सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बाढीले बगाएको विद्यालयलाई जग्गा

बाढीले बगाएको विद्यालयलाई जग्गा

अभियानबाट संकलन भएको ३० लाख रकमबाट ३ रोपनी जग्गा खरिद गरि विद्यालयको नाममा रजिष्ट्रेशन पास गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७७, आइतबार

बागलुङ, २५ असोज– बाढीपहिरोले बगाएको विद्यालय निर्माणका लागि स्थानीयको सक्रियतामा चन्दा संकलन गरेर तीन रोपनी जग्गा खरिद गरिएको छ । गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङहुँदै बग्ने भुजिखोलामा आएको बाढीले बगाएको जनचेतना प्राथमिक विद्यालयको लागि जग्गा खरिद गरिएको हो ।
बोबाङको सुप्राङस्थित विद्यालयका लागि नयाँ भवन निर्माण गर्न सुरक्षित स्थानमा जग्गा खरिद गरिएको अभियान्ता शेरमान घर्तिले बताउनुभयो । बाढीले विद्यालयको भवन र जग्गा सबै बगाएको थियो । स्थानीयका बालबालिकालाई पठनपाठनमा समस्या देखिएपछि, १८ जना अभियान्ताहरुले स्वदेश तथा विदेशमा सहयोगका लागि आह्वान गरेका थिए ।
‘विद्यालय भवन निर्माणका लागि जग्गाको आवश्यकता पर्छ, भवनका लागि त तीन तहका सरकार छन् सघाउलान्’ घर्तिले भने ‘निजी आवास बनिसक्दा विद्यालय पनि तयार हुनु आवश्यक छ ।’ अभियानबाट संकलन भएको ३० लाख रकमबाट ३ रोपनी जग्गा खरिद गरि विद्यालयको नाममा रजिष्ट्रेशन पास गरिएको अर्का अभियान्ता जीवन भट्टचनले बताए । विदेशमा रहेका ढोरपाटनबासीले बढी सहयोग गरेका छन् । सिंगापुरमा त्यहाँको प्रहरीमा काम गर्नेले मात्रै पाँच लाख रुपैयाँ पठाएका थिए । ढोरपाटन नगरपालिका, वडा कार्यालय र स्थानीय राजनैतिक दलसँग समन्वय गरेर बालबालिकालाई पढ्न पायक पर्ने स्थानमा जग्गा खरिद गरिएको घर्तिले बताउनुभयो ।
बाढीले बोबाङमा धेरै जनधनको क्षति पुर्याएको छ । भौतिक संरचना अस्तव्यस्त पारेको छ । जग्गा खरिदका लागि रकम संकलन गर्ने स्थानीय अभियान्ताहरुले विद्यालयको लागि खरिद गरिएको जग्गाको लालपुर्जा विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तिलाई हस्तान्तरण गरिएको छ ।
बाढिपहिरो प्रभावित क्षेत्रमा भएको क्षति र त्यसको पुननिर्माणका लागि अभियान्ताहरुले स्वदेश तथा विदेशमा गरि ६४ लाख ७६ हजार ४ सय ७ रुपैयाँ संकलन गरेको जनाएका छन् । सो रकम सरस्वती प्राथमिक विद्यालयको जग्गा खरिदमा ३० लाख, जग्गा खरिदमा लागेको कर १ लाख ५० हजार, विद्यार्थीलाई कापीकलम खरिदमा १० हजार, विद्यालयको अक्षयकोष निर्माणमा ३ लाख ६ हजार ८ खर्च गरेका छन् । बाँकी रकम लघुजलविद्युत आयोजनाको मर्मत र प्रभावित परिवारको लागि खर्च गरिने शेरचनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->