बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाँध प्रकरणमा महानगर बोलोस्

बाँध प्रकरणमा महानगर बोलोस्


  • Dhorpatan News
  • भाद्र १८ २०७७, बिहिबार

पोखरा महानगरपालिकाको २३ र २४ मा पर्ने अँधेरी खोलामा निर्माण सम्पन्न भएको करिब २ महिनामै बाँध बगेको छ । सोमबार राति आएको बाढीले फेवाताल संरक्षणको लागि भन्दै बनाइएको बाँध मात्रै भत्काएन, छेउमा सरकारी अनुदान र किसानको श्रमदानमा गरिएको चक्लाबन्दी खेतीलाई पनि असर पु¥यायो । जेठोबुढोको पकेट क्षेत्र बनाउने उद्देश्यले गरिएको सो चक्लाबन्दी अहिले बगरमा परिणत भएको छ । बर्खा अझै बाँकी छ । खोलाले धार परिवर्तन गर्दै बस्ती ताकेको छ । जुनसुकै बेला पनि बस्तीमा खोला पसेर मानवीय क्षति गर्ने सम्भावनाका बीच किसानहरु गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गुहारिरहेका छन् । उनीहरुले सिल्टे«सन ड्याम निर्माणमा अनियमितता भएको तथा स्थानीयको आवश्यकता र खोलाको प्रकृति नबुझेर बाँध बनाउँदा क्षति भएको आरोप लगाएका छन् । फेवाताल संरक्षणको लागि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा अँधेरी खोलामा ड्याम बनाइएको हो । २८ करोड १६ लाख रुपैयाँ लागतमा पहिलो चरणमा अन्य ४ सहित अँधेरीकुनामा ९ करोड ६ लाख ४ हजारमा ड्याम बनाउन टेण्डर आह्वान भयो । नक्सांकन सरकारी इञ्जिनियरबाटै भयो ।
नक्सांकन हुँदैमा स्थानीयले नदी साँघुरो बनाएर, भएको पुरानो पर्खाल भत्काउँदा खोला खेत र बस्तीमा पस्ने जिकिर गरे । तर, इञ्जिनियरहरुले सुनेनन् । उनीहरु अँधेरी खोलासहितका अन्य ४ वटा बाँधमा जम्मा हुने नदीजन्य पदार्थहरु बेचेर एक वर्षमै लगानी उठाउने सोचमा देखिए । ठेकेदारहरुले समयभन्दा अगाडि नै निर्माण सके । निर्माणको क्रममा कमसल कच्चा पदार्थ हालिएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले नै बिरोध जनाए । तर, जनताको कुरा कसले सुनोस् ? जनताको मात्रै हैन, ड्याम भरिन लागेकोले त्यहाँ जम्मा भएको गिट्टी, बालुवा र ढुंगा निकाल्नुपर्छ भन्दै प्रदेशसभा सदस्य राजीव पहारीले गण्डकी प्रदेशसभामा उठाएको माग पनि पूरा भएन । कमजोर संरचनाको ड्याम भरियो । लेदोसहितको बाढी आउँदा त्यसले धानेन, खोला बस्ती पस्यो, ड्याम बगायो । ड्यामसँगै राज्यको लगानी पनि खोलामा बग्यो । त्यो क्षेत्रका जनताहरु त्रस्त छन् । उनीहरु राहत र पुनर्निर्माण चाहन्छन् । ड्याम गुणस्तरीय र आफूहरुले भनेजस्तो हुनुपर्ने उनीहरुको माग छ । पोखरा महानगरपालिकामेयर भने निर्माण कम्पनीसँग त्यसको क्षति असुलउपर गराउने सुरुमा छन् । तर, मेयरले भनेजस्तो ठेकेदार कम्पनीबाट रकम असुल हुन्छ र फेरि गुणस्तरीय काम हुन्छ भन्ने कसैलाई पनि विश्वास छैन । झन, स्थानीयले त पत्याउने कुरै भएन ।
एउटा ड्याम बगेसँगै बेतयानीमा ५ करोड ४६ लाख ५८ हजारमा दुई, घाँटीछिनामा ७ करोड ८८ लाख ६२ हजारमा एक, लौरुकमा ५ करोड ७४ लाख ८४ हजारमा बनेका परियोजना पनि अहिले धरापमा छन् । निर्माणको चरणमा भएका गतिविधिहरुलाई बिर्सने हो भने पनि महागनरले आफैले बनाएको योजना अनुसार ड्यामबाट बालुवा र ढुंगा झिक्नुपथ्र्यो । तर, आम्दानी गर्ने भनिएको ठाउँमा न बोलपत्र आह्वान गरियो, न महागनरले नै त्यहाँबाट बालुवा निकाल्यो । यो सोझै जनताको जीवनमाथिको खेलवाड र चरम लापरवाही हो । सुशासनाम चुकेको महानगरले दैनन्दिन कार्य पनि संचालन गर्न सक्दैन भन्ने गतिलो उदाहरण पनि यो हो । बिग्रने बिग्रिसकेको छ । अब बचाउनेतर्फ महागनरले सोचोस् । बालीनाली गुमाएका किसानलाई क्षतिपूर्ति देओस् । उनीहरुको सुरक्षाको प्रत्याभूति गरोस् अनि के कारण र कसको दोषले गर्दा राज्यकोष दुरुपयोग भन्ने कुरा जनतासामु सार्वजनिक गरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->