बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बढ्दो संक्रमणबाट जोगिऔं

बढ्दो संक्रमणबाट जोगिऔं


  • Dhorpatan News
  • असोज २२ २०७७, बिहिबार

एकैदिन ३४३९ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या २५ हजारबाट उकालो लागेको छ । अहिले देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ७०० सय पुगेको छ । यसअघि सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा उकालो लागे फेरि लकडाउन गर्नुपर्ने विज्ञ टोलीले सुझाव दिएको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई इन्सिडेण्ट कमाण्ड सेण्टरले दिएको सुझावमा संक्रमित बढेमा देशको स्वास्थ्य पूर्वाधारले नधान्ने जनाइएको थियो । संक्रमितको संख्या बढेसँगै देशमा पुनः लकडाउन हुने त हैन भन्ने आशंका उत्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म के गर्ने भन्नेबारे निर्णय गरेको छैन तर सरकारले दशैं मनाउन राजधानी नआउन र राजधानी बाहिर नजान गरेको आग्रह बढ्दो संक्रमणबाटै निर्देशित रहेको बुझ्न गाह्रो छैन ।
दशैं–तिहार–छठजस्ता पर्वहरु नजिकिएका छन् । बजारमा चहलपहल बढ्दो छ । सार्वजनिक यातायातको संचालनसँगै बढेको आवतजावतले संक्रमणको जोखिम बढाएको छ । संक्रमण बढ्दै जाँदा देशमा भएका स्वास्थ्य संरचनाहरुले नधान्ने अवस्था आएको छ । संघीय राजधानी काठमाडौंमा अहिले नै भेण्टिलेटर नपाउने अवस्था छ । घना बस्ती भएको क्षेत्रमा संक्रमण समुदायमा फैलिएको तथ्यलाई हेर्दा स्थिति जे पनि हुनसक्ने देखिनु अस्वभाविक हैन । लकडाउनले पारेको आर्थिक र सामाजिक प्रभावको मूल्याङ्कन गर्ने काम स्वास्थ्य क्षेत्रका विज्ञहरुको हैन । उनीहरुले त संक्रमण बढेमा हुनसक्ने स्वास्थ्य खतरा मात्रै औंल्याउने हो । स्वास्थ्य क्षेत्रका विज्ञहरुले औंल्याएको खतरालाई अन्य कारण देखाएर नजरअन्दाज गर्न मिल्दैन । हो, लकडाउनले अर्थतन्त्र तहसनहस बनाएको छ । मानिसलाई रोगको हैन भोकको कारण मरिने चिन्ता छ । कतिपय ठाउँमा भोकले मान्छेको ज्यान लिइसकेको छ । जनतालाई भोकै पार्ने कि मरेमर भनेर छाड्ने भन्ने दोधारमा सरकार पनि रहेकै छ । आम नागरिकले सरकारको यो बाध्यता बुझ्नु जरुरी छ ।
महामारी फैलिए नेपालजस्तो देशको सामथ्र्यले त्यसको रोकथाम सम्भव छैन । यस्तो विषम परिस्थितिमा नागरिकले आफै सुरक्षित हुने उपाय खोज्नुको विकल्प छैन । चाडबाड मान्नुपर्छ तर विषमतालाई मनन गर्नुपर्छ । बजारमा निस्कनुपर्छ तर आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने तथ्य भुल्नु हुँदैन । सरकारले संक्रमित बढ्दैमा तत्काल देशैभर लकडाउन गर्ने मुडमा सरकार देखिँदैन। तर, लकडाउन नै नभने पनि विभिन्न पालिकाहरुले आफ्नै तवरले लगाउँदै आएको निषेधाज्ञा वा देशका केही भागहरु बन्द हुने सम्भावनालाई भने नजरअन्दाज गर्न मिल्दैन ।विषमताको क्षणमा नागरिकको आफ्नैखाले दायित्व हुन्छ । अत ः सामाजिक दूरी कायम गर्दै सुरक्षित रहनेतर्फ सबैले ध्यान दिनुपर्छ । यसो भनिरहँदा स्वास्थ्यमा थप पूर्वाधारको व्यवस्थासहित नागरिकलाई सुरक्षित राख्नको लागि सरकारको प्रयत्न पनि उत्तिकै भरपर्दो हुनुपर्छ । यो वा त्यो बहानामा आफ्नो दायित्वबाट उम्कने छुट सरकारसँग छँदैछैन । समग्रमा संक्रमण बढ्दै गर्दा थप सचेतता र संयमताको आवश्यकता भएको नागरिकहरुले भुल्नुहुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->