बागलुङ, २२ असोज– बागलुङका सबै स्थानीय तहमा क्वारेन्टिन र आईसोलेशन थप गर्ने निर्णय भएको छ । जिल्ला संकट ब्यवस्थापन समितिको बुधबार बसेको बैठकले जिल्लाका सबै स्थानिय तहमा ३० बेड क्षमताको क्वारेन्टाईन र १० बेडको आईसोलेशन बनाउने निर्णय भएको हो । त्यसैगरी, नेपाली सेनाको २३ नम्वर बाहिनी सेराडिल व्यारेकले ८० बेड क्षमताको आईसोलेशन बनाउने गरि निर्णय भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या थपिदै गएको अवस्थामा क्वारेन्टाईन र आईसोलेशनको अभाव हुन नदिन यस्तो निर्णय गरिएको नगर प्रमुख पौडेलले बताए । उनका अनुसार, संक्रमितलाई उपयुक्त पोषणयुक्त खाने कुरासमेत ब्यवस्था गरिने भएको छ ।
समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले नजिकिदै गरेका चाडपर्वको अवसरमा कोभिड १९ का कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई सचेत रहनसमेत आग्रह गरेको छ ।





