बागलुङ, २० असोज– ताराखोला गाउँपालिकाले चालु वर्ष डिजिटल भिलेज प्रोफाइलको काम थालेको छ । सबै वडा र बस्तीको पूर्वाधार, भवन र योजनाको तथ्यांक राखेर विकासको गतिविधिलाई अगाडि बढाउन सहज बनाउन प्रोफाइलको काम थालिएको उपाध्यक्ष डिलकुमारी पुनले बताइन् । प्रत्येक वडामा ५ जनाको दरले गणक लगाएर तथ्यांक संकलनको काम भैरहेको हो ।
पछिल्लो समय सबै पालिकामा यो काम थाल्ने तयारी छ । ताराखोलाले भने आर्थिक वर्षको पहिलो चौमासिकमै यो काम सक्ने लक्ष राखेको छ । यो काम पुरा भएपछि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारको काममा सहजीकरण हुनेछ । साथै, गाउँपालिकाभित्र के कति जना बेरोजगार छन् । कति पूर्ण र आंशिक रोजगार छन् भन्ने यकिन तथ्यांक अउने अध्यक्ष प्रकाश घर्तीले बताए । यो तथ्यांकको आधारमा विकासका कामलाई प्राथमिकीकरण गर्न सकिने उनले बताए ।
यसअघि बागलुङ नगरपालिका वडा नं. १४ ले स्वास्थ्य चौकीको तथ्यांक डिजिटल प्रविधिमा निकालेको थियो । यसरी निकालिने तथ्यांकले काम गरेको प्रगती निकाल्न र हरेक घरको तथ्यांक अद्यावधिक गर्न सहज हुने गरेको छ । ताराखोलामा पनि स्वास्थ्य चौकीले पनि नियमित औषधि सेवनकर्ता, गर्भवती, सुत्केरी र जटिल रोगको समस्यामा परेकाहरुको तथ्यांक राख्नेछ । यो विधि थाल्न सबै पालिकालाई प्रदेश सरकारले आग्रह गरिसकेको थियो ।
ताराखोला गाउँपालिकाले वडा तहमा कृषि संजाल पनि गठन गरेको छ । ११ सदस्य रहने कृषि संजालले कृषिको कुल उत्पादन, थप कृषि उपजको उत्पादन गर्न सकिने संभावना, भएका उत्पादनको व्यवसायिकीकरणको अध्ययन पनि गर्नेछ ।





