएका छन् । अहिले स्याङ्जामा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । तनहुँ, पोखरा र बागलुङमा समुदायमा संक्रमण बढ्दो छ ।
झण्डै चार महिना लामो लकडाउन आर्थिक गतिविधि कम हुँदा परेको प्रभावको मुल्यांकन गर्दै सरकारले खुकुलो बनायो । लकडाउन खुकुलो भएकै दिनदेखि ओरालो लागेको संक्रमितको ग्राफ उकालो लागेको छ । देशभरको जस्तै गण्डकी प्रदेशमा पनि ग्राफ बढेकै छ । पहिलो संक्रमित देखिएको बागलुङमा सुरुवाती अवस्थामा जुन खालको सावधानी अपनाईयो त्यो खालको सावधानी पछिल्लो समय छैन । असावधानीकै एउटा उदाहरण हो चार महिना पहिलादेखि कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा चार महिना पछि संक्रमण हुन् । सावधानी अपनाउँदा अपनाउँदै संक्रमण सर्ने भएको भए चार महिना पहिला बागलुङ कोरोनाको उद्गम स्थल बन्थ्यो । तर त्यतिबेलाको साबधानीले बागलुङलाई उद्गमस्थल बनाउनबाट जोगायो तर त्यहिँ सावधानी पछिल्लो समय नहुनुका कारण समुदायमा कोरोना पुगेको तथ्यहरुले जनाउँछन् । सरकारले स्वास्थ्य मापदण्ड बनाएको छ । जसको पूर्ण पालना गर्दा लकडाउन नगर्दासमेत जोखिम धेरै कम गर्न सकिन्छ । हामीले लकडाउन खुल्यो भनेर जुन सावधानीको सिमा नाघेका छौं, त्यो हाम्रा लागि घातक बन्ने निश्चित भैसकेको छ ।
लकडाउनपछि पर्यटकीय क्षेत्रमा बढेको चहलपहल, बजारक्षेत्रमा बढेको चहलपहल र बिनाकाम भैरकेको चिया पसल र चौतारीको गफगाफ हाम्रा लागि दुर्भाग्य बन्दैछन् । सरकारले आँफैले बनाएको स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ध्यान नदिने र नागरिकले सरकारले गरेको अनुरोधको बेवास्ता गर्दा कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ । अहिलेको परिस्थितीमा लकडाउन वा निशेधाज्ञाले समेत जनजिवन सहज बन्दैन् । कठिन घडीमा राज्यले नागरिक र नागरिकले राज्यलाई सहयोग गर्नुपर्छ । चाडपर्व नजिकिँदै छन् । पर्वका बहानामा हुने आवतजावतले कोरोनाको जोखिमलाई एक ठाउँबाट अर्को ठाउँमा सारिरहेको छ । पछिल्लो पटक जाँचमा भैरहेको द्रुततालाई समुदायस्तरमा पु¥याउने, समुदायलाई सजग र सचेत बनाउने तथा पहुँचवालाभन्दा तल झरेर आम नागरिकको परीक्षणमा समेत ध्यान पु¥याउनुपर्ने बेला आएको छ । सिमित स्रोत साधनबीच भैरहेको कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउने, क्वारेन्टाईनको व्यवस्थापन तथा आईसोलेसनको व्यवस्थापन चुस्त बनाउने काम समेत थाल्नु पर्छ । पछिल्लो पटक गण्डकी प्रदेशको पोखरा र बागलुङमा सामुदायमा देखिएको संक्रमणको स्रोत नभेटिनुले जोखिमको सिमा नाघेको प्रष्ट पारेको छ । त्यसैले सबै सजग र सचेत बनौं । हुनसक्ने जतिको कडाई गर्न अब तीनै तहका सरकार चुक्नुहुँदैन ।

