पोखरामा मृत्युपछि एक महिलामा कोरोना संक्रमण पुष्टि भयो । शुक्रबार मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट आउँदासम्म दाहसंस्कार भइसकेको थियो । यहाँको निजी अस्पतालमा उपचाररत ती महिलाको मृत्युपछि अस्पतालले शव आफन्तलाई जिम्मा लगायो । क्यान्सरबाहेक अरु रोग नरहेको जिकिर ग¥यो । पीसीआर परीक्षण रिपोर्ट कुर्ने धैर्यता देखाएन । दाहसंस्कारमा सयौं व्यक्ति सामेल भए । ज्यूँदाको जन्ती र मर्दाको मलामी हुने संस्कार अनुसार दाहसंस्कारमा सहभागिहरु अहिले त्राहिमाम छन् । उनीहरु सेल्फ आइसोलेसनमा बसेका छन् । यो घटनाले अन्येष्टिमा सहभागि भएकै कारण उनीहरु संक्रमित भए भने त्यसको जिम्मेवारी कसले लिने भन्ने बहस सृजना गरेको छ । महिलाले अन्तिम सास लिएको फिस्टेल अस्पतालले रिपोर्ट आउनै समय लाग्ने गरेकाले शव व्यवस्थान गर्न नसकेर आफन्तको जिम्मा लगाएको तर्क गरेको छ भने गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट किन नकुरेको भन्दै प्रश्न उठाएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशले यही प्रकरणलाई लिएर अस्पतालमाथि कारवाही गर्न सकिने आशय पनि व्यक्त गरेको छ ।
मृत्यु आफैमा पीडादायी हुन्छ । आफन्तको मृत्युमा समवेदना र सहयोग खोज्नु अस्वभाविक हैन । तर, कोरोना कहरका कारण आफन्तको मृत्यु पनि डरलाग्दो बन्दै गएको छ । आफ्नै मान्छेको मृत शरीर हेर्न नपाउने अवस्था आएको छ । धन्न, आफन्तले मृतकको अनुहार हेर्न पाए, दागबत्ती दिन पाए । तर, त्यही प्रकरण उनीहरुको र समुदायको लागि महंगो सावित हुने देखियो । अर्कोतर्फ, संकटको यस्तो बेला पीसीआर परीक्षणको लागि दिइएको स्वाबको रिपोर्ट किन कुरिएन भन्ने यक्षप्रश्न पेचिलो बन्न पुग्यो । अस्पतालले स्वाब परीक्षणको रिपोर्ट कुनैंपथ्र्यों । यो प्रकरणमा फिस्टेल चुकेकै हो । हजार तर्कले पनि शव जिम्मा लगाउने उसको निर्णयलाई वैधानिकता दिँदैन । स्वास्थ्य मन्त्रालयले तोेकेको मापदण्ड पूरा हुँदैन । यो प्रकरणले निजी अस्पतालहरुको सकेसम्म खतरा मोल्न नखोज्ने प्रवृत्तिको पुनरावृत्ति पनि गराएको छ । देशका विभिन्न ठाउँमा यस्तै प्रवृत्ति नदेखिएको हैन तर सभ्य मानिएको पोखरामा पनि यही हर्कत देखिनुले पोखरालाई लज्जित बनाएको छ ।
जे नहुनु थियो, त्यो भएको छ । अब जुन अस्पतालले रिपोर्ट कुर्ने धैर्यता देखाएन, उसले पनि आफ्नो गल्ती स्वीकार्दै आइन्दा यस्तो काम नगर्ने प्रतिवद्धता जनाउनु जरुरी छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूसँग भएको अधिकार प्रयोग गर्दै यस्ता घटना दोहोरिन नदिन कडा निर्देशन दिनुपर्ने देखिएको छ । समुदायमा कोरोना फैलिएको सबैले स्वीकारेको विषय हो । यो गाम्भीर्यतालाई बुझिएन भने झन ठूलो संकट निम्तन सक्ने एकातिर छ भने स्रोत र साधनको खर्च अर्कोतिर रहेको छ । अब मृत्यु संस्कारमा सहभागि भएकाहरुको तत्काल पीसीआर परीक्षण गरि समुदायलाई सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपछर्् । कम्तिमा यो घटनालाई सम्बन्धित पक्षले गम्भीरतापूर्वक लिनैपर्छ ।महामारीको बेला हुने हेलचक्रयाइँ क्षम्य हुनैसक्दैन ।

