जीवन, आफंैमा एक यात्रा हो । निश्चित गन्तव्य नभई अविरल बगिरहने अनवरत यात्रा । जीवन, अर्को अर्थमा बगिरहने खोला जस्तै हो । यहीं जीवन यात्रामा अनेकौं यात्राहरु निर्धारण गरिएका हुन्छन् । कुनै छोटा, कुनै लामा । कुनै अविस्मरणीय, कुनै अकल्पनीय । अझ भनौं हरेक दिनको सुरुवातीसँगै उघारिन्छन् फरक यात्राको कहानीहरु । त्यसैले त लाग्छ जीवन, यात्रैयात्राको सँगालो ।
मानिस जन्मिन्छ एक्लै । संसारबाट एकदिन टाढिन्छ एक्लै । बाँचुन्जेल फगत साथ अनि सम्बन्ध निभाउन कैयौं जोडिन्छन् मात्र । समयसँगै कति टाढिन्छन् पनि । क्षणिकतामा आफैंलाई हराउँछ मानिस । सम्बन्धहरुको जालोमा यसरी जेलिन्छ, छुटिँदा आँखाहरु रसाउँछन् । दुःख, शोक अनि पीडाले छट्पटिन्छ मन । समयसँगै बिर्सन्छन् अनि जोडिन्छन् नयाँ सम्बन्धहरु । अनि दोहोरिन्छ उहीँ चक्र । यही हो जीवनको यथार्थता ।
त्यसैले लाग्छ, संसारमा स्वयं आफूजतिको नजिकको कोही हुँदैनन् । न कोही हुन्छन् आफूजस्तै विश्वासिला । त्यसैले रमाउनु छ आफैंसँग, हराउनु छ आफैंभित्र । सिँगो संसार स्वयं आफैंभित्र खडा गराउनु छ । त्यसैले त तय गर्छु म, एकल यात्राहरु । यहाँ छोडाउँदै छु एकल घुमघाम अनि यात्राका पोटिकाहरु । उघार्दै छु, नेपाल घुम्दाका कथाहरु । कति रसिला त कति आँखै रसाउने खालका । कोरोना कहरको यस विषम परिस्थितिमा विगत सम्झँदा पनि मन आल्हादित बनेर आउँछ ।
म परे घुम्नका लागि सौखिन मान्छे । त्यो पनि एक्लै । अरु फुर्सदमा घुम्छन्, म घुम्नलाई फुर्सद समय बनाउँछु । जति बेला घुम्ने इच्छा जाग्छ, त्यतिबेलै तय हुन्छ घुम्ने समय । न कहिल्यै बुन्छु घुम्ने योजना, न कुनै पूर्व तयारी । घुम्ने प्लान बनायो, सब तयारी पूरा भएर अन्तिम समयमा प्लान क्यान्सिल गर्नु पर्दाको पीडा छुट्टै हुन्छ । त्यसैले जतिबेला घुम्ने रसले आँत भिज्छ, निस्किहाल्छु घुम्न । एक्लै घुम्छु, बुझ्छु अनि सिक्छु ।
लाग्छ, जति कक्षाकोठाको चार पर्खालभित्र सिकें, त्यसको अनगिन्ती ज्ञान खुल्ला आकाशमा प्रकृतिमाझ हासिल गरें । यति भनिरहँदा यो पनि हो कि त्यो कोठाको ज्ञानबिना अन्य हासिल गरेका ज्ञानहरु निरर्थक रहन्छन् । अर्थहीन । यात्रा खुला पुस्तक हो । हरेक यात्रासँगै थपिन्छन् नयाँ अनुभवका सिकाइहरु । अरुले हेर्ने आँखाबाट संसार नियाल्न यात्रा अतिआवश्यक छ । जीवनको अर्थ भेटिन्छ यात्रामै । अझ भनौं जीवन बुझ्ने आँखीझ्याल हो यात्रा । त्यसैले त भनिन्छ, जो घुम्दैन, त्यसले केबल जीवनको एक अध्यायको अनुभव गर्छ र जो घुम्छ, वास्तवमै उसले सिंगो जीवन बुझ्छ । असली जीन्दगी उसैले जिउँछ । अनि जिउँछ उसले सन्तुष्टिका पलहरु ।
यात्राले सिकाइ अनि बुझाइको परिधिलाई निश्चय नै फराकिलो बनाउँछ । ‘ग्लोबलाइजेसन’को यस युगमा यात्राले झन् फरक अर्थ राख्छ । संसारलाई फन्को मार्दै सुनौला अक्षरमा नाम लेखाउनेहरुको जमात बढ्दो छ । यात्रामा निस्कन पुँजी नै प्रमुख तत्व चाँहि होइन । केवल पैसाले मात्र घुम्दो हो त अहिले संसारका सारा अर्बपतिहरुले संसार नापिसक्दा हुन् । बिना पैसा वा कम पैसामा संसार घुम्ने मगन्तेहरुको छुट्टै लर्को छ यहाँ । त्यसैले पुँजी, आँट, समय अनि प्यासनको कम्बिनेसनमा मात्र यात्रा सफल हुन्छ ।
घुम्नु मेरो प्यासन । रहर अनि समयले बनेको एक लत । आजकल त अम्मल नै बनेको छ घुम्न । अझ म परें एकल यात्राको सौखिन । प्रायः म एकल यात्रा तय गर्छु । यसैमा रमाउँछु । लामो होस् या छोटो सफर । कहिले पैदल त कहिले साइकलमै । फरक यात्राले फरक अर्थ समेत राख्छ । एक्लै घुम्नुको सुखानुभूति शब्दमा वर्णन गर्न सकिँदैन । जति चुनौतीहरु यसमा हुन्छन्, त्यति नै धेरै अवसरहरु । म आफैंलाई बिर्सन्छु यात्रामा । अनि खोज्छु, मानव हुनुको अर्थ ।
घुम्ने योजना बन्छ साथीहरुमा । पहिलो कुरा डेस्टिनेसन तय गर्दाको किचलो । कसैलाई त्यो गन्तव्य प्रिय लाग्न सक्छ त कसैलाई अप्रिय । कसैलाई नौलो, कसैलाई पानीपधेरो । त्यसैमा लफडा हुन्छ । लास्ट आवरमा आएका प्लान क्यान्सिल गर्ने साथीहरु धेरै हुन्छन् । कतिको समयको कुरा मिल्दैन त कतिको परिवारबाट विमति । कतिको घुम्ने बजेटमै कुरा अड्किन्छ । अनि योजना फ्लप खान्छ ।
एक्लै यात्रा तय गर्दा यी यावत तनावहरु झेल्नु पर्दैन । हरेक निर्णयहरु तय गर्ने जिम्मा आफ्नै । न कसैको सहमति, न त विमति । एकाधिकार हुन्छ हरेक निर्णयहरुमा । अझ भनौं, आफ्नो च्वाइसहरुसँग इन्जोय गर्न पाइन्छ । म साइकलमा घुम्न रुचाउने मान्छे । मन लाग्यो, साइकल लियो अनि कुद्यो । कहिले कुनै सुन्दर बस्तीहरु वा झरना, हिमाल वा यस्तै लोभलाग्दो दृश्यहरुसँग आँखा जुध्छन् । धितमरुन्जेल कुनै क्यामरा त कति हृदयको अन्तरकुनामा कैद गर्छु । कसैको रोकावाट हँुदैन । जहाँ पुग्छु, त्यही नै त्यस दिनको गन्तव्य । मन लागेको समय बिताउन पाइन्छ । यो एकल यात्राको स्वतन्त्रता हो ।
आफैंले आफ्नो क्षमता, कमजोरी वा दक्षता बुझ्ने सुनौलो अवसर हो एकल यात्रा । सधैं यात्रा सहज मात्र हुन्छ भन्ने हुँदैन । जुनसुुकै बाधा वा आइपर्ने चुनौतीहरुसँग सामना गर्न सिकाउँछ यसले । यसले एक यात्रीलाई अझ होसियार, सक्रिय एवमं सजक हुन प्रेरित गर्छ । सम्झन्छु, दुई वर्षअघि तय गरेको बयालिस दिने एकल साइकलयात्रा । महेन्द्र राजमार्गहँुदै यात्रा तय गर्दै थिए । यात्राको २२ औं दिन । सर्लाहीबाट रौतहट छिचोल्दै गर्दा जंगलको बिचमा टायर पञ्चर भयो । साँझ छिपिँदै थियो । एक त जंगली जनवारको डर, अर्को मानिसकै त्रास । जतिसक्दो साइकल मर्मतमा आफैं जुटेँ । करिब आधा घण्टामा साइकल मर्मत गरें र रफ्तारमा कुदेँ । नजिकको मानवबस्ती पुग्दा रातको आठ बजिसकेको थियो । होटल पाउन उस्तै सास्ती । बल्लतल्ल एउटा कोठा पाएको थिएँ । चुनौती अनि आईपर्ने समस्यासँग पौठेजोरी गर्दै अगाडि बढ्न एकल यात्राले प्रेरित गर्छ । जुन ज्ञान सिंगो जीवनकै लागि अर्थपूर्ण रहन्छ ।
अर्को भनेको नयाँ मानिसहरुसँग घुलमिल हुने अवसर । एक्लै यात्राले अन्जान मानिसहरुलाई नजिक बनाउँछ । आत्मियता अनि निकटता बढाउँछ । अझ भनौं, कुनै ठाउँ विशेषको स्थानीयसँग बढी नजिकिने र झ्याम्मिने मौका मिल्छ । सँगै त्यहाँको रैथाने फरक स्वादसमेत चाख्ने अवसर मिल्छ । त्यहाँको जनजीवन, दुःख, पीडा मज्जाले सुक्ष्म रुपमा बुझ्न सकिन्छ । समूहमा यात्रा गर्दा जति नयाँ सम्बन्धहरु गाँसिन्छन्, त्यसको कैयौं गुणा एकल यात्रा तय गर्दा हुन्छ । यात्रामा भेटिने सबै आफ्नै झैं लाग्छन् ।
नेपाल यात्राकै क्रमका इलामको कन्यामको त्यो पल स्मरण गर्न पुगें । झापा भद्रपुरबाट सुरु भएको थियो त्यस दिनको यात्रा । गन्तव्य चाँहि कन्यामको चियाबगान । उकालो बाटो । साइकलमा छिचोल्दै कन्याम पुग्दा साँझको सात बजिसकेको हुँदो हो । पर्यटकहरुको चहलपहल शून्यमा झरिसकेको थियो । चिसो सिरेटो अनि पसिनाले निथु्रक्क रुजेको ज्यान । हुस्सु अनि छिपिँदै गएको साँझले नजिककै मान्छेलाई समेत चिन्न मुस्किल थियो । घुम्ने पिक सिजन, त्यहाँका सबै होटलहरु प्याक । एउटा कोठासमेत खाँली थिएन । फिक्कल बजार पुगौं, अझै करिब चार कि.मी. साइकल चलाउने जाँगर मसँग थिएन । यता बिहानै कन्यामको दृश्यपान गर्ने सपना । कन्याम जसै रात काट्नु थियो । परेन त फसाद । चिया बगानकै छेउमा म चिन्तित मुद्रामा थिए । ठ्याक्कै एक जना भर्खरको केटो आयो र मेरो यात्राबारे बुझ्न उसले उत्सुकता देखायो । मैले मेरो यात्राबारे वृतान्तमा उसलाई सुनाए, सँगै सुनाए मेरो समस्या । नजिकै रहेछ, उसको काकाको घर । उसले मलाई एकदिन त्यहीं बस्न खाने व्यवस्था मात्र गरिदिएन, बिहानै कन्याम आफ्नै घोडामा सफरसमेत गराइदियो । दसैंको दिन, चाडको रौनकता विशेष थियो । जुन स्वागत, आतिथ्यता अनि माया त्यहाँ मिलेको थियो, यसले घरको न्यास्रोपन मेटाइदियो । काका, काकी अनि बहिनीहरु गज्जबका । आफ्नै जस्ता । त्यहाँबाट निस्कदा बहिनीले त्यहींको लोकल चियासमेत कोसेली पोको पारिदिएकी थिइन । सँगै पोको पारेकी थिइन्, उहाँहरुको माया अनि सम्झनाका मुनाहरु । विशेष त असोक जी, अनि बहिनी निशासँग अझै सामाजिक सञ्जालमा किप इन टज भइरहन्छु । मलाई अझै कन्यामको त्यो क्षण ताजै भएर आउँछ । यात्राले भेटिने मानिसहरु अनि जोडिने नाता सम्बन्ध गज्जबका हुँदारहेछन् । त्यसैले एकल यात्राले धेरैसँग चिनजान अनि मित्रता गाँस्ने पुलको काम गर्छ । नेपाल घुम्दै गर्दा सबै आफ्ना लाग्न थालेँ । नेपाल सिँगो घर अनि नेपाली आफ्नै घरका सदस्यहरु जस्तै ।
बिहान उठ्दा कहिले कतै घुम्ने÷पुग्ने मुड बन्छ । अनि केही मिनेटमै तयारी भएर म निस्किन्छु । यो एकल यात्राको बोनस हो । लास्ट आवरमा समेत योजना बनाउन सकिन्छ । सम्झिन्छु, एक वर्षअघिको घान्दु्रक यात्रा । बिहान उठ्ने बित्तिकै फेसबुक खोल्दा हिउँमय घान्दुु्रकको फोटोहरुले मन लोभ्यायो । आफ्नै आँखाबाट नियाल्ने हुटहुटी जाग्यो मनमा । अरु के चाहियो, अकस्मात योजना बन्यो घान्दु्रक पुग्ने । अनि आधा घण्टामा तयार भएर घान्दु्रक हानिएँ । एकदिन हिउँमय माहोलमा रमाएर पोखरा फकिएँ ।
गन्तव्य पुग्नु मात्र यात्राको उपलब्धी म ठान्दिनँ । त्यहाँसम्म पुग्दाको हरेक पलहरुमा रमाउने मेरो बानी छ । हरेक पलहरुको चुस्की लिँदै यात्रामा हराउनुको मज्जा बेग्लै । फरक ठाउँ, फरक माहोलमा पुग्दा त्यहाँको विशेषताबारे बुझ्ने जमर्को गर्छु । बहत्तर सालको भुकम्पमा ज्यान गुमाएहरुका सम्झनामा ७५ सालमा गोरखाको बारपाकसम्म साइकलमा पुगें । त्यहाँ पुग्नु मात्र मेरो लक्ष्य थिएन, मलाई महसुस गर्नुथियो त्यो महाभुकम्पले ल्याएका कम्पनहरुका कथा अनि व्यथाहरु । खोतल्नु थियो, पुर्ननिर्माणका ढिलासुस्ती अनि पाँच वर्षदेखि पालभित्रको बस्दाको दुःखका पानाहरु । साँच्चै बारपाकले भुकम्पपछि आफ्नो मौलिकता गुमायो । नेपालकै एक ठूलो बस्ती (जहाँ हजारभन्दा घरहरु छन्) बारपाक । ढुंगाकै छानाहरुको लामबद्व लोभलाग्दो बस्ती थियो । हेरिरहुँ जस्तो । भुकम्पले सबै भत्कायो । मौलिकता मेटायो । अहिले निला जस्तापाताले ढाकिएको छ सिंगो बारपाक । खल्लो लाग्छ, होटलको भित्तामा टाँसिएको पुरानो बारपाकको तस्वीर अनि अहिलेको दाज्दा । अब कहिल्यै फर्किने छैन, त्यो पुरानो बारपाक । मलाई बारपाक पुग्दा गहिरोसँग सोच्न बाध्य बनाएको थियो । आफंैले मनमनै उनीहरुको ठाउँमा आफूलाई भ्याएर त्यो प्रलय सम्झिए । मन अमिलो भएर भयो । सिंगो बारपाकको रोदन सम्झें । मसँग उनीहरुप्रति सहानुभूतिबाहेक दिने अरु केही थिएन । एकल यात्राले मलाई यात्राको फरक पक्षहरु उघारिदिए ।
वास्तवमा एकल यात्राले मलाई जिउन सिकायो । यो खुला पुस्तकालय बन्यो मलाई । अथाह ज्ञानहरु सिक्ने अवसर बन्यो । नेपालका आधाभन्दा केही बढी जिल्लाहरु मात्र पुग्ने अवसर मिलेको छ हालसम्म । बाँकी घुम्ने योजनाहरु कोरोना साम्य भएपछि तय गर्ने अठोट गरेको छु । अझै धेरै घुम्नु छ एक्लै । धेरै बुझ्नु छ, सिक्नु छ अनि धेरै लेख्नु छ ।
जय पर्यटन ।





