बागलुङ, २३ असोज– बागलुङमा एक सातामा कोरोना संक्रमणको दर बढेको छ । सार्वजनिक यातायात खुला भएपछि संक्रमणको दर बढेको हो । असोज पहिलो साता अधिकांश आइसोलेसन खाली भएका थिए । तर सार्वजनिक यातायातमा भारतसहित तराईका जिल्लाबाट फर्कनेको लर्को लागेपछि संक्रमण बढेको हो ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार, जिल्लामा सक्रिय संक्रमितको संख्या बिहिबार १ सय १५ जना पुगेको हो । अहिलेसम्म जिल्लामा ४ सय ७७ जना संक्रमित पुगेका छन् । सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा छन् । बागलुङ नगरपालिकामा ५२ जना सक्रिय संक्रमित छन् ।
अहिलेसम्म बागलुङमा ७४ जना निको भएर घर फर्केका छन् । गलकोट नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३० पुगेको छ । बिहिबार मात्रै १२ जना संक्रमित थपिएका छन् । गलकोटमा ४९ जना निको भएर फर्केका छन् ।
काठेखोला गाउँपालिकामा अझै ११ जना सक्रिय संक्रमित छन् । जहाँका ५२ जना निको भएर घर फर्केका छन् । ताराखोला र निसीखोलमा अहिले सक्रिय संक्रमित शुन्य छ । ताराखोलामा १२ जना र निसीखोलामा १५ जना निको भैसकेका हुन् ।
यस्तै, निसीखोलाका एकको मृत्यु भएको थियो । बडिगाडमा ४२ जना निको भएका छन् भने २ जना सक्रिय संक्रमित छन् । बरेङमा ३० जना निको भएका छन् । ६ जना अझै सक्रिय संक्रमित छन् । जैमिनी नगरपालिकामा ११ जना निको भएको र ९ जना सक्रिय संक्रमित बाँकी रहेको गुरौले जानकारी दिए । विभिन्न स्थानबाट आएका १७ जना संक्रमित पनि निको भैसकेका छन् ।
पछिल्लो साता बागलुङमा कार्यरत सेनामा संक्रमण बढेको छ । उपल्लाचौरस्थित व्यारेकमा बुधवार मात्रै २७ जना संक्रमित भेटिएका थिए । प्रहरीमा पनि संक्रमित भेटिएकोले दैनिक प्रशासनिक काममा निस्कनेहरु बढी सशंकित भएका छन् । उनको सम्पर्कमा रहेकाहरुबाट अन्यमा संक्रमण बढ्न सक्ने चिन्तासमेत बढेको छ ।





