बागलुङ, २३ असोज– शुक्रबारदेखि बागलुङमा जेसीज सप्ताह–२०२० सुरु भएको छ । शुक्रबार धौलागिरी अस्पताल बागलुङमा औपचारिक कार्यक्रमको आयोजना गरी सप्ताह सुरु गरिएको हो ।
सप्ताहको पहिलो दिन जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । रक्त सञ्चार केन्द्रमा गरिएको कार्यक्रममार्फत २१ युनिट रगत संकलन भएको जसीज बागलुङका महासचिव आनन्द प्रसाद रेग्मीले बताए । रगत अभावका कारण बिरामी मर्नु नपरोस् भनेर युवा साथीहरुले दान गर्नुभएको रेग्मीको भनाई छ ।
उद्घाटन कार्यक्रममा बोल्दै धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले रक्तदान जस्तो कार्यक्रम गरेर जेसीजले सामाजिक कार्यमा सहयोग पु¥याएको बताए ।
जेसीज बागलुङका अध्यक्ष सुरेन्द्र श्रेष्ठको. अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष एञ्जील शाक्य र सञ्चालन महासचिव रेग्मीले गरेका थिए । जेसीजले शनिबार मालढुंगामा रहेको बोर्ड व्यवस्थापनको काम गर्नेछ । एक साता चल्ने कार्यक्रमको लागि जेसीजमा आवद्ध युवाहरुलाई परिचालन गरिएको छ ।





