बागलुङ, २४ असोज– ३५ वर्षअघि बनाईएको भवनका साँघुरा कोठा । स–साना खाट, एउटै खाटमा तीनजनासम्म सुत्नुपर्छ । चिसो समयमा त ठिकै होला, गर्मीमा उकुसमुकुस भएरै सुत्छन् जिल्ला कारागार बागलुङका कैदीबन्दी ।
यो कारागारको क्षमता ५० जना कैदीबन्दी राख्न सक्ने हो । ३५ पुरुष र १५ जना महिलाका लागि २०४२ सालमा निर्माण भएको कच्चि भवनमा अहिले १ सय १६ जना पुरुष कैदीबन्दी छन्भने १५ जना महिला कैदीबन्दीले आफ्नो सजाय भुक्तानी गर्दैछन् । आमासँगै कारागार पुगेका एक जना बालक र एक बालिका पनि करागारमा छन् ।
क्षमताभन्दा झण्डै तीन गुना बढी कैदीबन्दी रहेको कारागारको पुरुष बन्दीगृहमा बस्ने कैदीबन्दीहरु एउटै खाटमा तीन जनासम्म सुत्छन् । ‘अरु त दोष लगाउने केही छैन् तर एउटै खाटमा तीन जना सुत्नुपर्छ’ कैदीबन्दी महेन्द्र घर्ति मगरले भने ‘अटसमटस कसरी सुत्नु, खाटमात्रै ल्याएर पनि राख्ने ठाउँ छैन् ।’ उनीहरुले भवनको व्यवस्था गरेर बसाई सहज गराउनुपर्ने माग कारागार पुग्ने सबै सरोकारवालासँग राख्ने गरेका छन् ।
ढुंगा–माटोले बनेको कच्चि भवन वर्षाको समयमा भत्किन्छ कि भन्ने त्रास । हिउँदमा चिसोले आँतै समात्ला जस्तो ! समयमा भवनको व्यवस्थापन गर्न नसक्दा समस्या भएको उनीहरु बताउँछन् । महिला बन्दीगृहमा भने त्यति धेरै समस्या छैन् । तर पछिल्लो पटक पर्वत कारागारको महिला बन्दीगृह भत्केपछि त्यहाँका ६ जना कैदीबन्दीसमेत बागलुङ पठाईएको छ ।
केही समय यता अदालतको फैसला कार्यान्वयनका लागि प्रतिवादी धमाधम पक्राउ परिरहेका छन् । हरेक दिन प्रहरीले कारागार पठाउने कैदीबन्दीका लागि ठाउँभने छैन् ।
महिला कैदीबन्दीका लागि भनेर ४० जना क्षमताको नयाँ भवन बनेको छ । भवनको भने सकिएको छैन् । त्यहि भवनमा समेत म्याट ओछ्याएर रात काट्छन कैदीबन्दी । ‘भवनको काम सकियो र पर्वतमा भवन बनेर त्यहाँका कैदीबन्दी फिर्ता बठाउन सकियो भने सहज हुन्छ’ जेलर मोहन प्रसाद उपाध्यायले भने ‘बजेट आयो भने नयाँ भवनको काम टुंगिँदा धेरै सहज हुन्छ ।’ विकल्प केही नभएकाले कोचाकोच कैदीबन्दी राख्नु परेको उनले बताए ।
कोरोनाको त्रास बाहिरजस्तै कारागारमा पनि छ । ठुलो संख्यामा रहेका कैदीबन्दी बिरामी भएर अस्पताल पुगेर फर्किँदा हो्स वा अदालती प्रक्रियाका लागि पुगेर फर्किँदा संक्रमण भित्रिने सम्भावना धेरै छ । ‘मास्क, सेनिटाईजर त पाईएको छ तर सामाजिक दुरी कसरी राख्नु’ अर्का कैदीबन्दी इन्द्र पुनले भने ‘बस्नसमेत तीन जना नअट्ने खाटमा सुत्नुपरेको छ ।’ सुत्नकै लागि चाहिने खाट कैदीबन्दी आँफैले पनि बनाउन सक्थे तर साँघुरा कोठाहरुका कारण राख्ने ठाउँ छैन् ।
‘अब समस्या लामो समय नरहला’ जेलर उपाध्याय भन्छन् ‘हामीले सबै हिसाबले पहल गरेका छौं ।’ जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार प्रतिवादी बागलुङमा चार सय ८० जना छन् । शुक्रबारसम्म प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ । कैद भुक्तान गर्नुपर्ने प्रतिवादी पक्राउको अभियान चलिरहेकाले बाँकी ३ सय ९७ प्रतिवादी पक्राउ पर्दा कारागारमा खुट्टा राख्ने ठाउँसमेत नरहने कैदीबन्दीहरु बताउँछन् ।
जरिवाना मात्रै तिर्नुपर्ने फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेर अदालत पेश गर्नुपर्ने र अदालतको निर्णय नआउँदासम्म कारागार पठाउनुपर्ने व्यवस्था छ । जरिवाना तिर्नुपर्ने छोटो समयका लागि मात्रै कारागार पुग्ने कैदीबन्दीका कारण कोरोनाको जोखिम थप बढेको सरोकारवाला बताउँछन् ।
तस्विरः किरण आचार्य





