बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्यटन उद्योगको लागि मापदण्ड जरुरी

पर्यटन उद्योगको लागि मापदण्ड जरुरी


  • Dhorpatan News
  • असोज १३ २०७७, मंगलबार

पर्यटन उद्योग पुरानै अवस्थामा फर्कने आशाका साथ कोभिड–१९ बाट सबैभन्दा प्रताडित पर्यटन व्यवसायीहरुले आइतबार विश्व पर्यटन दिवस मनाए । सरकारले अन्तर्राष्ट्रिय उडान खुल्ला गरेसँगै नेपालबारे विश्वभरका पर्यटकहरुले चासो राखेको र पदयात्रामा जान चाहेको पनि बताए । विश्वभरमा देखाएको चासोले परिस्थिति अनुकूल हुँदै गएमा नेपालको पर्यटनले पहिलेको भन्दा पनि उचाई लिनसक्ने आशा पलाएको व्यवसायीहरुको भनाई छ । उनीहरुले यसो भनिरहँदा कोरोनाको त्रास र संकट हटिसकेको छैन । नेपाल आउन चाहने पर्यटकहरुलाई कसरी पदयात्रामा पठाउने, कसरी आतिथ्यता प्रदान गर्ने भन्नेबारे अन्यौल बाँकी छ । सरकारले होटल संचालकहरुले प्रदान गर्ने सेवाबारे निर्देशिका जारी गरे पनि पदयात्रा क्षेत्रमा के गर्ने भन्नेबारे स्पष्ट भएको छैन । कतिपय पर्यटकीय गन्तब्यहरु अहिले पनि बन्द छन् । स्थानीय पालिकाहरुले कोरोनाबाट सुरक्षित रहनको लागि आफ्नो क्षेत्रमा बाहिरी व्यक्तिको प्रवेशमा रोक लगाएको अवस्था छ । गण्डकीकै कुरा गर्दा प्रसिद्ध अन्नपूर्णको फेरो गर्नसक्ने अवस्था अहिले छैन । मनाङदेखि मुस्ताङसम्मै स्थानीय पालिकाहरुले प्रवेशमा रोक लगाएकाले कथंकदाचित पर्यटक आए भने पनि घुमाउने ठाउँको अभाव छ ।
स्वास्थ्यप्रति स्थानीय जनता सचेत हुनु आफैमा सकारात्मक पक्ष हो ।ओखतीमुलोको पर्याप्त व्यवस्था नभएको, राम्रो अस्पताल र डाक्टरको सधैं अभाव हुने हिमाली क्षेत्रको यात्रा स्वयं यात्रुको लागि नै जोखिमपूर्ण रहेको छ । यात्रुबाटै स्थानीयमा कोरोना संक्रमण भयो भने पनि त्यसले निम्त्याउने संकट नै हो । पैसा पछि कमाउँला, अहिले बाँचौं भन्ने सोचलाई यसमानेमा अन्यथा मान्ने अवस्था छैन । ओखती नै नभएको कोरोनालाई समुदायमा फैलनबाट रोक्न भीडभाड कम गर्नु नै सर्वोत्तम उपाय हो । यो उपाय अवलम्बन गरेका व्यवसायी र पालिकाहरुलाई जोखिम मोलेर व्यवसाय सुरु गर भन्न सकिँदैन । तर, पर्यटनलाई लामो समयसम्म यथास्थितिमा राख्न पनि मिल्दैन । घुम्न निस्कने व्यक्तिले नेपाल आउन नपाए अर्को गन्तव्य रोज्नसक्छ । मुस्किलले मिलाएको समयलाई सदुपयोग गर्ने फिरन्ताहरुलाई विश्व नै संकटमा भएको बेला नेपाल ल्याउन सके यसले दीर्घकालीन रुपले यहाँको पर्यटनलाई नै सघाउँछ । नेपालको थप ब्राण्डिङ हुन्छ ।
चीनको बुहानबाट पहिलो खेपमा नेपाल ल्याइएका विद्यार्थीमा कोरोना नदेखिपछि हतारमा नेपाल कोरोना फ्रि देश भएको पर्यटनमन्त्री योगेश भट्टराईको अभिव्यक्ति यही आशयले आएको थियो । परन्तु, त्यो हतारमा गरिएको अपरिपक्व घोषणा भएको प्रमाणित भइसकेको छ । कोरोनाकै कारण नेपाल भ्रमण वर्षको कार्यक्रम स्थगित, राज्यको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध परिचालन भएको अवस्थामा अब हतारमा निर्णय गरिनु हुँदैन । ग्रामीण पर्यटन र पदयात्रा नेपाली पर्यटनको आधारस्तम्भ हुन् । संयुक्त राष्ट्रसंघले पर्यटन र ग्रामीण विकास नारासहित यो वर्षको पर्यटन दिवस मनाउँदा नेपालले पनि ग्रामीण विकासको लागि पर्यटनलाई उपयोग गर्ने रणनीति तयार पार्नुपर्छ । यसको लागि संक्रमण बोकेका हैन कि पैसा बोकेका स्वस्थ पर्यटकलाई गाउँ पु¥याउने वातावरण निर्माण गरिनुपर्छ । नेपाल आउने पर्यटकको स्वास्थ्य जाँच र उनीहरु स्वस्थ रहेको ग्यारेण्टीको लागि सरकारले मापदण्ड निर्माण गर्नुपर्छ । पर्यटन उद्योगलाई संकटको बीचमा पनि चलाउने यो नै सर्वोत्तम उपाय हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->