बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिक्षा, अबसर र चुनौती

शिक्षा, अबसर र चुनौती


  • Dhorpatan News
  • असोज १३ २०७७, मंगलबार

नेपाल सरकारले असोज १ गतेदेखिनै पढाइ संचालन गर्न निर्देशन जारी गरेको छ । कोरोना संक्रमणका कारण गत चैत ५ गतेदेखिनै बन्द भएका बिद्यालय खोलेर पढाइ संचालन गर्ने केही विधि पनि बनाइएको छ । बिद्यालय पूर्ण रुपमा खोल्न भने अनुमति दिइएको छैन । टोलटोलमा पढाउने, सामाजिक दुरी कायम गर्ने तथा भीड नगर्ने भन्ने सन्देशका आधारमा धेरै बिद्यालयले पढाइको तयारी गरेका छन् । केहीले पहिलेदेखिनै पढाएका पनि थिए ।
कोरोना संक्रमणको जोखिम बढी रहेको छ । जसको कारण क्वारेन्टाइन बनाइएका बिद्यालय खाली गर्ने तयारी र संभावना नभएको जनप्रतिनिधिले बताइसकेका छन् । यसरी बिद्यालय खुल्ने अबस्था नभएपछि पढाई संचालन गर्ने संभावना टर्दै गएको छ । सरकारले जारी गरेको निर्देशिका पुरा हुनेमा पनि शंका बढेको छ । कोरोना संक्रमणले पढाई प्रभावित भएपनि सरकारले शैक्षिक बर्ष खेर नफाल्न कक्षा चलाउने योजना ल्याएको हो । तर बिद्यालय पुरै ठप्प छन् भन्ने कुरा निर्देशिका जारी गरिरहेको मन्त्रालयलाई हेक्का नभए जस्तो देखिन्छ ।
जहाँ बिद्यार्थी थोरै भएका प्राबि छन्, ती बिद्यालय खाली छन् । जहाँ माबि संचालन छ, धेरै बिद्यार्थी छन् त्यहाँ अहिले पनि क्वारेन्टाइन संचालन छ । स्थानीय सरकारले क्वारेन्टाइनको बिकल्प खोजेका छैनन् । असोज १ गतेबाट कक्षा चलाउन निर्देशन जारी छ, दशै र तिहार नजिक आएकोले भारत सहित बिदेशबाट आएकाहरु धमाधम क्वारेन्टाइनमा बस्न थालेका छन् । केही दिन शुन्य देखिएको संक्रमण फेरी बढेको छ । ग्रामीण क्षेत्रका बालबालिका लाई केही घर, सामुदायिक भवनमा राखेर पढाउन सकिएला तर बजार क्षेत्रमा त्यो संभव छैन । सदरमुकाम सहित बजार क्षेत्रमा न सार्वजनिक भवन छन्, न खुला चउर समेत छ । बालबालिका पनि कुनै टोल बिशेषका आएर ती बिद्यालयमा पढेका छैनन् । ज्याला मजदुरी गरिरहेका मजदुरका बालबालिका धेरै भएकोले अहिले उनीहरु जिल्लामै नभएको तथ्यांक पनि छ । कतिपय शिक्षकले आफ्ना बिद्यार्थीको आधा तथ्यांक पनि संकलन गर्न सकेका छैनन् ।
कक्षा कोठा खोलेर पढाए जस्तो गरेर सिक्ने अबसर बालबालिकालाई छैन । टोलमा पढाएपनि हरेक दुइ दिनमा एउटा समूहले पढ्ने अबसर पाउँछ । त्यो पनि बिद्यालय खुलेझै समय मिल्दैन । त्यसैले यो बर्षको पढाई प्रभावित भैरहेको स्पष्टै छ । बालबालिकाको सिंगो पाठ्यक्रमको आधारमा मूल्यांकन गर्न सकिने अबस्था पनि छैन । त्यसैले अब पहिलो काम बालबालिकाको सिकाईको अबस्था मूल्यांकन गर्ने, दोश्रो सबै बिद्यालय क्वारेन्टाइनबाट मुक्त गर्ने र अभिभावकलाईपनि पढाइ प्रति चासो दिने बनाउने काम चुनौतीपूर्ण छन् । कोरोना त्रासले डराएका अभिभावकले आफ्ना बालबालिका पठाउन मानेका छैनन् । अर्थात टोलसम्म पठाएपनि निसंक्रमण नभएका बिद्यालयमा पठाउँदैनन् । त्यसकालागि बिद्यालय खाली गरेर सफाई समेत गरिदिने काम स्थानीय पालिकाको दायित्वमा पर्न आउँछ । शिक्षकहरुमा पनि यो बर्षको पढाइ यस्तै हो भनेर दिनमा एकदुइ घण्टा पढाएर उम्कने प्रवृत्ति बढेको देखिन्छ । कतिपयले अनलाईन संभव छैन भनेर दायित्व पन्छाउँछन् त कोही बिद्यार्थी टोलमा छैनन् भनेर तर्केका छन् । अब जो जहाँ छन्, त्यहाँका अर्को बिद्यालयको बालबालिका भएपनि पढाउनै पर्ने निर्देशनको खाँचो छ । किनकी आफ्ना बिद्यार्थी छैनन् भनेर तर्कने बानीले बालबालिका भने छुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->