बागलुङ, २३ असोज– कोरोना संक्रमण फैलिन सक्ने भन्दै पर्वका समयमा यहाँको एक वडाले सरकारले तोकेको स्वास्थ्य मापदण्डमा थप कडाई थालेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानले दशैं, तिहार, छठजस्ता पर्व मनाउन वडा बाहिरबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टाईन बस्नुपर्ने व्यवस्था गरेको हो ।
वडामा पाहुनाको रुपमा आउने वा लामो समय जिल्ला बाहिर रहेका जो–कोही आउँदा पनि क्वारेन्टाईन अवधि पुरा गर्नुपर्ने व्यवस्था गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । वडाबासीले दशैं तिहारजस्ता पर्वका समयमा आवतजावत धेरै हुँदा संक्रमण फैलिने त्रास हुने भन्दै गुनासो गर्न थालेपछि अनिवार्य क्वारेन्टाईन बस्ने र स्वास्थ्य मापदण्ड अक्षरश कार्यान्वयन गर्ने निर्णय भएको उनले बताए ।
वडास्तरको दैवी प्रकोप व्यवस्थापन समिति, टोल सुधार समिति, राजनैतिक दल, जनप्रतिनिधि र सरोकारवाला राखेर वडा कार्यालयले चलाएको छलफलमा सहमति भएपछि नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ अपनाउन अनुरोध वडा सदस्य नारायण श्रेष्ठले बताए ।
बाहिरबाट आउनेले कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, लक्षण देखिएमा पिसिआर परिक्षण गर्नुपर्ने, भारत वा तेस्रो मुलुकबाट आउनेले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको प्रमाण वडामा अनिवार्य पेश गर्नुपर्ने, होम क्वारेन्टिमा बस्दा सरकारले तोके अनुसारको हावा खेल्ने छुट्टै कोठा, शौचालय, स्नानघर छुट्टै प्रयोग गरि अनुशासित भएर बस्नुपर्ने, होम क्वारेन्टिनमा बस्ने व्यक्ति स्वाथ्यकर्मीको सम्पर्कमा आउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका नियम वडाले बनाएको छ ।
‘नयाँ कोही आउँदा आँफैले नियम पालना गर्न लगाउनु र नभए वडा कार्यालयमा सम्पर्क गर्नु भनेका छौं’ वडा अध्यक्ष खत्रीले भने ‘हाम्रो समुदायमा संक्रमण जोगाउनु हामी सबैको दायित्व हो ।’





