बागलुङ, २० असोज– सघन उपचार कक्षा आइसियु स्थापना भएको ६ महिना पुगे पनि धौलागिरी अस्पतालमा अझै उपयोगमा आएको छैन । गत वैशाखमा धौलागिरी अस्पतालमा ३ वटा वेडको आइसियु स्थापना भएको थियो । स्वास्थ्य मन्त्रालयको १ करोड र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले ५० लाख रुपैया“ सहयोग गरेपछि उक्त कक्ष निर्माण भएको थियो ।
स्थापना भएपनि आइसियुमा काम गर्न दक्ष जनशक्ति अभाव भएपनि संचालनमा नआएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । ‘प्रयोगमै आएको छैन भन्न मिलेन, कोरोनाका गम्भिर बिरामी भएमा प्रयोग हुन्छ’ पोखरेलले भने, ‘थप २ बेड माग गरेका छौं, त्यसपछि मात्रै सर्वसाधारणलाई खुला हुनेछ ।’
विशेषगरी अस्पतालमा आइसियुको आवस्यकता अपरेशन गरेका सुत्केरीका लागि हुने गर्छ । जटिल समस्या भएकालाई अपरेशन गरिएको छ भने शिशुलाई पनि सिसियु आवस्यकता पर्छ । अस्पतालमा सिसियुको व्यवस्था भने छैन ।
स्थापना गरिएको आइसियुका लागि पनि तालिमप्राप्त स्वास्थ्यकर्मी र उपकरण नभएपछि संचालन हुन नसकेको हो । आइसियुमा बेड मात्रै राखिएको थियो । उपकरण अभावमा संचालन भएको थिएन । गत आर्थिक वर्षको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रममार्फत ५० लाखमा एउटा बेडका लागि मात्रै एनेस्थेसिया वर्क स्टेशन र प्यासेन्ट मनिटर जडान भएको छ । भदौ २० मा ती उपकरण खरिद गरेर ल्याइएको हो ।
अस्पतालले ९ स्टाफ नर्स र ८ मेडिकल अधिकृत माग गरेको थियो । त्यसमा ५ जना स्टाप नर्स राख्न अनुमति दियो । तर बजेट भने अझै आइनपुगेको अस्पतालका अध्यक्ष केवी राना मगरले बताए । ‘सरकारी अस्पताल भन्ने, तलब पनि नदिने, सबै हामीले राखेर आन्तरिकबाट तलब खुवाएर मात्रै कति दिन कर्मचारी पाल्न सकिन्छ ?’ उनले भने, ‘विशेषज्ञ सेवा दिने काम सजिलो छैन ।’ स्वास्थ्यकर्मी चाहेजति नभएसम्म सेवा चुस्त बनाउन कठिन भएको उनले बताए ।
कोरोना संक्रमणले गम्भिर भएकालाई मात्रै प्रयोग गर्ने भनेर राख्दा अन्य बिरामीले आइसियु उपयोग गर्न पाएका छैनन् । उपकरण पुरा नभएकोले आइसियु उपयोगबिहिन भएको पोखरेल बताउ“छन् । ल्याएका उपकरण पर्याप्त पनि छैनन् । अझै २ बेड र त्यसका लागि उपकरण जोडेपछि मात्र सर्वसाधारणले आइसियु सेवा पाउन सक्ने उनको भनाई छ । गत साउनमा एक महिला उपचार नपाएपछि बेनी पुगेर सुत्केरी भएकी थिइन् । यहाँ बच्चाको उपचार गर्ने सिसियुसमेत अभाव छ ।
सामाजिक विकास मन्त्रालयकै सहयोगमा एक बेड भेन्टिलेटर पनि जोडिएको छ । कोरोना संक्रमण र रोकथामस“ग मात्रै जोडिएकोले अन्य रोगका बिरामीमा प्रयोग गरिएको छैन । अधिकांस जटिल समस्याका बिरामी अझैपनि पोखरा गैरहेका छन् ।





