बागलुङ, १९ असोज– ‘हाम्रो जैमिनी’ बागलुङले जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पीडितहरुका लागि राहत रकम हस्तान्तरण गरेको छ । विदेशमा रहेको संस्थाका सदस्यहरुबाट संकललित रकमबाट जैमिनीको टुनिबोट र बिनामारेका पहिरो पीडितको लागि राहत रकम उपलव्ध गराईएको हो ।
सोमबार संस्थाका सदस्यहरु पहिरो प्रभावित क्षेत्रमा पुगेर नगद राहत उपलव्ध गराएका थिए । पहिरोमा परी मृत्यु भएका परिवारको लागि जनही ५ हजार रुपैयाँ र पहिरोले घरगोठ पुरिएका परिवारका लागि प्रतिपरिवार दुई हजारका दरले राहत रकम उपलव्ध गराईएको संस्थाका संस्थापक छायाँदत्त चापागाईले बताए ।
मृतक तीन परिवारका लागि १५ हजार र घरगोठ गुमाएका ७ परिवारका लागि १४ हजार रुपैयाँ सम्बन्धित वडाका अध्यक्षहरुको रोहवरमा वितरण गरिएको उनले बताए । संस्थाको वैदेशिक विभागअन्र्तगत युरोप तथा अमेरिकामा विभिन्न कामको शिलशिलामा रहेकाहरुले खाजा खर्च कटाएर राहत रकम जम्मा गरेको युरोपमा रहेका संस्थाका वैदेशिक विभाग सचिव रत्नबहादुर क्षेत्री ‘केशव’ले बताए ।
‘गाउँ दुखेको बेला खाजा खान पनि मन भएन्, त्यहि खर्च कटाएर पीडितलाई पठायौं’ केसीले भने ‘हाम्रो सानो सहयोगले पीडितको पुर्नबासमा सहयोग पुगोस् ।’ जैमिनीमा गत भदौ २८ र २९ गतेको पहिरोमा परी ३ जनाको ज्यान गएको थियो भने ८ घर पुरिएका थिए ।





