बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सचेत बनौं, कोरोना छँदैछ

सचेत बनौं, कोरोना छँदैछ


  • Dhorpatan News
  • असोज ५ २०७७, सोमबार

कोरोना कहर हटेको छैन तर जनजीवन सामान्य अवस्थामा फर्कन लालायित भएको बढ्दो चहलपहलले पुष्टि गरेको छ । हवाई उडानहरु सुरु हुँदैछन् । सार्वजनिक यातायात संचालनमा आएका छन् । लामो समयको लकडाउन र निषेधाज्ञा नै कोरोनाबाट बच्ने अचुक हतियार हैन भन्ने सबैलाई महशुस भएको छ । सामाजिक दूरीको पूर्ण पालना, मास्कको उपयोग र साबुनपानीले हात धुनेजस्ता सुरक्षा उपायहरुबाट नै यो रोगलाई तह लगाउनुपर्ने निष्कर्ष निस्केको छ । यो स्वभाविक पनि हो । तर, यसो भनिरहँदासम्म कोभिड–१९ विरुद्धको खोप निस्केको छैन । परीक्षणले जगाएको आशा व्यवहारमा परिणत नभइञ्जेल ढुक्क मान्ने अवस्था छैन । संक्रमण र मृत्युदर भयावह नै छ । कोरोनाका कारण जसले आफन्त गुमाएका छन्, उनीहरुको पीडाप्रति सामान्य ध्यान दिने हो भने कोरोनाको भयावहता प्रष्ट हुने अवस्था छ । त्यसलै यहाँ गरिने सानो गल्तीको परिणाम ठूलो हुन्छ भन्ने समुदायले बुझ्नुपर्ने भएको छ ।
मुख्य कुरो, सार्वजनिक जीवन चयायमान भएसँगैका चुनौतिहरुलाई पन्छ्याउनु छ । सार्वजनिक यातायात संचालनमा बनाइएको मापदण्डलाई पूर्ण पालना गराउनु छ र त्यो मापदण्ड पालना गरेर नै अर्थतन्त्र लाई चलायमान बनाउनु छ । समय यसअघिकै जस्तो हुन्थ्यो भने यतिबेला नेपालीलाई दशैंले छोपेको हुन्थ्यो । धन्न, योपटक दशैं पछि परेको छ । दशैं नजिकिँदै गर्दा मनाउने जोहो गर्न नागरिकहरुको भागदौड बढेको छ । यसले सार्वजनिक यायातात र क्षेत्रमा भीडभाड बढाएको छ । यस्तो भीडभाडमा जाँदा धेरैले स्वास्थ्यप्रति लापरवाही गरेका दृष्टान्तहरु पेश भएका छन् । एउटा संक्रमितले गर्ने लापरवाहीको मूल्य महंगो हुन्छ । त्यसलै यहाँ स्वस्थ होस् वा अस्वस्थ व्यक्ति लापरवाही गर्ने छुट कसैलाई छैन । सार्वजनिक यातायात संचालनमा पनि त्यही नियम लागु हुन्छ ।
यो वा त्यो बहानामा तोकिएभन्दा बढी यात्रु चढाउने, सुरक्षामा लापरवाही गरिनु हुँदैन । सार्वजनिक यातायात खुलेका केही दिनमा लापरवाही बढेको गुनासो आएका छन् । लापरवाही गर्ने केही सवारीहरु कारवाहीमा परेका छन् । यो नियम मिचेर बहादुर हुने बेला हैन । जसरी पनि कमाउनु पर्छ भन्ने समय पनि अहिले छैन । लामो समय बन्द रहेको यातायात क्षेत्रलाई मर्यादित तवरले चलाउँदै जीवनलाई सामान्य अवस्थामा ल्याउने दायित्व यातायात व्यवसायीहरुको काँधमा पनि छ । अतः सार्वजनिक यातायात चलाउँदा बढी जिम्मेवार यातायात व्यवसायी स्वयं बन्नुपर्ने देखिएको छ । अर्कोतर्फ, जसरी पनि आफू जानुपर्छ भनेर बढी भीडभाड गर्ने, तोकिएका नियमहरु मिच्ने काम नागरिकस्तरबाट हुनु हुँदैन । मान्छेको जीवनको मूल्य ठूलो छ । लापरवाहीले निम्त्याउने खतरा मोल्ने ताकत व्यक्ति र राज्यसँग छैन भन्ने प्रमाणित भएको यो बेला हुलहुज्जत गर्ने, सुरक्षा मापदण्ड मिच्ने काम कहिँकतैबाट हुनुहुँदैन । संयमता नै अहिलेको पहिलो आवश्यकता हो । हैन भने, तंग्रिन लागेको जनजीवन पुनः विग्रहतिर जाने सम्भावना छ । अहिले लकडाउन र निषेधाज्ञा मात्रै हटेको हो, कोरोनाले मान्छेलाई पच्छ्याउन छाडेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->