बागलुङ, २० असोज– गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तकोमा बस्दै आएका जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा टुनिबोटका एक बालकलाई दक्षिण कोरियामा रहेका युवाहरुले पढाई खर्च सहयोग गरेका छन् ।
पहिरोले घर पुरिएपछि आमासँगै मामा घरमा बस्दै आएका बिस्मात क्षेत्रीलाई युवाहरुले पढाई खर्च उपलव्ध गराएका हुन् ।
पहिरो पीडितका लागि दक्षिण कोरियामा संकलन गरिएको राहत रकमबाट १५ हजार रुपैयाँ पीडित बालकको पठनपाठनमा सहयोग पु¥याउने गरी पठाईएको अभियान्ता सन्तोष पौडेलले बताए ।
पहिरोले घरगोठ पुरिएपछि उनीहरु बेसहारा बनेका छन् । अन्यत्र घर बनाउने जग्गासमेत नरहेकाले क्षेत्री परिवार समस्यामा परेको छ । उनका हजुरवुवा र काकाको घरसमेत पहिरोले पुरेको छ ।
रोजगारीको शिलशिलामा कोरियामा रहेका युवाहरुले पहिरो पीडितहरुका लागि राहत रकम पठाएका थिए । उनीहरुले पठाएको २ लाख १३ हजार रुपैयाँमध्ये मृत्यु भएकाका दुई परिवारको लागि ६० हजार र घरगोठ पुरिएर विस्थापित भएका ७ परिवारलाई २३ हजार रुपैयाँका दरले राहत रकम उपलव्ध गराईएको छ ।
राहत रकम वितरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले वैदेशिक रोजगारीमा रहेका युवाहरुले देखाएको मातृ ममता प्रशंसनिय रहेको बताए । दक्षिण कोरियामा सोही गाउँबाट रोजगारीका लागि पुगेका सन्तोष पौडेल, दयाराम पौडेल र जिवन चपागाईले राहत संकलनको अगुवाई गरेका थिए ।





