सोचें झै जीन्दगी रैनछ ।
लकडाउन अर्थात् भाग्य डाउन ।
कल्ले सोच्याथ्यो र कोरोनाले विश्व आक्रान्त पार्ला भनेर । महिनौं घरभित्र गुम्सिएर बस्न कसलाई पो रहर हुँदो हो ? त्रासैत्रास माझ दिन गुजार्नु पछाडिको मनको पीडा स्वयंलाई बाहेक अरुलाई के थाहा ? बनाएका सेड्युलहरुमा विश्राम लागे, बेरोजगारी बेतोडले गति लिएर धावक उसियन बोल्ट झैं दौडियो । खिया लागेका छन् सटरका ताल्चाहरु, पार्किङमा राखेका बसमा घिरौलाका लहराहरु लहलाएका छन् । तर सँगै ओइलिएका छन् मनका लहराहरु । भोको पेट तातो पार्न हम्मे–हम्मे छ । महंगीले आकाश छोयो, तलब अनि ज्यालाले भुइँ । यता भ्रष्टचार मौलायो, उता सँगै मानवता ओइलायो । जनताका भान्सामा चामल, चुलोमा ग्यास छ÷छैन, अनविज्ञ थियो सरकार । बिना योजना बन्दाबन्दी घोषणा ग¥यो । लकडाउनभन्दा पनि भाग्य डाउन अर्थात् एल.यु.सि.की, लकडाउन ।
कोभिड १९, लकडाउन, आइसोलेसन, पिपिइ, पि.सि.आर, आर.डि.टि, स्यानिटाइजर, कन्ट्याक ट्रेसिङ, आदि । यी शब्दहरुले केही समय यता जनजिब्रोमा साम्राज्य जमायो । कोरोनासँगै मौलाएका आगन्तुक शब्दहरु हुन् यी । जति डर अनि त्रास नेपालमै पहिलो संक्रमित भेटिँदा आम मानिसमा थियो, त्यति डर अहिले आफ्नै छिमेकी संक्रमित हुँदा समेत छैन । कोरोना रोकथाम र यसको फैलावट रोक्न सरकार धेरै ठाउँमा चुकेकै हो । भ्रष्टचार अनि राजनैतिक खिचातानीमा लिप्त सरकारलाई कोरोनाले छोएन । भोका जनताको रोदनले झक्झकिएन सरकार । यहीँ मेसोमा कोरोना देशभर फैलियो । सरकारसँग हरेकपल्ट एउटै विकल्प रहन्छ, लकडाउन । अहिले त नियन्त्रणको दायरा बाहिर पुगिसकेको छ कोरोना ।
२०२० साँच्चै नै मेरा लागि विशेष वर्ष हुनेवाला थियो । धेरै थिए बुनेका योजनाहरुका लामबद्व लस्कर । मनमा छुट्टै उर्जा भरिएको थियो । कौतुहलता अनि रोचकताको मिश्रित हुटहुटी थियो मनमा । कारण नेपाल पर्यटन वर्ष २०२० । पर्यटन वर्षको रौनकता देशमा छाउन लागेको थियो । तामछामसहित सरकारले पर्यटन वर्ष उद्घाटन त ग¥यो, सँगै यता कोरोनाको पहिलोे संक्रमित नेपालमा भेटिए पश्चात कोरोनाले नेपालमा इन्ट्री मार्यो । अनि पर्यटन वर्षको लगाम रोकियो । यता कोरोना कहरले तीब्र गति लियो ।
घुम्नलाई सौखिन मान्छे म । विगतलाई फर्केर हेर्दा घुम्ने लत बहत्तर सालको भूकम्प पश्चात लागेको थियो । बैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु गरेर महाभुकम्प आयो । १३ गते हानिएका थियौं हामी गोरखा, म लगायत केही साथीहरु । राहत वितरण एवमं उद्धार कार्यका लागि । पहिलो चरणमा एक हप्ताको बसाइँ रह्यो । त्यसपछि भुकम्प क्षतिग्रस्त जिल्लाहरु नुवाकोट र सिन्धुपाल्चोकमा समेत पुगेँ ।
यस प्रलयले एक त म’मा मानवताको बिउँ बिजारोपण गरिदियो, अर्को घुम्ने अनि बुझ्ने लत । यस्तो दुखद परिस्थितिमा उद्धार, राहत वितरण कार्यमा खटिन पाउँदाको सुखानुभूति एकातिर थियो भने त्यहाँको भूगोल, जनजीवन, दुःख पीडाका कथाहरु बुझ्न पाउनु अर्को उपलब्धीको पाटो थियो । विस्तारै मेरा पैतलाहरु नयाँ ठाउँको माटो स्पर्शका लागि आतुर हुन थाले, यता मनमा भने नयाँ अनुभवहरु बटुल्ने हुटहुटी । महाभुकम्पमा ज्यान गुमाएकाहरुकै सम्झनामा २०७५ सालमा पोखरादेखि बारपाक एकल साइकलयात्रा तय गरेको थिए ।
करिब ५ वर्षको अन्तरालमा नेपालका पचासभन्दा बढी जिल्लाहरु पुगिसकेको थिए । कतै पैदलयात्रा त कतै साइकलमा । यात्राले धेरै सिकायो जीन्दगीमा । जति चार पर्खालको कक्षाकोठामा सिके, त्यसको कैयौं गुणा खुल्ला आकाशमा प्रकृतिमाझ घुमेर र बुझेर सिकें । यति भनिरहँदा यो पनि हो कि, त्यो बन्द कोठाभित्रको ज्ञानबिना अरु सिकाइ निरर्थक रहन्छन् । नेपाल केही हदसम्म बुझ्ने प्रयास गरें, केही अरुलाई समेत बुझाउने जमर्को गरें । साँच्चै नेपाल सुन्दर छ, लाग्यो घुमेका र पुगेको ठाउँहरुमा अरुलाई घुमाउन पाएँ ? अरुलाई बुझाउन पाएँ ? अनि मैले यही बाटो रोजें ।
बि.एस.सी फरेष्ट्री भ्याउन नपाउँदै पर्यटन क्षेत्रमा तानिएँ म । दुई वर्षअघि ट्रेकिङ गाइडको लाइसन्स निकालें । चाइनिजलगायत अन्य विदेशी भाषाहरु सिक्दै गएँ । भनिन्छ, भाषा पर्यटनमा प्लस पोइन्ट हो । नेपालको भुगोल, इतिहास अनि जातजाति, धर्म संस्कृतिबारे ज्ञानको दायरा बढाउने प्रयास गरें । कति किताबहरु पल्टाए, कति इन्टरनेटमा सर्च गरें । लाग्छ, गेष्टलाई फुल सेटिस्फ्याक्सन दिन सकुँ । अनि फर्की फर्की घुम्न आउन्, नेपाल । अरुलाई समेत नेपाल घुम्न रिफर गरोस् न ।
सरकारले यसवर्ष बीस लाख विदेशी पर्यटकहरु भित्र्याउने महत्वकांक्षीसहित यत्रतत्र फुके पनि बीस लाख पर्यटक कुनै हालतमा नेपाल आउने थिएन । न त त्यति पर्यटक बस्ने र खाने व्यवस्था नै नेपालमा अहिलेको अवस्थामा नै छ । जे होस, विगतका वर्षहरुभन्दा यस वर्ष पर्यटक आँगमनको ग्राफ पक्कै उकालो लाग्नेमा सबै आशावादी थिए तर कोरोनाले यसलाई करिब करिब शून्यमा झारिदियो । पर्यटन वर्ष मात्र रोकिएन, सँगै विश्राम लियो यसमा लागेका कैयौका योजनाहरु । भताभुंग भए अनगिन्ती सपनाहरु ।
आफैं घुम्ने योजनाहरुको लाम थियो । दुई वर्षअघि तय गरेको थिए, ‘देश घुमौं देश बुझौं’ नारासहितको साइकल यात्रा । यात्रा थियो बयालिस दिनको । २९ जिल्लाहरु साइकलमै टेकें । समय अभावले अन्य जिल्लाहरु पुग्ने सपना थातिराखेको थिए, यसै वर्षका लागि । फेवा टु रारा साइकल यात्रा, तालदेखि तालसम्म योजना बुनेको थियो । फेवा तालको संरक्षण र रारा तालको प्रर्वद्धन यस यात्राको मुख्य उद्धेश्य थियो । मध्यपहाडी लोकमार्गहुँदै निर्धारण गरिने भनिएको यस यात्राले पहाडी जिल्लाहरु सतही रुपमा बुझ्ने आँखीझ्याल बन्नेमा म विश्वस्त थिए । जनयुद्धको उद्गम थलो मानिने रुकुम, रोल्पा नजिकबाट चियाउनु थियो । अझै बाँकी रहेका जनयुद्धका घाउहरुमा मलम लगाउनु थियो । तर कोरोना कहरले सबै सपना चकनाचुर बनाइदियो ।
नेपालमा पर्यटनले पु¥याएको योगदान अतुलनीय छ । यसले देशको शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारलगायत हरेक क्षेत्रमा ल्याएका परिवर्तनका लहरहरु प्रशंसनीय रहेका छन् । प्राकृतिक एवमं जातीय, धार्मिक विविधताले सुशोेजित नेपाल पर्यटकलाई उपयोगी गन्तव्य बन्नेमा कुनै दुई मत छैन । बन्द, हडताल, पूर्वाधारको अपर्याप्त विकास, पर्यटन व्यवसायीहरुको प्रतिस्पर्धा, देशमा विद्यमान भ्रष्टाचार एवमं ढिलासुस्तीले पर्यटन व्यवसाय सोचे जति उकास्न नसकेकै हो ।
समय अनि भाग्यले साथ नदिएकै हो यस वर्ष हामीलाई । भाग्य डाउन भएकै हो यस वर्ष । यस अर्थमा लकडाउन । हजारौं संख्यामा रहेका पदप्रदर्शक, पोटर अनि यसमा आवद्व टिम बेरोजगार छन् । यसै पर्यटन वर्षलाई लक्षित गरी सञ्चालनमा ल्याइएका होटल, लज, रेष्टुराहरु बन्द अवस्थामा मात्र छैनन्, बैंकको लोन अनि किस्ता तिर्न नसक्दा जीवनबाटै बिट मार्ने अवस्थामा पुगेका छन् कैयौं सञ्चालकहरु । कोरोना कहरले नेपालको पर्यटनमा नराम्ररी धक्का दियो । भर्खर बामे सार्दै सलबलाउन लागेको यस क्षेत्र फेरि पुरानै अवस्थामा फर्कन केही वर्ष लाग्नेमा कुनै दुई मत छैन ।
नेपाल सरकारले यहीँ अक्टोबर १७ बाट विदेशी पर्यटकहरुको नेपाल आगमनका लागि खुला गरेपनि सुरक्षाका दृष्टिकोणले उनीहरु नेपाल आइहाल्ने अवस्था भने छैन । आफ्नै देशका जनताहरुको सुरक्षाको सुनिश्चितता गर्न नसक्ने सरकारले विदेशी पर्यटकहरुका लागि विशेष केही गर्न सक्ने कुरै भएन । त्यसैले नेपालको अबको पर्यटन भनेकै आन्तरिक पर्यटन हो । कोरोनाले थिलथिल परेको नेपालको पर्यटन क्षेत्र आन्तरिक पर्यटनले केही हदसम्म उकास्नेनै छ । त्यसका लागि सर्वसुलभ ट्राभलको प्याकेज, सरसफाइ र सुरक्षाको राम्रो व्यवस्थालगायत पूर्वाधार विकास हुन जरुरत देखिन्छ ।
बेरोजगार पदप्रदर्शक, पोर्टरलगायत यसमा आवद्व सहयोगी टोलीलाई केही राहत दिनै पर्छ । उनीहरुको सञ्चय कोष अथवा टान (ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल)ले हरेक पर्यटकबाट उठाउँदै आएको शुल्कबाट उठेको रकमले उनीहरुलाई केही राहतको प्याकेज व्यवस्था गरिनु पर्ने हो । नेपाल पर्यटन बोर्ड एवमं अन्य सरोकारवाला यसमा बेखबर छन् । कानमा तेल हालेर सुतेका छन् । झकझकाउन छ, उनीहरुलाई ।
यो समय घुमघामका लागि त्यति उपयुक्त पनि छैन तर यसलाई उपलब्धीमुलक भने बनाउन सकिन्छ । नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरुको खोज, प्रचलित गन्तव्यको स्तरोन्नति एवमं विकासका लागि सरकार एवमं सरोकारवालाको ध्यान जान जरुरत देखिन्छ । सँगै आन्तरिक पर्यटन उकास्नका लागि बहस, छलफल, विमर्श साथसाथै नयाँ–नयाँ रणनीतिहरु लागू गर्न सकिन्छ । कोरोना एक न एक दिन ढिलो चाँडो नियन्त्रणमा आउने नै छ । यस महामारीलाई चुनौतीका रुपमा मात्र नलिई अवसरका रुपमा लिएर नेपालको पर्यटक क्षेत्र उकास्नका लागि प्रशंसनीय कदमहरु चाल्न सक्नु पर्छ । अनि बदल्नु छ यसलाई अवसरका रुपमा । यसका लागि सबै सरोकारवालाहरुको समयमै ध्यान जाओस् ।
जय पर्यटन ।





