बागलुङ, १८ असोज– बागलुङ बजारमा जथाभावी टाँगिएका तार र पोल हटाउने अभियान सुरु भएको छ । बागलुङ नगरपालिकाले चोक सुधार कार्यक्रममार्फत विद्युत र टेलिकमका पुराना पोल हटाउने, अव्यवस्थित तार हटाउने कामको अगुवाई गरेको हो ।
विद्युत प्राधिकरणको बागलुङ वितरण केन्द्र र नेपाल टेलिकम बागलुङ शाखाले पनि आफ्नो अभियानको रुपमा तार हटाउने काम थालेका थिए । केही स्थानमा विवाद भएपछि नगरपालिकाले पोल र तार हटाउन थालेको हो ।
सडक ढलान गरिएको, नाली निर्माण भएको र चोक फराकिलो भैसक्दापनि पुराना पोल र तार हटाउन नसकेकै कारण सडक साँघुरै रहेको, जोखिम बढेको थियो । नगरपालिकाले जनपतिनिधिकै उपस्थितिमा यो अभियान थालेको हो । शनिबार शिवधारा चोकबाट यो अभियान थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘नगरपालिकालाई सुन्दर र सफा बनाउने उद्देश्य अनुसार यो काम गरिएको हो’ पौडेलले भने, ‘अब बजारमा गुजुल्टा तार देखिने छैनन् ।’ टेलिकमले फाइवर प्रणालीमार्फत टेलिफोन र इन्टरनेटको सेवा दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले केबुलीकरण गरेर नाङगो तार विस्थापित गरिसकेको छ । यसरी व्यवस्थापन गर्दा पुराना गुजुल्टा पनि हटाउने योजना ल्याएको थियो । कतिपय स्थानमा नीजि क्षेत्रका केवल टेलिभिजन र अन्य इन्टरनेट प्रदायक संस्थाले टाँगेका तार अलपत्र छन् । उनीहरुले पुराना पोलमा टांग्दा तत्काल हटाउन कठिन भएको थियो । ‘कर राजश्व पनि नतिरेका संस्थाको तार काटिदिन अप्ठ्यारो त थिएन, तर जनताको सेवा अवरुद्ध हुन्छ भनेर ढिला गरेका थियौं’ नेपाल टेलिकमका शाखा प्रमुख केशव शर्माले भने, ‘अब भने हामीले पनि सफाइ अभियान चलाइरहेका छौं ।’ नीजि क्षेत्रले पनि कर राजश्व तिरेर स्थायी पोलमा मात्रै टांग्न पाउने उनले बताए ।
उच्च अदालत बागलुङले दुइ वर्षअघिनै जथाभावी टांगिएका नांगो तार हटाएर केबुलीकरण गर्न आदेश दिइसकेको थियो । त्यस्तै टेलिकमका गुजुल्टा तारले पनि दुर्घटना बढाएको, नगर कुरुप देखिएको आरोप लाग्दै आएको थियो । टेलिकमले ४ जी को विस्तार र फाइवरको जडानबाट सफाइ हुने बताइरहेको थियो । यो अभियानले नगरक्षेत्रलाई सुन्दर बनाउने काममा साथ मिल्ने बानपा २ का सदस्य अर्जुन घिमिरेले बताए । ‘नगरपालिकाले थालेको यो काम भने राम्रो छ’ घिमिरेले भने, ‘ट्राफिक व्यवस्थापनमा पनि यो काम सहज हुनेछ ।’ कतिपय चोकमा सवारी साधन मोड्न पनि नमिल्ने गरी पोल थिए ।
शनिबार पनि केहीले अवरोध गरेर पोल हटाउन र नयाँ स्थानमा गाँड्न दिएका थिएनन् । जनप्रतिनिधि, प्राविधिक र स्थानीय अगुवाको पहलमा ती अव्यवस्थित पोल हटाएर सुरक्षित स्थानमा सारिएको हो । नगरपालिकाले अव्यवस्थित ५ सय पोलको व्यवस्थापन गर्ने योजना बनाएको पौडेलले बताए ।





