बागलुङ, १५ असोज– गत भदौ १७ गतेको बाढीपहिरोमा ज्यान गुमाएका ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका पीडित परिवारलाई राष्ट्रिय युवा संघ बागलुङले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ ।
बाढीपहिरोमा परि मृत्यु भएका परिवारलाई युवा संघमा आवद्ध युवाहरुले स्वस्फुर्त संकलन गरेको रकमबाट खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको हो । युवा संघले पीडित २३ परिवारलाई उक्त सामग्री उपलव्ध गराएको थियो ।
पीडित परिवालाई संघले चामल, व्लाङ्केट र प्रेसर कुकर गरी १ लाख ५० हजार बराबरको राहत सामग्री उपलव्ध गराएको राष्ट्रिय युवा संघ बागलुङका संयोजक रेशम घर्ती मगरले बताए । यसअघि पनि युवा संघले पीडित परिवारलाई २ लाख ३५ हजार बराबरको सहयोग गरिसकेको छ ।
दोस्रो चरणको राहत भने युवा संघमा आवद्ध युवा नेता सुजन केसीको संयोजकतत्वमा संकलन र वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा बोल्दै केसीले विपत्तिसँग जुध्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा ढोरपाटन नगरपालिका–९ का अध्यक्ष हरि बहादुर घर्ती मगरले विषम परिस्थतीमा साथ दिने सबैलाई धन्यवाद दिए । कार्यक्रम राष्ट्रिय युृवा संघ बागलुङको संयोजक रेशम घर्ति मगरको अध्यक्षता र अनेरास्ववियु बागलुङका संयोजक मिलन काउचाको संञ्चालनमा सम्पन्न भएको थियो ।





