
बागलुङ, २१ असोज– गत भदौ १७ गतेको बाढीपहिरोमा परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिरोले क्षति भएको एक महिनापछि मंगलबार गृहले जिल्ला प्रशासनमार्फत राहत उपलव्ध गराएको हो ।
बाढीपहिरोमा परी मृत्यु भएका २२ र बेपत्ता १५ जनाको परिवारलाई मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङले राहत रकम प्रदान गरेको हो । एक जना मात्रै मृतक रहेको परिवारलाई २ लाख, एकभन्दा बढी मृतक वा बेपत्ता परिवारलाई प्रतिमृतक÷बेपत्ता पहिलो मृतक वा बेपत्ताको दुई लाखमा एक लाख थप गरेर ३ लाख उपलव्ध गराईएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
बाढीपहिरोले गाउँनै बगाएको एक महिनासम्म पनि राहत पु¥याउन नसकेको प्रशासनले गृह मन्त्रालयले नीतिगत अवरोध फुकाएपछि राहत वितरण गरेको हो । ‘मृतकको विषयमा कार्यविधिमा प्रष्टै छ, तर बेपत्ताको के गर्ने भनेर लेखी पठाएका थियौं’ न्यौपानेले भने ‘बेपत्ताका परिवारले आफन्त नि नपाउने राहत पनि नपाउने अवस्था आएपछि समय लागेको हो ।’ गृहले बेपत्ताको लागि समेत मृतक सरह राहत दिन बाटो खोलेपछि ढिलै भएपनि राहत पु¥याईएको उनले बताए । ३७ परिवारका लागि गृहले ५८ लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो ।
त्यस्तै, बाढीपहिरोका कारण घरबास गुमाएका २० घरपरिवारलाई तत्कालका लागि १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको न्यौपानेले बताए । ‘जसको घरबास सकियो, अन्य उपाय पनि छैन, उसलाई तत्कालका समस्या समाधानका लागि १५ हजार दियौं’ न्यौपानेले भने ‘निकै समस्या भएका परिवारले मात्रै यो रकम पाए, क्षति भएकालाई क्रमशः विधिसम्मत राहत उपलव्ध हुन्छ ।’
राहत रकम लिने सबैभन्दा धेरै बालबालिका छन् । बाढी पहिरोमा आफन्त गुमाएका २३ जना बालबालिकाले राहत पाएका छन् । उनीहरुको नेपाल बैंक बुर्तिबाङ शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ ।
‘वयस्कहरुलाई नगद नै दियौं, बालबालिकाको रकम दुरुपयोग नहोस भनेर बैंकमा राखिदियौं’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भने ‘बाल बचतमा रहेको उक्त रकम उनीहरुले वयस्क भएपछि प्रयोग गर्न सक्छन् ।’ बचतबाट आउने व्याज रकमले उनीहरुको शिक्षामा सहयोग पुग्ने उनले बताए । पहिरोमा एकभन्दा धेरै सदस्य गुमाएका ७ परिवार छन् । बाढीपहिरोले १ सय २७ घर बगाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बस्नै नमिल्ने गरी भत्केका सबैघरको सूची गृह मन्त्रालयमा पठाईएको छ ।



तस्विर सौजन्यः धिरेन्द्र पन्त/ जिल्ला प्रशासन कार्यालय, बागलुङ





