बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विज्ञका कुरा सुनौं

विज्ञका कुरा सुनौं


  • Dhorpatan News
  • भाद्र १६ २०७७, मंगलबार

कोरोनाले मान्छेलाई गाँज्न छाडेको छैन । संक्रमण रोकथाममा सफलता पाएका देशहरुमा संक्रमण पुनः बल्झेका उदाहरण पनि हामीसँगै छन् । आधुनिक विश्वमा सबैभन्दा धेरै हलचल मच्चाएको र मान्छेलाई संक्रमित बनाएको यो भाइरसबारे अनेकौं अनुसन्धान भएका छन् तर निक्र्योल निस्केको छैन । सत्य हो, कोरोनाको भ्याक्सिन र ओखती बनेको छैन । संक्रमितबाट टाढै बस्ने, सन्तुलित भोजन गर्ने, आत्मबल दह्रो बनाउनेहरुले संक्रमण हुनबाट बँचेका छन् । जो संक्रमित भएका छन्, उनीहरुले पनि आत्मबलकै सहाराले रोगमाथि विजय पाएका छन् । अर्को कुनै रोगसँग जुधिरहेकाहरु कोरोनाको पहिलो शिकार बन्ने गरेको पाइएको छ । यस्तो अवस्थामा पहिले संक्रमणबाट बँच्नु, दोस्रो संक्रमित भइहाले आत्मबल दह्रो बनाउनु र सन्तुलित आहारविहारको बलमा स्वस्थ बन्नु नै अहिलेको उपाय हो । पछिल्लो समय नेपाल र विश्वभर कोरोनाविरुद्ध वैकल्पिक चिकित्सा पद्दति प्रयोग गरिएको छ । नेपालमा त बेसार–पानी खाने, आयुर्वेदिक ओखती प्रयोग गर्ने प्रचलन ह्वात्तै बढेको छ । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक नेपालीले परम्परागत रुपले प्रयोगमा ल्याउने बेसारलगायतका मसलामा रोग प्रतिरोधात्मक शक्ति भएको बताएपछि आम नगारिकले त्यसलाई पत्याउनु अन्यथा होइन । हामीले दैनन्दिन जीवनमा प्रयोग गर्ने यस्ता मसलाहरुमा रोग प्रतिरोधात्मक शक्ति नभएको पक्कै हैन ।आयुर्वेदले बेसारलगायतका जडिबुटी सदिर्यौंदेखि ओखतीको रुपमा प्रयोगमा ल्याएको पनि सत्य नै हो । तर, यसो भनिरहँदा आधुनिक चिकित्सा शास्त्रले बेसारमै भर परेर संक्रमणबाट मुक्ति पाइन्छ भन्ने स्वीकारेको छैन । कसैको कुनै बस्तुप्रति विश्वास हुनु एउटा कुरा हो, प्रामाणिकता अर्को पक्ष हो । प्रमाणित नभएका विषयबारे बढी बहस हुँदा मानिसहरु बहकिने सम्भावना प्रच्ुर हुन्छ । मानिस बहकिए भने समुदायमा फैलिएको कोरोनाले सोचेभन्दा ठूलो विपत्ति निम्त्याउन सक्छ । त्यसलै यस्तो बेला आधिकारिक व्यक्तिबाट प्रामाणिक कुराहरु मात्र बाहिर आउनुपर्छ । कसैको आत्मबल बढाउन सहायक हुन्छ भन्दैमा अप्रमाणित कुराहरु बोलेर विज्ञहरुको अपमान गरिनु हुँदैन । आधुनिक चिकित्सा पद्दतिलाई कसैले लहडको भरमा चुनौति दिन सक्ला तर त्यो सही हुन सक्दैन । अतः यस्तो बेला आम नागरिकले विज्ञहरुको कुरा सुन्नु उपयुक्त हुन्छ ।
संक्रामक रोगबारे नेपाली अनुसन्धान फितलो छ । भनौं अनुसन्धानको क्षेत्रमा हाम्रो राज्यले लगानी गरेकै छैन । संक्रमण रोगबारे विशेषज्ञता हाँसिल गरेको जनशक्ति नै नेपालमा अभाव छ । जो छन्, उनीहरुले पनि खुलेर यो विषयमा जानकारी दिएको अवस्था छैन । विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्ध तयार पारेको प्रोटोकललाई पालना गर्नुहोस् भन्ने आह्वानले मात्र समुदायलाई सचेत बनाउन सकिँदैन । यसको लागि विज्ञहरुले मुख खोल्नुपर्छ । राजनीतिक नेतृत्वबाट आउने अभिव्यक्तिहरु सही छैनन् भन्ने हिम्मत गर्नुपर्छ । जिवाणु वैज्ञानिक तथा संक्रामक रोग विशेषज्ञ डाक्टर सुदीप खड्काकै विचार सुन्ने हो भने पनि तातोपानी खाएर कोरोनाबाट मुक्ति सम्भव छैन । अमेरिकामा बसेका युवा डाक्टर सुदीप त्यही व्यक्ति हुन्, जसले इबोला रोगविरुद्ध भ्याक्सिन बनाउने काम गरेका थिए । उनले भनेका कुुरा आधिकारिक र विश्व स्वास्थ्य संगठनले स्वीकारेको छ । उनका अनुसार लक्षण नदेखिएका विरामीहरु आइसीयू वा भेण्टिलेटरको उपचार बिना नै निको हुन्छन् । लक्षण देखिएका बिरामीको हकमा तातोपानी वा बेसारको प्रयोग मात्रैले रोग निको हुँदैन । यसले जोखिम बढाउँछ । एक तिहाई संक्रमितमा कोरोनाको लक्षण नै नदेखिने हुनाले पनि सचेतता अपनाउनुपर्ने उनको सुझावलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । कोरोनाको भ्याक्सिन नबनेको र नेपालमा भेण्टिलेटर र आइसीयूको पर्याप्तता नभएको बेला विज्ञको विचारको अनुशरण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->